प्रेस सेन्टर नेपालद्वारा प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै प्रेस स्वतन्त्रता सूचक खस्किएकोमा ध्यानाकर्षण

प्रेस सेन्टर नेपालद्वारा प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै प्रेस स्वतन्त्रता सूचक खस्किएकोमा ध्यानाकर्षण

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख २९ गते सोमबार ०१:०३

सेन्टरले जेष्ठ पत्रकारको निवृत्ति भरण, स्वास्थ्य विमा गरिनुपर्ने, कमजोर अवस्थामा रहेका मिडियालाई सरकारले ध्यान दिनुपर्ने माग समेत गरेको छ । ‘तीनै तहमा सञ्चारलगायत सबै क्षेत्रमा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत सुनिश्चित गरियोस्’ प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

गत चैत्र १५ गते राजावादी समूहले गरेको आन्दोलनमा जिउँदै जलाएर पत्रकार सुरक रजकको हत्या गरेको प्रति खेद प्रकट गरेको छ ।

बेसीशहर– प्रेस सेन्टर नेपाल, लमजुङ शाखाद्वारा प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै प्रेस स्वतन्त्रता सूचक खस्किएकोमा ध्यानाकर्षण गरेको छ । प्रेस सेन्टरको केन्द्रले जारी गरेको १० बुँदे काठमाडौ घोषणापत्र सहितको प्रेस विज्ञप्ती सेन्टरका जिल्ला अध्यक्ष वासुदेव थापाले प्रमुख जिल्ला अधिकारी माधव पोख्रेललाई बैशाख २८ गते बुझाउनु भएको हो ।
हासहालै ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढेको र विश्वमा नेपालको प्रेस स्वतन्त्रता सूचक खस्किएकोमा प्रेस सेन्टरले चिन्ता व्यक्त गरेको छ । सो विज्ञप्तिमा गत चैत्र १५ गते राजावादी समूहले गरेको आन्दोलनमा जिउँदै जलाएर पत्रकार सुरक रजकको हत्या गरेको प्रति खेद प्रकट गरेको छ । पत्रकारको हत्या, पत्रकारमाथि भौतिक आक्रमण, सञ्चार गृहमाथि आक्रमण, पेशागत असुरक्षाका घटनाले संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकार संकुचित भएकोमा ध्यानकर्षण गरेको छ ।
विज्ञप्तीमा सञ्चारसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ हुनु, सञ्चार कानुन निर्माणका लागि प्रस्तावित भइ छलफल भइरहेका विधेयकका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन हुने अवस्था सिर्जना भएको प्रति पनि चिन्ता व्यक्त गर्दै विभिन्न माग राखिएको छ ।
परिवर्तनका लागि कलम चलाएकै कारणले तत्कालीन राज्यबाट हत्या गरिएका कृष्ण सेन ‘इच्छुक’सहितका पत्रकारका हत्यारालाई कानूनी दायरामा ल्याउन र राज्यबाट बेपत्ता पारिएका पत्रकारहरू दीपेन्द्र शर्मा, मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, राजेन्द्र ढकालको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
सेन्टरले जेष्ठ पत्रकारको निवृत्ति भरण, स्वास्थ्य विमा गरिनुपर्ने, कमजोर अवस्थामा रहेका मिडियालाई सरकारले ध्यान दिनुपर्ने माग समेत गरेको छ ।
‘तीनै तहमा सञ्चारलगायत सबै क्षेत्रमा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत सुनिश्चित गरियोस्’ प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत वर्गले सञ्चालन गरेका साना लगानीका मिडियालाई विशेष प्रोत्साहन गर्न पनि सेन्टरले माग गरेको छ ।
केन्द्रमा प्रधानमन्त्री कार्यालय, प्रदेशमा मुख्यमन्त्री कार्यालय र जिल्लामा जिल्ला प्रशासन कार्यालयमा एक साथ उक्त प्रेस विज्ञप्त पेस गरिएको हो । सो अवसरमा प्रेस सेन्टर निवर्तमान केन्द्रीय सदस्य कमला के.सी, जिल्ला सचिव प्रमिला रेग्मी र कोक्षाध्यक्ष सुनिता सुनारलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ बैशाख २९, सोमबार १३:०३ गते
हजुरको प्रतिक्रिया