काठमाडौँ– जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । मिश्रलाई म्याद थपका लागि सातौँ पटक जिल्ला अदालत लगिएको थियो । अदालतले प्रहरीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बैशाख २५ गते अनुमति दिएको हो ।
मिश्रलाई हतकडी लगाएकोमा विरोध भइरहेको बेला आज पनि हत्कडी लगाएरै अदालत पु¥याइएको थियो । त्यस क्रममा तस्बिर खिच्न भने रोक लगाइएको थियो । तीनकुने घटनामा १५ गते राति पक्राउ परेपछि मिश्र प्रहरी हिरासतमै रहनु भएको छ ।
त्यसैगरी आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भएकाहरूलाई भने थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो । उहाँका अनुसार अर्को आपराधिक उपद्रव कसुरमा मात्रै अनुसन्धान भइरहेका २७ जनामाथि भने सात दिनको म्याद थपिएको हो ।
रवीन्द्र मिश्रमाथि अर्को कसुरमा पनि अनुसन्धान :
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारी वकिल कार्यालय काठमाडौंले अर्को कसुरमा पनि थप अनुसन्धान गर्न म्याद माग गरेको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंले मिश्रमाथि आपराधिक उपद्रवको कसुरमा पनि अनुसन्धान गर्न म्याद माग गरेको र आज थप भएको म्याद सोही मुद्दाका लागि भएको प्रहरीले जनाएको छ । आपराधिक उपद्रव कसुरमा अनुसन्धान गर्न भन्नुभएको छ,’ मिश्रका वकिल एवं वरिष्ठ अधिवक्ता राजु बस्नेतले समेत पुष्टि गर्नु भएको छ ।
अनुसन्धान गर्न अर्को मुद्दाको पनि कसुर लगाएपछि मिश्रले पनि आफ्नो धारणा राख्दै भन्नुभएको थियो, ‘मैले कुनै अपराध गरेको छैन, सरकारको यस्तै खालको नियत रहिरह्यो भने नेपालमा कोही पनि बस्न चाहँदैन, कोही पनि बस्न सक्ने अवस्था रहन्न ।’ उनको भनाइ उदृत गर्दै वकिल बस्नेतले उल्लेख गर्नुभयो ।
मिश्रले राज्यले आफूलाई हिरासतकै क्रममा तेस्रो कालो टीका लगाइदिएको बताउनु भएको छ । आफू ४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा टीका बोकेर हिँडेको उल्लेख गर्दै मिश्रले आज ४२ औँ दिनमा आएर आपराधिक उपद्रवको अर्को टीका लगाउने काम भएको बताउनु भएको छ । मिश्रले भन्नुभयो, ‘यो टीका पुछ्ने अधिकार, यो टीका पुछ्ने निष्ठा यो देश र न्यायालयमा हुन्छ भनेर मैले केही कुरा राख्न खोजेको छु, यो के गरेको ? मैले बुझ्दै बुझिनँ । घटना भयो, मलाई पक्रेर पनि ल्याइयो । त्यसपछि म्याद थपियो र मैले छानबिनका लागि जतिपटक म्याद थप्दा पनि हुन्छ भनेको थिएँ । तर बयान सकिएपछि पनि म्याद थपिँदैछ ।’ इजलासमा आक्रोशित मुद्रामा प्रस्तुत भएका मिश्रले देशमा ईश्वर र जनताको नाममा शपथ खाएकाहरूले ब्यापक बठ्याई गरेको बताउनु भएको थियो ।
बोलेकै आधारमा हुने भए विगतमा सत्तामै गणतन्त्र पक्षधरले कैयन आपत्तिजनक कुरा गरेकोबारे आफू जानकार रहेको मिश्रले बताए । ‘यदि बोलेकै आधारमा हुन्थ्यो भने त …लेले खुकसी ज्ञानेन्द्रलाई छप्काइदे भन्नेहरु अहिले सत्तामै छन् नि ! बोलेकै आधारमा हुने हो भने त अरु केके छन्, के के छन् नि । मैले कुनै पनि हिंसाजन्य काम नगर्दा ४१ दिन राखेर ४२ औँ दिनमा फेरि राख्न पर्यो भनेर आपराधिक उपद्रवको कालो टीका लगाइदिने ?’ उहाँको प्रतिप्रश्न थियो ।
मिश्रको तर्फबाट बस्नेत, वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल लगायतले बहस गरेका थिए ।
मिश्रको मुद्दा न्यायाधीश मोना सिंहको इजलासमा रहेको छ ।
दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित पाँच मुद्दा :
तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ । बैंकिङ कसुरको मुद्दा भने दर्ता हुन बाँकी रहेको स्रोतको भनाइ छ ।
मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।
मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै दुई साताअघि छाडेको थियो । छुटेका धवल शमशेर राप्रपाको एक कार्यक्रममा समेत देखिनु भएको थियो ।
राज्यविरूद्धको कसुरमा दुई जना हाजिर जमानीमा छुटेका छन् । अरू आपराधिक उपद्रव कसुरमा ३४ जनालाई हाजिर जमानीमा राखिएको एसपी बोहराले जानकारी दिनु भएको छ । उहाँका अनुसार गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
गत चैत १५ गते तीनकुनेको आन्दोलनमा हिंसा भड्किएको थियो । उक्त प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पनि प्रहरीको हिरासतमा छन् । यतिबेला सो काण्डमा मुछिएका ५२ जना जिल्ला प्रहरी परिसर काठमाडौंमा हिरासतमा छन् ।
अहिले पक्राउ परेका व्यक्तिहरूमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान भइरहेकाले प्रहरीले ६० दिनसम्म हिरासतमा राख्न पाउने व्यवस्था छ ।
मिश्रहरूविरुद्ध यो सातौँ पटक म्याद थप गरिएको हो ।
प्रकाशित मिति २०८२ बैशाख २५, बिहीबार २१:२० गते