काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बोनेश्वर क्षेत्रमा हिजो भएको शिक्षकहरूको प्रदर्शनका क्रममा प्रहरी दमका कारण घाइते भएका शिक्षकहरूको उपचार सरकारले निःशुल्क गर्नुपर्छ भन्ने माग गरेको छ । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डिपि) अर्यालले शिक्षक आन्दोलनमा घाइते भएकाहरूको उपचारको प्रवन्ध सरकारले गर्नुपर्ने माग वैशाख १५ गते गर्नु भएको हो ।
नेता अर्यालले विभिन्न पेसागत कर्मचारीहरू आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको भन्दै सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको दावी गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘विभिन्न माग राखेर विभिन्न पक्षले सडकमा आन्दोलन गरिराखेका छन् । सरकार त्यो आन्दोलन देख्दैन । सरकार दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको छ । हिजो जति जना पनि शिक्षकहरू घाइते हुनुभएको छ । उहाँहरूलाई शिघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको लागि सरकारसँग माग गर्दछौं ।’
अर्को एक फरक प्रसंगमा सांसद अर्यालले अगामी आर्थिक वर्षको बजेट बुढीगण्डकी जलविद्युत आयोजनालाई सम्बोधन हुनेगरी आउनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा रोजगारी वृद्धि गर्नको लागि तीन सिफ्टमा काम गर्ने व्यवस्थासहितको बजेट आउनुपर्ने उल्लेख गर्नु भयो ।
शिक्षक आन्दोलनबारे प्रतिपक्षी दलहरू एम मत : जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव :
यसैबीच, नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेकोबारे प्रतिपक्षी दलहरूले संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक र समर्थकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका सांसद प्रभु शाह, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले ऐक्यवद्धताका साथ सो प्रस्ताव पेश गर्नु भएको हो ।
शिक्षक तथा चिकित्सकहरूको आवाजलाई पनि सरकारले बेवास्ता गर्दै आइरहेको भन्दै उनीहरूले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव गरेका हुन् । विगतमा सरकार र महासंघबीच भएका सहमति कार्यान्वयन माग गर्दै २७ दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा रहेकोमा ध्यानाकर्षण भएको समेत सो प्रस्तावमा उल्लेख छ ।
शिक्षक आन्दोलनप्रति सरकार गम्भीर नदेखिएको प्रतिपक्षी दलहरूको भनाइ छ ।
घाइते अवस्थामा शिक्षकहरू सडक आन्दोलनमा :
विगत २७ दिनदेखि सडक आन्दोलनमा रहेका देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू उत्रिएका छन् । आन्दोलनको क्रममा २६ औँ दिनमा हिजो प्रहरीसँग झडप हुँदा घाइते भएकाहरू समेत आजको प्रदर्शनमा सभागी भएका थिए । हिजोको झडपका क्रममा ६२ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएको महासङ्घको दावी छ । तीमध्ये एक दर्जन बढी शिक्षक तथा विद्यालय कर्मचारीलाई गम्भीर चोट लागेको छ । प्रहरीसँगको झडपपछि घाइते भएका शिक्षकहरू उपचारपछि पनि आज सडक आन्दोलनमा उत्रिएका छन् । सामान्य घाइते भएका शिक्षकहरू मलमपट्टी लगाएर भए पनि सडक आन्दोलनमा उत्रिएका हुन् ।
प्रहरीसँगको झडपपछि महासङ्घले आन्दोलन थप चर्काउने निर्णय गरेको थियो । घरमा रहेका शिक्षकहरूलाई समेत तत्काल काठमाडौँ आउन अनुरोध गरेको थियो । सोही आधारमा विभिन्न क्षेत्रबाट शिक्षकहरू काठमाडौँको आन्दोलनमा थपिए भने शिक्षकहरूको राजधानी आउने क्रम बढेको छ ।
अन्तिम लडाइँमा रहेको बताउँदै यसका लागि सबैको सक्रिय सहभागिता अनिवार्य रहेको महासङ्घले जनाएको छ । महासङ्घले शिक्षक–कर्मचारीमाथि प्रहरीले गरेको आक्रमण र ज्यादतीको भत्र्सना गरेको छ । प्रहरी दमनपछि काठमाडौँ आउन बाँकी रहेका शिक्षकहरूलाई आन्दोलनको मोर्चामा आफ्ना साथीहरूको रगत बगिसक्दा पनि अझै घरमै बसिरहेको भन्दै महासङ्घले काठमाडौँ आउन आह्वान गरेको हो ।
उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा मागसहित नेपाल शिक्षक महासङ्घको आह्वानमा १० औँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँमा सडक आन्दोलन गर्दै आएका छन् ।
प्रकाशित मिति २०८२ बैशाख १५, सोमबार १६:३४ गते