बेसीशहर– लमजुङमा रहेको गैसस महासंघको जिल्ला शाखाको वैधानिकतामा प्रश्न उठेको छ । तीन वर्षको कार्यकाल रहने सो संस्थाको अधिवेशनका बेलामा मात्र आवद्ध भनिएका संस्थाका प्रतिनिधिलाई खोज्ने गरी सञ्चालन गरेका कारणले त्यसको वैधानिकतामा प्रश्न उठेको हो । भलै जिल्ला अधिवेशनमा सो महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई, महासचिव देवी खड्का, गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्का, केन्द्रका उपमहासचिवलगायतको सहभागिता भएको किन नहोस् ।
उक्त संस्थाको बैशाख २३ गतेका दिन जिल्ला अधिवेशन गरिएसँगै त्यसको वैधानिकतामा प्रश्न उठाइएको हो । सो संस्थाको अधिवेशनमा पछिल्ला तीन पटक आफूलाई बोलाइने गरेपनि संस्थाको आवद्धता शुल्क नमागिएको। आवद्धता प्रमाणपत्र नदिएको, अधिवेशनको अघि पछि हुने गतिविधिका बारेमा कुनै जानकारी हुने नगरेको भन्दै ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले प्रश्न उठाउनु भएको छ । आवद्धता शुल्क नै नलिई कुनै पनि संस्थाहरू त्यस महासंघको सदस्य के कसरी हुन सक्छन् ? भन्ने उहाँको प्रश्न छ । सो संस्थाको पछिल्लो कार्यकालमा तीन लाख रुपैयाँको आयव्यय अधिवेशनको उदघाटन सत्रमा सुनाईको भए पनि त्यसको आम्दानीको स्रोत र खर्च गरिएका कार्यक्रमका बारेमा कुनै जानकारी नभएको पहाडीको भनाइ छ । उहाँले भन्नुभयो, ‘कार्यक्रम गर्नका लागि पनि त बैठकले निर्णय गरेको कार्यक्रमहरूको स्विकृति हुनुपर्छ होला ।’
यसैबीच, सो संस्थाको पछिल्लो तीन वर्षे कार्यकालमा एउटै बैठक समेत नबसेको जानकारीमा आएको छ । तीन वर्षको अवधिमा यौटा बैठकसम्म पनि नबस्ने संस्थाको वैधानिकता के हो ? थप जिज्ञासाको विषय बनेको छ ।
यसबारेमा अधिवेशनको बेलामा निर्वाचन समितिको संयोजक हुनु भएका राजेन्द्र बोहरा जो जिल्लाको जल्दोबल्दो गैसस आरसिडिसी लमजुङको अध्यक्ष पनि हुनुहुन्छ– सँग सम्पर्क गर्दा उहाँले सुरुमा १५, १६ वर्ष अघि एकहजार रुपैयाँ तिरेको हो, त्यसपछि तिरेको थाहा छैन । विधानको व्यवस्थाका बारेमा पनि प्रष्ट भएन उहाँले भन्नुभयो । त्यस दिनमा पनि आफू व्यस्त भएको हुँदा निर्वाचनको काम मात्र हेरेको अन्य कुरामा ध्यान दिन सकिन, उदघाटन सत्रमा पनि थिइन उहाँले भन्नुभयो । उहाँका अनुसार जिल्लामा शाखाको मान्यता पाउनका लागि ९ वटा संस्था भए पुग्ने, हाल उक्त शाखामा २२ संस्था आवद्ध रहेको भन्ने सुनेको छु ।
यसबारेमा जिल्लाको पुरानो अर्को संस्था कोप्याडेसका संस्थापक अध्यक्ष डिकेन्द्र कँडेलसँग सम्पर्क गर्दा यसको सञ्चालन विधि चित्त बुझ्दो छैन, त्यसैले बीचमा हामीहरूसँग अलग भएको पनि हो तर अर्को संस्था पनि लोकतान्त्रिक विधिबाट पारदर्शी तरिकाले राम्रोसँग चल्ने अवस्था देखिएन । त्यसपछि यही गैससलाई राम्रोसँग चलाउने भन्ने सोच हो तर गतिविधि कब्जा गर्ने ढंगको देखियो, जिल्लामा खास काम गरेका गैससको रुपमा चिनिएका संस्था भन्दा पनि नामका संस्था मात्र भोट पाउनका लागि आवद्ध गर्ने र आफ्नो पक्कड बनाई राख्ने नियत देखिन्छ उहाँले भन्नुभयो ।
यसबारेमा गत कार्यकालमा कावा अध्यक्ष रहनु भएकी र हालकी नवनिर्वाचित घोषित हुनु भएकी जिल्ला अध्यक्ष सुशीला गुरुङसँग सम्पर्क गर्दा उहाँको यौटा नंबर ९८४२७७७७४८ अफ र अर्को ९८६१७८६६७९ उठेन ।
नवनिर्वाचित उपाध्यक्ष सुशीलचन्द्र अधिकारीले म त भरखर आएको छु, बुझ्दै छु, राम्रोसँग चलाउने छाट नदेखेमा छाडिदिन्छु । सबैसँग सल्लाहले काम गरौं भन्ने सोचमा छु उहाँले भन्नुभयो । वैधानिकता र यसअघिका गतिविधिका बारेमा आफू जानकार नभएको उहाँको भनाइ छ ।
प्रकाशित मिति २०८२ बैशाख २५, बिहीबार ०९:२४ गते