पाउँदी(लमजुङ)– लमजुङमा नवनिर्मित नयाँ धार्मिक गन्तव्य धर्मनाथ धामको प्राण प्रतिष्ठा अनुष्ठानको सप्ताहव्यापी अवधिभर झण्डै साढे नौ लाख रुपैयाँ दान प्राप्त भएको छ । सो अवसरमा त्यहाँ दर्शनका लागि आउने श्रद्धालु भक्तजनबाट त्यतिका रकम संकलन भएको अनुष्ठानको समापनको भोलिपल्ट बैशाख २५ गते बताइएको हो ।
उक्त अनुष्ठानका अवसरमा तीनवटा दानपेटिका राखिएको थियो । तीनहरूमा कुल ३३ हजार आठ सय रूपैयाँ जम्मा भएको रहेछ । समितिको रोहबरमा उक्त दानपेटिका खोलेर गणना गरिएको जानकारी अध्यक्ष कृष्णराज ओलियाले बताउनु भएको हो । उहाँका अनुसार अनुष्ठान अवधिभर विभिन्न शिर्षकमा गरेर कुल नौ लाख ४४ हजार १३४ रुपैयाँ दान सहयोग प्राप्त भएको छ ।
यसैगरी, केही महिना अघिदेखि आश्रमको भोजनालयमा राखिएको दानपेटिका पनि समितिको रोहबरमा सँगसँगै खोली गणना गर्दा २८ हजार ८२५ पचासी रुपैंया जम्मा भएको प्रचार समितिका उपसंयोजक लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनु भएको छ ।
यसप्रकार दानपेटिकामा दान गर्नुहुने सबै दानदाता र उहाँहरूको सपरिवारमा भोलेनाथको कृपा आशीर्वाद सदैव रहिरहोस भन्ने मंगलकामना गर्दछौं अध्यक्ष ओलियाले भन्नु भएको छ । उक्त अनुष्ठानका क्रममा भएको खर्चको बिल केही अझै आउन बाँकी भएकोले खर्चको एकिन हिसाब हुन बाँकी छ, त्योसबै आएपछि पुनः खर्च सार्वजनिक गर्नेछौं आर्थिक उपसमितिका संयोजक भूमिनन्द तिमिल्सिनाले भन्नुभयो ।
निःस्वार्थ र पवित्र भावनाले सेवा गर्नु धर्म हो : वनमन्त्री पौडेल
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले निःस्वार्थ ढंगले पवित्र भावनाका साथ सेवाका काम गर्नु सबैभन्दा ठूलो धर्म हो भन्ने भएको छ । उहाँले लमजुङको राइनास नगरपालिका– ८ को हर्राबोट शितप्रवाह नदी र तिलानदी संगमस्थल जहाँ तीन नगरपालिका र दुई जिल्लाको समेत संगम स्थल ररहेको छ– मा निर्माण गरिएको नयाँ धार्मिक गन्तव्यको समापन मन्तव्यका क्रममा बैशाख २३ गते त्यस्तो बताउनु भएको हो ।
आफ्नो प्रमुख आतिथ्यताको संक्षिप्त मन्तव्यमा मन्त्री पौडेलले न्याय गर्दा धर्म नछाड्नु भन्ने प्रचलन रहेको स्मरण गर्दै धर्मले हामीलाई सत्य गर्न, न्याय गर्न, परोपकार गर्न सेवा तथा राम्रो गर्न सिकाएको छ भन्नुभयो । उहाँले भौतिक र आध्यात्मवाद दुवैलाई समिश्रण गरी अघि बढ्न सकेमा मानवजीवन सार्थक हुन्छ भन्ने उल्लेख गर्नुभयो ।
उहाँले उहिलेको शिक्षामा नैतिक शिक्षा हुन्थ्यो, त्यसले धर्म, संस्कार, संस्कृतिका कुरा सिकाएको हुन्थ्यो तर पछिल्ला वर्षमा त्यस्तो शिक्षा नहुँदा समाज नराम्रो दिशातर्फ उन्मुख हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले नयाँ बालबालिकालाई असल शिक्षा र संस्कार दिनु पर्छ भन्दै बच्चाहरू राम्रो भएमा आफ्ना लागि आफैले कमाउन सक्षम हुने र खराब आचारणको भएमा बाबु–आमाले जत्ति कमाएर छाडेपनि क्यासिनो, भट्टी आदिमा गएर स्वाहा बनाउने हुन्छ, त्यसैले आज घरघरमा असल संस्कारको खाँचो छ उहाँले जोड दिदै भन्नुभयो ।
राज्यले सबै धर्मलाई सम्मान गर्न सिकाएको छ भन्दै उहाँले उक्त क्षेत्रको विकासका लागि गर्नु पर्ने थप सहयोगका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मर्मत सुधारका लागि जिल्लाका लागि एक करोडको बजेट आएकोमा त्यसको सही उपयोग गरिएको छ, यहाँका लागि पनि बचेको रकमबाट केही सहयोग गर्नेछौं उहाँले उल्लेख गर्नुभयो । उहाँले यो धामलाई आजको स्थानमा ल्याउने र प्रमुख धामको रुपमा विकास गर्ने काम सजिलो नभएको भन्दै यसका अध्यक्षसहित संलग्न सबैलाई बधाई छ भन्नुहुँदै निरन्तर लाग्नका लागि अनुरोध गर्नुभयो ।
सो अवसरमा आयोजकको तर्फबाट वन मन्त्री पौडेललाई अभिनन्दन समेत गरिएको थियो ।
सो अवसरमा विशेष अतिथि वाल्मिकी विद्यापिठका सहप्राध्यापक टिपि धमलाले आफूले पिएचडिका लागि यसै थलोलाई राजेको र यो आसपासमा घुम्दा गोरखनाथको पहिलो पाइला यसै क्षेत्रमा परेको आफूले अनुसन्धानका क्रममा पाएको र गोरखनाथकै आशीर्वादले नेपाल राज्य बन्न गएको हो भन्नुभयो । उहाँले यो थलोलाई गुरुकुल बनाउन जरुरी छ भन्नुभयो ।
सप्ताहव्यापी ज्ञानमहायज्ञका मूल वाचनकर्ता धनेश्वर पौडेललाई पनि सम्मान गरिएको थियो । यसैगरी, सो धाम निर्माणका लागि पाँच हजार रुपैयाभन्दा माथिको रकम सहयोग गर्नु हुने दाताहरू झण्डै पाँच सयलाई सम्मान गरिएको आयोजकको भनाइ छ ।
सो अवसरमा जिसस लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ, उपमेयर पुष्पराज खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम सर्वोदय सेवाश्रम, धर्मनाथ धामका अध्यक्ष कृष्णराज ओलियाको अध्यक्षतामा भएको थियो । उहाँले स्वागत मन्तव्यसहित धर्मनाथ धामको स्थापनाको उद्देश्यमा प्रकाश पार्नु भएको उक्त कार्यक्रममा उपवाचक गोविन्दाचार्यले कविताबाट स्वागत तथा आचार्य रेग्मी गोविन्दले संस्कृत भजनबाट स्वागत गर्नु भएको थियो ।
लमजुङको राइनास नगरपालिका– ८ को हर्राबोट स्थित शितप्रवाह नदी र तिलानदी संगमस्थल जहाँ तीन नगरपालिका र दुई जिल्लाको समेत संगम स्थलका रुपमा रहेको स्थलोमा २०६८ सालदेखि सञ्चालनमा सर्वोदय सेवाश्रम आएको हो । जुन आश्रममा बृद्धबृद्धाहरू आश्रित हुनु भएको छ– मा धर्मनाथ धामको स्थापना गरी जिल्लामा नयाँ धार्मिक गन्तव्य प्रतिस्थापन गरिएको छ ।
सोही थलोमा शिवजीको ध्यानात्मक मूर्तिका साथमा १०८ शिवलिङ्ग, १०८ गोमुखी धारा, १००८ शालिग्राम, एउटै ढुंगाबाट बनेको हनुमानको मूर्ति, गणेश भगवानको मूर्तिका साथमा ९ वटा चौतारासमेत निर्माण भइसकेका छन् । सो स्थानमा स्थापित मूर्तिहरूमा प्रण भर्नका लागि गरिने प्राण प्रतिष्ठाका साथमा सप्ताहव्यापी भागवत ज्ञान महायज्ञको आयोजना गरिएको हो ।
धर्मनाथ धाममा स्थापित मूर्तिहरूमा प्राण प्रतिष्ठाका साथमा सप्ताहव्यापी भागवत ज्ञान महायज्ञको आयोजना गरेर आध्यात्मिक जागरणका लागि विशेष अनुष्ठान त गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन रुद्र माविका प्रधानाध्यापक शिव नरालले गर्नु भएको थियो ।
कार्यक्रमको समापन पछि वन मन्त्री पौडेलले धर्मनाथ धामको परिक्रमा गरी अवलोकन गर्नु भएको थियो ।
एकै थलोमा विभिन्न भगवानको दर्शन गर्ने सुविधा :
एकै थलोमा विभिन्न भगवानको दर्शन गर्ने सुविधा प्राप्त भएको छ । धर्मनाथ धामको सो थलोमा गणेश, शिवजी, बुद्ध भगवान, हनुमानजी, १००८ शालिग्राम, १०८ शिवलिङ तथा १०८ गोमुखी धारामा स्नान आदिको दर्शन गर्ने प्रवन्ध मिलाइएको छ । नवस्थापित धर्मनाथ धामको उक्त पुण्यभूमिमा त्यस्तो सङ्गम जुराइएको हो ।
प्रकाशित मिति २०८२ बैशाख २५, बिहीबार ११:५७ गते