राइनासटार सिंचाईमा भट्ट विजयी

राइनासटार सिंचाईमा भट्ट विजयी

प्रमोद अधिकारी

@antaranganews

२०८२ बैशाख १६ गते मङ्गलबार ०७:०२

राइनास नगरपालिका– १ देखि वडानं– ७ सम्मका बासिन्दाहरूको भाग्य र भविष्यसँग जोडिएको सो आयोजना देशकै नै दोस्रो ठूलो सिंचाई आयोजना हो ।

सो निर्वाचनमा झण्डै ९७ प्रतिशत मत खसेको थियो भने साढे पाँच प्रतिशत मत बदर भएको छ ।

तीनपिप्ले(लमजुङ)– पूर्वी क्षेत्रमा रहेको राइनासटार सिंचाई आयोजनाको अध्यक्ष पदमा रामचन्द्र भट्ट विजयी हुनु भएको छ । राइनास नगरपालिका– ५ को यहाँ गरिएको निर्वाचनमा बैशाख १६ गते उहाँ निर्वाचित हुनुभएको हो ।
भट्ट संघीय सरकारमा नेतृत्व गरिरहेको दल नेकपा एमालेको तर्फबाट उमेदबार बन्नुभएको हो । उहाँले १३४ मत पाई विजयी हुनु भएको हो । उक्त निर्वाचनमा नेपाली काँग्रेसका नुरराज कडरियाले ७९ मत प्राप्त गर्नुभएको छ । सोही पदका अर्का प्रत्यासी नेकपा माओवादी केन्द्रका माधवप्रसाद पराजुलीले मात्र ४ मत प्राप्त गर्नु भएको निर्वाचन समितिका संयोजक विजय गुरुङले बताउनु भयो ।
उहाँका अनुसार उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी निर्मला चिलुवाले १०९ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने सो पदका अर्का प्रत्यासी नेकपा मओवादी केन्द्रकी कृष्णमाया न्यौपानेले ९० मत प्राप्त गर्नुभएको थियो ।
सचिवमा नेकपा माओवादी केन्द्रका टिकाराम त्रिपाठी निर्विरोध चयन हुनभएको छ । कोषाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी निर्मला न्यौपानेले ८७ मत प्राप्त गरि निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक विजय गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सो पदका अर्का प्रत्यासी नेपाली काँग्रेसका सन्दिप पाण्डेले ६९ तथा स्वतन्त्र उम्मेदवार एकनारायण श्रेष्ठले ३६ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका ओजराज कट्टेलले ६ मत पाउनु भएको छ ।
सो निर्वाचनमा कूल वैध मतदाता संख्या २४० रहेको थियो भने २३२ जनाले मतदान प्रक्रियामा सहभागी भई ९६.६६ प्रतिशत मत खसेको थियो । तीमध्ये १३ मत बदर भएको थियो ।
राइनास नगरपालिका– १ देखि वडानं– ७ सम्मका बासिन्दाहरूको भाग्य र भविष्यसँग जोडिएको सो आयोजना देशकै नै उच्च पहाडी भेकको दोस्रो ठूलो सिंचाई आयोजना हो ।
वि.सं. २०५२ बाट सञ्चालनमा आएको यस सिंचाइ आयोजनाले एक हजार एक सय हेक्टर जमिनमा सिंचाई सेवा उपलब्ध गराएको छ । सो आयोजनाको कूल लम्वाई २१ किलोमिटर रहेको छ ।
उच्च पहाडी भूभागमा अवस्थित यो सिंचाई आयोजनाले १३ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुँदै आएका छन ।

प्रकाशित मिति २०८२ बैशाख १६, मंगलवार १९:०२ गते
हजुरको प्रतिक्रिया