पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ समर्पण

पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ समर्पण

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख २१ गते आईतबार ०१:२४

इञ्जिनियर शंकर गिरीको प्रवल इच्छा बमोजिम वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको सदस्यसचिव नरेन्द्रराज प्रसाईले उल्लेख गर्नुभयो ।

‘वानीरा प्रज्ञा पुरस्कार’ र ‘वानीरा पुरस्कार’ दुवै पुरस्कारको राशि जनही एक एक लाख रुपैयाँ रहेको छ ।

काठमाडौं– वानीरा फाउन्डेसनद्वारा ‘वानीरा प्रज्ञा पुरस्कार’ र ‘वानीरा पुरस्कार’ समर्पण गरिएको हो । फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले यहाँ स्थित वानीरा सभागृहमा एक समारोहमाझ ती पुस्कार समर्पण गर्नु भएको हो ।
प्राध्यापक रामकुमार पाँडेलाई २०८१ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गरिएक हो । पाँडे ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशकअघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्चशिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित’ व्यक्तित्व हुनुहुन्छ ।
यसैगरी, समारोहमा शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ श्रीमती प्रसाईले समर्पण गर्नुभयो । शशि शाह ‘चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएबापत’ सो पुरस्कार समर्पण गरिएको हो ।
ती दुवै पुरस्कारको राशि जनही एक एक लाख रुपैयाँ रहेको वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार सोही समारोहमा श्रीमती इन्दिरा प्रसाईले ‘कविता सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको संवर्धनमा सदैव समर्पित रही उल्लेख्य योगदान दिएबापत’ कविवर कृष्ण बाउसेलाई पचास हजार रुपैयाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्नुभयो ।
समारेहमा पुरस्कृत व्यक्तित्वहरुबाट डा. वानीरा गिरिकृत कवितासङ्ग्रह ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’को नयाँ संस्करणको लोकार्पण गरिएको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भयो । उहाँका अनुसार यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा. गिरीको पूर्ण कदको सालिकमा वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईबाट माल्यार्पण गरिएको थियो ।
इञ्जिनियर शंकर गिरीको प्रवल इच्छा बमोजिम वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको सदस्यसचिव नरेन्द्रराज प्रसाईले उल्लेख गर्नुभयो ।
वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरू प्रा.रामकुमार पाँडे, शशि शाह, कृष्ण बाउसे तथा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरि, कार्यक्रम संयोजक भगवती बस्नेत तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट वानीरा गिरिको व्यक्तित्व एवम् कीर्तित्वमा प्रकाश पार्नु हुँदै आ–आफ्ना धारणा सहित मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ बैशाख २१, आईतवार १३:२४ गते
हजुरको प्रतिक्रिया