पोखरा– यहाँ आयोजना गरिएको गण्डकी कोटिहोम महायज्ञको पहिलो दिन एघार हजार कलशसहितको भव्य शोभा यात्रा सम्पन्न भएको छ । मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञको पहिलो दिन आज बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा बैशाख १६ गते सम्पन्न भएको हो ।
सो महायज्ञ पोखरा महानगरपालिका– १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा सञ्चालिन भइरहेको छ । कोटिहोम परिसरबाट सुरु भएको यो यात्राद्वारा पोखराका बिभिन्न मुख्य टोल तथा सडक हुँदै शहर परिक्रमा गरिएको थियो ।
देशभरबाट आएका भक्तजन, साधु– सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका तथा जनप्रतिनिधिहरूको गंगाको जलसहितका ११ हजार कलश बोकेर उत्साहपूर्ण सहभागिताले पोखराको वातावरण भक्तिमय बनेको थियो । कलश यात्रामा चर्चित कथा बाचिका देवी प्रतिभा, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी सहित मुख्य वाचन तथा कर्ताहरूको सहभागिता रहेको थियो ।
कलश यात्रा कार्यक्रम संयोजक दुर्गा केसीले यात्रामा जिल्ला बाहिरबाट समेत उल्लासमय सहभागिता रहेको बताउँदै सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘हामीले अपेक्षा गरेभन्दा बढी सहभागिता भयो, जसले महायज्ञको महत्त्व र उत्साहलाई झल्काएको छ ।’
महायज्ञ भोलि वैशाख १७ देखि जेठ २६ गतेसम्म चल्ने कार्यक्रम छ । जसमा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथालगायतका प्रवचन, हवन, भजन, झाँकी, देवलीला र नृत्य प्रस्तुतिहरू हुने महायग मूल आयोजक समितिका सह–निर्देशक युवक लामिछानेले बताएका छन् ।
राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवद्र्धन तथा असहाय बालबालिका र ज्येष्ठ नागरिक संरक्षणका लागि आयोजित यो महायज्ञमा सामाजिक सञ्जालमार्फत प्रचार गर्नेहरूलाई २५ हजारसम्मको पुरस्कार र सम्मानपत्र प्रदान गरिने महायज्ञ मुल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले बताउनु भयो । उहाँका अनुसार महायज्ञले पोखराको धार्मिक र सांस्कृतिक पहिचानलाई उजागर गर्दै सामाजिक एकता र आध्यात्मिक जागरणको सन्देश प्रवाह गरेको छ ।
यात्रामा समूह, भेषभूषा, अनुशासन र ब्यानरसहित सहभागी हुने समूहलाई पुरस्कारको व्यवस्था गरिएको थियो । आयोजकका अनुसार, महायज्ञ समापनपछि प्रतिकलश एक हजार तीन सयमा र दुई कलश दुई हजार पाँच सयमा घर लैजान सकिने व्यवस्था गरिएको छ ।
महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले यो यात्राले पोखरालाई धार्मिक गन्तव्यको रूपमा थप स्थापित गरेको बताए । ‘यो शोभा कलश यात्रा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश बोकेर सम्पन्न भएको छ ।’
प्रकाशित मिति २०८२ बैशाख १६, मंगलवार २०:२९ गते