बेसीशहर– लमजुङमा रेडक्रस दिवसको अवसरमा त्यसको जिल्ला शाखाको आयोजनामा यहाँ रक्तदान कार्यक्रम भएको छ । रेडक्रसको जिल्ला शाखाले दिवसका अवसरमा यहाँ स्थित प्रदेश अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । सो कार्य प्रदेश अस्पताल लमजुङको समन्वयमा बैशाख २५ गते भएको हो । यो वर्ष दिवस १६३ औंं शृंखला हो ।
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ नेपालमा पनि विश्व रेडक्रस दिवस मनाइएको हो । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने गरिएको रेडक्रस सोसाईटीका जिल्ला अध्यक्ष ऋषिराम घिमिरेले बताउनु भयो ।
उहाँका अनुसार विश्व रेडक्रस दिवस मनाउने सन्दर्भमा रेडक्रसको मर्म र सिद्धान्तलाई आत्मसाथ गर्दै मानवीय सेवाको लागि रक्तदान कार्यक्रम गरीएको कार्यक्रममा अस्पतालको आवश्यकता अनुसार थोरै मात्रामा रक्तदान गरिए पनि रक्तदान गर्ने व्यक्तिहरूको सम्पर्क राखिएको छ ।
उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी शाखाका पूर्वअध्यक्ष दिपकराज बराल, नारायणप्रसाद घिमिरे, मन्त्री दिपकप्रसाद न्यौपाने, पूर्वमन्त्री सुशीलचन्द्र अधिकारी, कार्यालय प्रमुख श्रीकान्त घिमिरे, कार्यक्रम अधिकृत गणेश गौली, पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेल लगायतले भाग लिदै रक्तदान गर्नु भएको थियो ।
नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्मदिनको अवसरमा विश्व रेडक्रस दिवस मनाउने गरिएको छ । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेहरूलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन छ ।
रेडक्रसका मुख्य सिद्धान्तहरू सातवटा रहेका छन् । ती १) मानवता, २) निष्पक्षता, ३) तठस्तता, ४) स्वतन्त्रता, ५) स्वंसेवा, ६) एकता र ७) सर्वव्यापकक्ता भएको जानकारी दिदै कार्यालय प्रमुख श्रीकान्त घिमिरेले जिल्लाका विभिन्न स्थानमा रहेका उपशाखा, जुनियर सर्कल, युवा समितिले आ–आफ्नो क्षेत्रको आवश्यकता र क्षमता अनुसार दिवसमा सरसफाई लगायतका कार्य गरेको बताउनु भयो ।
रेडक्रसका संस्थापक हेनरीलाई एक लेखक पनि थिए । उनले सन् १८५९ मा लेखेको पुस्तक (मेमोरी अफ सोल्फेरिनो) अत्यन्त हृदयस्पर्शी यात्रा संस्मरण हो । सोल्फरिनो अहिलेको ईटलीमा पर्दछ, यूरोपको त्यस ठाँउमा युद्धताका हेनरी कामको सिलसिलामा पुग्दा रगताम्य सिपाही, घाईते अनि मृतकहरूको दर्दनाक अवस्था प्रत्यक्ष देखे, भोगेका थिए । त्यही भोगाईले उनलाई विश्व परोपकारका लागि रेडक्रस जस्तो अभूतपूर्व संस्था सन् १८६३ मा रेडक्रसको अन्तराष्ट्रिय कमीशन अर्थात् आईसीआरसीका रुपमा शुरुवात गर्न प्रेरित गर्यो ।
रेडक्रस आज संसारभरिका १९० भन्दा बढी देशहरूमा कार्यरत छ । नेपालमा पनि हामीहरूले पढेका अधिकांश विद्यालयदेखिनै स्वयमसेवा अनि मानवताको मूल्यलाई आत्मसाथ गर्दै रेडक्रसको जुनियर सर्कल अनि यूवा रेडक्रस सर्कलमा हामी धेरैजना सक्रिय भएका हुन सक्छौं ।
यसरी हेनरी ड्यूनान्टले १८औँ शताब्दीमा देखेका सपना अनि त्यसका खाकाहरू आज संसारभर मानव सेवाका लागि कहलिएको छ ।
प्रकाशित मिति २०८२ बैशाख २६, शुक्रबार १२:०१ गते