लाँकुरीभञ्ज्याङको रिसोर्टमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते

लाँकुरीभञ्ज्याङको रिसोर्टमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख २४ गते बुधबार ०६:०८

अध्यक्ष प्रचण्ड घाइते भएपछि पाँचथरको सदरमुकाम फिदिममा आजका लागि तय भएको जनसभा सारिएको छ ।

लडेको चोटले प्रचण्डको निधारमा तीनवटा टाँका लगाइएको छ ।

ललितपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको थाहा हुन आएको छ । यहाँ स्थित टेरेस रिसोर्टको बाथरुममा चिप्लिएर उहाँ गएराती(बैशाख २४ गते) लड्नु भएको हो ।
‘महंगो’को उपमा पाएको उक्त रिसोर्टमा प्रचण्ड आफ्ना छोरीज्वाइँ र नजिकका आफन्तहरूका साथ हिजो साँझ रात बिताउने गरी लाँकुरी भञ्ज्याङमा पुग्नु भएको उहाँ निकट स्रोतले जनाएको छ ।
उहाँलाई लड्नासाथ तत्कालै मेडिसिटी अस्पताल ल्याइएको र निधारमा टाँका लगाइएको थियो । उपचारपछि बिहान करिब ४ बजे अस्पतालबाट डिस्चार्च हुनु भएको हो । उहाँको टाउकामा तीन वटा टाँका लगाइएको छ ।
करिब दुई बजेतिर मेडिसिटी ल्याइएका उहाँ सामान्य उपचारपछि साढे चार बजेतिर डिस्चार्ज गरिफर्किनु भएको स्रोतको भनाइ छ ।
उहाँकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा अध्यक्ष दाहाल बाथरुममा लडेको उल्लेख गरेपछि सो समाचार सार्वजनिक भई बढी प्राथमिकतासाथ चर्चामा आएको हो । गंगाले आफ्नो पोष्टमा ‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु । बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद !’ उल्लेख गर्नु भएको थियो ।
गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको थियो ।
यता प्रचण्डको सचिवायलय बाथरुममा लडेको बताए पनि कहाँको बाथरुम भन्नेबारे केही पनि उल्लेख गरेको थिएन ।
छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको थियो । उहाँकी छोरी गंगा दाहालले फेसबुकमा स्टाटसमा कहाँ लडेको उल्लेख नगरी ‘बाथरूममा लडेको’ मात्र उल्लेख गरेको हुँदा धेरैले उहाँ घरमै लडेको अनुमान गरेका थिए ।
प्रचण्ड परिवार बस्न गएको सो टेरेस रिसोर्ट काठमाडौं उपत्यकाको महँगोमध्येमा अंकित छ । त्यहाँ सामान्य कोठाको मूल्य नै ३१ हजार ७ सय २५ रूपैयाँ पर्ने उक्त रिसोर्टले आफ्नो वेब साइटमा उल्लेख गरेको छ ।
सर्यो फिदिमको जनसभा :
यसैबीच, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरूममा लडेर घाइते भएपछि पाँचथरमा वैशाख २४ गते हुने माओवादीको जनसभा रोकिएको छ । आज फिदिममा हुने जनसभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम थियो ।
माओवादी नेता इन्द्र आङ्बोले आजको कार्यक्रम आउँदो २७ गते शनिबारका लागि सारिएको जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८२ बैशाख २४, बुधबार १८:०८ गते
हजुरको प्रतिक्रिया