कानुन दिवसमा जिल्ला अदालतका तीन कर्मचारी पुरस्कृत

कानुन दिवसमा जिल्ला अदालतका तीन कर्मचारी पुरस्कृत

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख २६ गते शुक्रबार ०६:५१

न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको २००८ र ९ सालमा श्रीगणेश भएको आजकै दिन मानिन्छ ।

विसं. २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो ।

बेसीशहर– आज ७३औँ कानुन दिवस । सर्वोच्च अदालतको पूर्ण बैठकबाट वैशाख २६ गतेको दिनलाई कानून दिवसको रुपमा मनाउने निर्णय भएअनुरुप यो दिवस मनाउन थालिएको हो । उक्त कानुन दिवस– २०८२ को सन्दर्भमा जिल्ला अदालतका तीन कर्मचारीलाई पुरस्कृत गर्दै शुभकामना आदान प्रदान गरी बैशाख २६ गते मनाइएको छ ।
कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । दिवसको सन्दर्भमा लमजुङ जिल्ला अदालत परिसरमा एक औपचारिक कार्यक्रम गर्दै शुभकामना आदानप्रदानका साथमा कर्मचारीलाई पुरस्कृत गर्ने र दिवसको महत्वमा प्रकाश पार्दै प्रवचनका कार्यक्रम भएको अदालतका स्रेस्तेदार भेषराज पौडेलले बताउनु भयो । उहाँका अनुसार बेञ्च र बार परिवार मात्र बसेर दिवस मनाउने काम भयो ।
जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले सबै न्यायकर्मीहरूको उद्देश्य एउटै सर्वसाधारणसम्म न्यायको पहुँच स्थापित गर्नु हो भन्नुभयो । उहाँले आफूहरूसँग पर्स, पावर, बन्दूक आदि केही नभएको र जनविश्वास नै आधार भएको हुँदा जनविश्वास जित्ने गरी काम गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्यसहित सञ्चालन स्रेस्तेदार भेषराज पौडेल आफैले गर्नु भएको थियो । सो अवसरमा वैतनिक कविल सुरेश दुराले कानुन दिवसको महत्वमा प्रकाश गर्दै सेवालाई गुणस्तर बनाउनु पर्ने उल्लेख गर्नु भयो । उहाँले न्यायालयप्रति उठ्ने टिकाटिप्पणी सबैको जसअपजसको भागी हामी सबै हुनुपर्छ भन्नुभयो ।
सो अवसरमा जिल्ला अदालतका नासु नवराज जोशी, डिठ्ठा धर्मराज न्यौपाने, सुरेन्द्र राउत कार्यालय सहयोगीलाई प्रशंसा पत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको स्रेस्तेदार भेषराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारी पुरस्कृत गर्न १० हजार रुपैयाँ आएको थियो, सोही रकम दामासाहीले वितरण गरियो । पुरस्कृत गर्ने कार्य श्रीमानबाट भएको हो उहाँले भन्नुभयो ।
नेपालमा प्रधान न्यायालय विक्रम संवत २००८ साल वैशाख २६ गते स्थापना भएको र सो सम्बन्धि कानुनले लालमोहर लागेर कानुनी मान्यता पाएको २००९ साल वैशाख २६ गते एकै दिन भएको हुँदा त्यसको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानून दिवसको रुपमा मनाउन थालिएको हो । २०४८ साल असोज ११ गतेको सर्वोच्च अदालतको पूर्ण बैठकबाट यो दिवस मनाउने निर्णय भएको हो ।
विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको दिन हो अधिवक्ता विजयप्रकाश अधिकारीले बताउनु भयो । उहाँका अनुसार उक्त ऐन विसं. २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो ।
यसैबीच, मुलुकभर न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्धनमा जोड दिँदै आज कानुन दिवस मनाएको खबर छ ।
न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको श्रीगणेश सोही दिनदेखि भएको मानिन्छ ।

प्रकाशित मिति २०८२ बैशाख २६, शुक्रबार १८:५१ गते
हजुरको प्रतिक्रिया