धर्मनाथ धाममा जारी सप्ताहव्यापी ज्ञान महायज्ञको समापन भोलि

धर्मनाथ धाममा जारी सप्ताहव्यापी ज्ञान महायज्ञको समापन भोलि

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख २२ गते सोमबार ०८:३७

पाँचौं दिन एकै दम्पत्तीद्वारा तीन लाख रुपैयाँसम्म दान, पाँच हजार रुपैया र सो भन्दा माथिको रकम दान गर्नेहरू सबैलाई सम्मान क्रम जारी रहेको छ ।

बैशाख १७ गतेदेखि विधिवत् सुरू गरिएको उक्त धार्मिक अनुष्ठानमा हरेक दिन भक्तजनहरूको घुइचो लगेको छ ।  

पाउँदी(लमजुङ)– लमजुङको राइनास नगरपालिका– ८ हर्राबोटस्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा जारी सप्ताहव्यापी ज्ञान महायज्ञ जारी रहेको छ । सो ज्ञान महायज्ञको भोलि बैशाख २३ गते समापन हुने कार्यक्रम रहेको छ ।
प्राण प्रतिष्ठाको आज छौटौं दिन विश्व हिन्दु महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीबाट प्रवचनका साथै शुभकामना मन्तब्य व्यक्त भयो । साथमा केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रवीण घिमिरे लगायत केन्द्रका अन्य पदाधिकारी र जिल्ला समिति लमजुङ पदाधिकारीहरूको सहभागिता रह्यो । विश्व हिन्दु महासंघको जिल्ला समिति लमजुङले आर्थिक सहयोग समेत गरी सम्मानित भएको छ ।
नियमित कार्यक्रममा इयमित गुरु गोबिन्द रेग्मीको संगीतमय भजन, प्रवचन नित्य पुजा भयो ।
आज १०८ धारा, १०८ शिव लिङ्ग, शिव मुर्तिमा दान तथा अक्षय कोषदाताहरू धेरैलाई सम्मान पत्र बितरण गरिएको प्रचारप्रसार उपसंयोजक एवम् कवि लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो ।
बैशाख १७ गतेदेखि विधिवत् सुरू गरिएको उक्त धार्मिक अनुष्ठानमा हरेक दिन भक्तजनहरूको घुइचो लगेको छ ।
अनुष्ठानको पाँचौं दिन बैशाख २१ गते एकै दम्पतीद्वारा तीन लाख रुपैयाँ प्रदान गर्नु हुने दम्पतीलाई सम्मानको विशेष कार्यक्रम भएको थियो । धर्मनाथ धाममा एकै ढुंगाबाट हनुमानको मूर्ति बनाई स्थापना गर्नु हुने भरतपुर नगरपालिका– ३, बेलचोक निवासी धु्रवकुमार प्रधान प्रधान र रामप्यारी प्रधान दम्पती सहित प्रधान परिवारलाई सम्मान गरियो । यसैगरी, गणेशको मुर्ति सुन्दरबजार निवासी हाल अमेरिका बस्नुहुने बिजेन्द्र थिंक र निक्कि मल्ल थिंक दम्पतीद्वारा सपरिवारबाट सो दान समर्पण गर्नु भएको थियो । निक्कि मल्ल पिता माता उदय बहादुर मल्ल र सकुन्तला मल्ललाई प्रदान गरिएको हो ।
सर्बोदय सेवाश्रममा खानेपानी मुल प्रदान गर्नु हुने राइनास नगरपालिका– ८ माझीगाउँ निवासी रामचन्द्र लामिछाने, ज्ञानु लामिछाने दम्पतीलाई सम्मान गरिएको सो धामका अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिनु भएको छ । उहाँका अनुसार धाममा स्थापित गणेश मूर्ति स्थापनार्थ एक लाख रुपैया सहयोग गर्नु हुने वीरेन्द्र थिङ दम्पती तथा उदयबहादुर मल्ललाई पनि सम्मान गरिएको छ ।
ओलियाले दिनु भएको जानकारी अनुसार भरतपुर नगरपालिका– ३, बेलचोक निवासी धु्रवकुमार प्रधान दम्पतीले सो स्थलमा फेरि एक चौतारा समेत निर्माण गर्नका लागि शिलान्यास समेत सो दिनमा गरिएको छ । ऐलेसम्म आश्रम स्थलमा ९ चौतारा निर्माण भइसकेको छन् भने यो थप हुने भयो ओलियाले जानकारी दिनुभयो ।
ओलियाले भन्नुभयो, ‘१०८ शिवलिंग, १०८ गोमुखी धारा, शिवजीको मूर्तिका लागि सहयोग गर्नु हुने विभिन्न दाताहरूलाई सम्मान गर्ने तयारी हो र सो क्रम भोलिसम्म चलिरहन्छ ।’ उहाँले थप भन्नुभयो, ‘दाताहरू सबैलाई सम्मानको कार्यक्रम छ । कति आउनु भएको छैन, कति आउन मन हुनेहरू विदेश हुनुहुन्छ । उहाँहरूलाई अनुकुल समयमा सम्मान गर्दछौं ।’
‘भोलि अन्तिम दिन सञ्चारमाध्यमबाट र तीमार्फत सहयोग गर्नुहुनेहरूलाई पनि सम्मानको कार्यक्रम रहेको छ ।’ प्रचार समितिको सहसंयोजक एवम् कवि लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो ।
यसैबीच, तेस्रो दिन योगी सोमराजले जीवनशैली, योग अभ्यास र ध्यानको महत्वबारे आफ्ना अनुभव सुनाउँदै भने, ‘सच्चा धर्म भनेको केवल कर्मकाण्ड होइन, त्यो त तिमीभित्रको चेतनालाई जागृत गर्ने प्रक्रिया हो ।’ योग र संयमित जीवनमार्फत आत्मशुद्धि सम्भव हुने उहाँको भनाइ थियो ।
बैशाख १८ गते स्वामी रमणानन्द गिरी र रामरोशन दास, भोलि बैशाख १९ गते चैतन्यकृष्ण र योगी सोमराजको प्रवचन दिनु भयो । त्यस्तै, बैशाख २० गते लामा गुरु सागरधम्म र लामा गुरु मिङमार डाक्पोरेपाबाट प्रबचन भएको थियो । त्यस्तै, बैशाख २१ गते डा. चिन्तामणि नाथ योगी र मानसाग्नी डा. हरिप्रसादले प्रवचन भएको छ भने यस दिन विशेष सम्मानको कार्यक्रम भएको आयोजकको भनाइ छ ।
महायज्ञको अन्तिम दिन बैशाख २३ गते कञ्चन घिमिरे र श्रीराम स्वधर्मले प्रवचन दिनुहुने कार्यक्रम तय भएको आयोजकको भनाइ छ । साथमा पूर्णाहुति, लक्ष्य बत्तीका तथा स्थापित मूर्तिहरुमा अभिषेक गरिने छ । साथमा सम्मानका नियमित कार्य पनि जारी रहनेछन् ।
धर्मनाथधाम परिसरमा शिवजीको १२ फिट अग्लो ध्यानमग्न मूर्ति, गणेश, हनुमान, नन्दीका मूर्तिहरू, १०८ गौमुखी धारा, १०८ शिवलिङ्ग र १००८ शालिग्रामसहितको परिक्रमा मार्गले भक्तजनलाई विविध तीर्थहरूको अनुभूति गराइरहेको छ ।
वैशाख १७ गते उद्घाटन गरिएको यो प्राणप्रतिष्ठा महायज्ञलाई मुक्तिनाथ धामकै झल्को दिने गरी डिजाइन गरिएको धामका अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार महायज्ञमार्फत धर्म, संस्कार, साधना र सेवा संस्कृतिको दरिलो सन्देश दिन जमर्को गरिएको हो । हामीले सफल भएको ठानेका छौं ।
प्रत्येक दिन बिहान ७ बजेबाट १२ बजेसम्म नियमित वेद रुद्री पाठ हवन हुने गर्दछ भने १२ बजे पछि प्रमुख वक्ताहरू मार्फत श्रीमद्भागवत कथा वाचन गर्ने गरिएको छ ।
प्रकाशित मिति २०८२ बैशाख २२, सोमबार २०:३७ गते
हजुरको प्रतिक्रिया