राजसंस्था पुनःस्थापनाका लागि जनआन्दोलन ? लक्ष्य पुरा नभएसम्म नरोकिने संयोजक नवराज सुवेदीको उदघोष

राजसंस्था पुनःस्थापनाका लागि जनआन्दोलन ? लक्ष्य पुरा नभएसम्म नरोकिने संयोजक नवराज सुवेदीको उदघोष

एजेन्सी

@antaranganews

२०८२ बैशाख २५ गते बिहिबार ०६:४३

चैत १५ गतेको घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतलाई अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । सो घटनापछि आन्दोलन शिथिल जस्तो देखिए पनि पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

गणतन्त्र स्थापनाकै दिनबाट सो व्यवस्था विरोधी आन्दोलनको घोषणा तयारी

काठमाडौं– विश्वमै प्रजातान्त्रिक पद्दतिका लागि जनआन्दोलन हुने गरेको आम मान्यता छ तर नेपालमा भने त्यसको उल्टो हुने गरी जनआन्दोलन सुरु गर्ने घोषणा भएको छ । राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पत्रकार सम्मेलन आयोजना गर्दै सुवेदीले आगामी जेठ १५ गतेबाट देशभर जनआन्दोलन सुरु गर्ने घोषणा बैशाख २५ गते गरिएसँगै त्यस्तो खुलासा भएको हो ।
उक्त घोषणा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायतको सहभागिता थियो । आन्दोलन घोषणा गर्दै संयोजक सुवेदीले भन्नुभयो, ‘२०८२ जेठ १५ देखि शुरू हुने यो आन्दोलन हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म टुंगिने छैन ।’ सुवेदीले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’ उहाँले आन्दोलनका बाँकी कार्यक्रमहरू उपयुक्त समयमा घोषणा हुने जानकारी दिनुभयो ।
संयोजक सुवेदीले भन्नुभयो, ‘मुलुकमा शान्ति र स्थायित्व कायम गर्दै नेपालको अस्तित्वको रक्षा र नेपाली जनताको समग्र हित र समुन्नति नै हाम्रो आन्दोलनको लक्ष्य हो, बाह्य शक्तिहरूको संलग्नता नरहने यो आन्दोलन नेपाली जनताको लागि नेपाली जनताद्वारा गरिने नेपाली जनताको राष्ट्रवादी आन्दोलन हुनेछ ।’
सुवेदीको जनआन्दोलनको बलमा उन्नत र प्रजातान्त्रिक प्रणाली स्थापित गरिने पनि दाबी छ । संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य पुनस्र्थापना, संघीयता खारेजी, सुशासन र भ्रष्टाचार अन्त्य आफूहरूको लक्ष्य रहेको सुवेदीले उल्लेख गर्नुभयो । ‘व्यापक जनदवाव सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चिलकालीन जनआन्दोलन गर्छौं ।’ सुवेदीको कथन छ ।
जन्मदै जुम्ल्याहा भएको पार्टी एक ठाउँमा :
राष्ट्रिय प्रजातन्त्र पार्टी नामको जन्मदै जुम्ल्याहा रुप धारण गरेको पार्टी यतिबेला भने एक ठाउँमा देखिएको छ । राप्रपा, राप्रपा नेपाल, कांग्रेस (बिपी), राष्ट्रिय शक्ति, शिव सेनालगायतलाई एकै ठाउँमा भेला गरी राजसंस्था पुनस्र्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ले ‘जनआन्दोलन’को घोषणा गरेको हो । राजेन्द्र लिङ्देन र कमल थापालाई दायाँबायाँ राखेर आन्दोलन घोषणा गर्न सक्नु नवराज सुवेदीको एक हदसम्मको सफलता मानिएको छ ।
२०७२ सालको संविधान र दलीयतन्त्रका कारण देश असफलतातर्फ उन्मुख भइसकेको निष्कर्ष निकाल्दै नवराज सुवेदी नेतृत्वको जनआन्दोलन परिचालन समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङ्देन
यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनासहित संघीयताको खारेजीको आन्दोलनका लागि वैशाख २५ महत्वपूर्ण दिन भएको बताउँदै गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबिच धुर्वीकरण हुन जरुरी रहेको उल्लेख गर्नुभयो । लिङ्देनले अबदेखि राप्रपाका सबै कार्यक्रम आन्दोलनको एउटा अंगका रुपमा अघि बढ्ने घोषणा समेत गर्नुभयो ।
आफूहरूको लक्ष्य प्राप्त गर्न सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमार्फत कार्यक्रमहरू हुने प्रतिबद्धता पत्रमा उल्लेख छ । भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्दै देशमा सुशासन र कानुनी राज्यको प्रत्याभूति दिलाउने क्रममा २०७४ साल यता सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गरी उच्चस्तरीय अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता पत्रमा भनिएको छ ।
आन्दोलनलाई सफल तुल्याउन देशको प्रत्येक जिल्ला, पालिका तथा वडाहरूमा संयुक्त जनआन्दोलन समितिहरू गठन गरिने तथा देशको विभिन्न भागहरूमा स्वतःस्फूर्त रूपले जुलुस, धर्ना लगायतका जनप्रदर्शन हुने समितिको भनाइ छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने जिकिर गर्नु भयो । काठमाडौंमा जेठ १५ गते लाखौंको संख्यामा मान्छे उपस्थित भएर प्रदर्शन हुने उहाँको दाबी छ । कुनै दिन यही गणतन्त्रलाई स्विकार गर्दै उपप्रधामन्त्री समेत बन्नु भएका थापाले गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या गर्नुभयो ।
यसअघि गत चैत १५ गते संयुक्त जनआन्दोलन समितिले तोकेका कमान्डर दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । यसअघि गत चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन हुँदा तीनकुने घटना भएको थियो । प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने निजी घर, सरकारी गाडी, पार्टी कार्यालयहरू र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।
स्मरणीय छ, घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतलाई अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
चैत १५ गतेको सो घटनापछि आन्दोलन शिथिल जस्तो देखिए पनि पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
संविधानविरुद्धका क्रियाकलाप सह्य हुने छैन : गृहमन्त्री
यसैबीच, गृहमन्त्री रमेश लेखकले संविधानका विरुद्धमा हुने कुनै क्रियाकलाप सह्य नहुने आजै बताउनु् भएको छ । प्रतिनिधिसभाको ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा, संविधानका विरुद्धमा हुने कुनै पनि क्रियाकलापहरू सह्य हुने छैनन् ।’ गृहमन्त्री लेखकले भन्नुभएको छ ।

प्रकाशित मिति २०८२ बैशाख २५, बिहीबार १८:४३ गते
हजुरको प्रतिक्रिया