काठमाडौँ– वर्तमान व्यवस्था विरोधी राजावादीहरूको समूह ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को बैठकले आन्दोलनको स्वरुपाको घोषणा गरेको छ । संयोजक नवराज सुवेदीको अध्यक्षतामा सो समिति आबद्ध राजनीतिक दल, संघसंस्था तथा अभियानकर्मीहरूको संयुक्त बैठक यहाँ बसेको हो । तर त्यसमा एक्लैले राजा ल्याउने घोषणा गर्दै अभियान सञ्चालन गरेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का नायक मानिने दुर्गा प्रसाईलाई भने सम्झिएको देखिएन ।
त्यसो त सो बैठकमा केही राजावादी नेताहरूको अगाडि निकै महत्त्व दिएर नेमप्लेट राखिएको थियो । जुन नेमप्लेटमा नेता जनाउने गरी राप्रपा, राप्रपा नेपाल, नेपाली कांग्रेस बीपी, विश्व हिन्दु महासंघ र संयुक्त जनआन्दोलन समिति लेखिएको यियो । उक्त बैठकमा ३५ भन्दा बढी राजावादी संघ सङ्गठनका प्रतिनिधिले भाग लिएकोमा केही नेताहरूलाई मात्रै महत्त्व दिएर नेमप्लेट लगाइएको भनेर सहभागी केही राजावादीले नै असन्तुष्टि व्यक्त गरे ।
दुर्गा प्रसाईंका प्रतिनिधिले बैठकको सुरुमै धेरै गुनासो पोखेका थिए । हाल प्रसाईं तीनकुने घटनामा हिंसा भड्काएको आरोपमा जिल्ला प्रहरी परिसरको हिरासतमा रहेपछि उनका दुई जना प्रतिनिधि बैठकमा भाग लिन गएका थिए ।
प्रसाईंका प्रतिनिधिहरूले आन्दोलनमा केही भीड ल्याउन सक्ने हैसियत भएको आफ्नो समूहलाई बैठकमा महत्त्व नदिएको र नेमप्लेट समेत नराखी अपमान गर्ने काम भएको गुनासो रहेको बताए ।
सोही असन्तुष्टि सुनिएपछि बैठकले सुवेदीले सबैलाई खुसी पार्ने प्रयास गरे ।
त्यसो त पछिल्ला दिनमा मेडिकल व्यवसायी समेत रहेका राजावादीहरूको प्राथमिकतामा दुर्गा प्रसाईं परेको देखिँदैन । राप्रपा नेपालको आयोजनामा केही दिन पहिले राजधानीमा भएको कार्यक्रममा समेत नेताहरूले सम्बोधनका क्रममा उनलाई खासै वास्ता गरेका थिएनन् ।
भागेर भारत पुगेका दुर्गा प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान :
यसैबीच, तीनकुनेको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंको बयान लिने काम अन्तिम चरणमा पुगेको प्रहरी भनाइ छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईंको बयान लिन सुरु गरिएको हो ।
पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएकोमा त्यसपछि पनि पटक पटक म्याद थप्ने काम भएको छ ।
प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा बयान लिइएको थियो । सार्वजनिक भएको भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै अपशब्द समेत बोल्दै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ । त्यस दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका छन् ।
प्रसाईंलाई पहिलोपटक राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिइएको थियो । अन्य कसुर पछि पछिका दिनमा थपिँदै गएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
झापाको बिर्तामोड नगरपालिका– ५ का ५४ वर्षीय प्रसाईं विवादास्पद व्यक्ति मानिन्छन् । यो समाचार तयार गर्दासम्म गत चैत १५ गतेको घटनामा पक्राउ पर्नेको ८४ संख्या पुगेको छ । राप्रपा महामन्त्री तथा सांसद धवल शमशेर राणासहित भाटभटेनीका फलफुल टिप्ने केहीलाई भनेर हिरासत मुक्त गरेर अनुसन्धान अघि बढाइएको छ । यद्यपी उनीहरू विरुद्ध पनि मुद्दा चलाउने तयारी छ ।
बैंकिङ कसुर मुद्दामा तीन दिनसम्म बयान :
पछिल्ला दिनमा बैंकिङ कसुर मुद्दामा दुर्गा प्रसाईंसँग तीन दिनसम्म बयान तीन दिनसम्म लिने काम भएको वैशाख २८ गते बताइएको हो ।
एउटा कामको लागि बैंकबाट ऋण लिएर अर्कै ठाउँमा खर्च गरेपछि प्रसाईंविरूद्ध नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई गत माघ २३ गते पत्राचार गरेको थियो । त्यसयता सिआइबीले प्रसाईंमाथि बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको हो ।
उनको बयान गराउने काम लगभग सकिएको सिआइबीका प्रमुख एवम् एआइजी चन्द्र कुँवेर खापुङले बताउनु भएको छ । उहाँका अनुसार बैंकिङ कसुरको मुद्दामा अनुसन्धान गर्न भनेर प्रसाईंलाई थप हिरासतमा राख्दैनौं, सँगसँगै बुझाउँछौं । उहाँले भन्नुभयो, ‘अनुसन्धानको क्रममै रहेको भन्दै बयान खुलाउन मिल्दैन ।’
प्रसाईंले एउटा बैंकबाट लिएको ऋणको दुरूपयोग गरी अर्कै बैंकमा प्रयोग गरेको स्वीकारेको स्रोतको दावी छ ।
अनुसन्धानको क्रममा सिआइबीले अनुसन्धान गर्दा प्रसाईंले ९ वटा बैंक तथा वित्तीय संस्थाहरूबाट विभिन्न मितिमा ऋण लिएको खुलेको हो ।
प्रसाइँले गत असोज मसान्तसम्म सात अर्ब २५ करोड ८७ लाख रुपैयाँ ऋण लिएको खुलेको छ । त्यसमध्येबाट २७ करोड भन्दा बढी रकम भने राउण्ड ट्रिपिङ गरेको अर्थात गलत कारोबार देखाएको खुलेको हो ।
विगत चार वर्षदेखि बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिलाई प्रवाह भएको कर्जाको भुक्तानी गर्ने भाखा नाघेर कर्जाको बक्यौता साँवा–व्याज भुक्तानी नियमित नभएको पनि प्रहरीको अनुसन्धानमा देखिएको उल्लेख छ ।
अनुसन्धानबाट तत्कालीन एनसिसी बैंक (हाल कुमारी बैंक) बाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा १२ करोड ५० लाख रुपैयाँ प्रवाह भएको देखिएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेडबाट होटल एट्रियम प्रालिको नाममा ५ करोड र गुडविल फाइनान्स लिमिटेडबाट युए मेडिको सप्लाइज एन्ड इक्युपमेन्ट प्रालिको नाममा १० करोडको ऋण प्रवाह भएको अनुसन्धानबाट खुलेको हो ।
प्रसाइँ विरुद्ध ऋणको दुरूपयोग गरेको भन्दै अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान गरी कारबाही गर्न भन्दै गत माघ २३ गते सिआइबीमा पत्राचार गरेको थियो ।
बैंकिङ कसुर अनुसार उनीविरूद्ध जति बिगो रकम कायम हुन्छ त्यही अनुसार कैद सजाय हुने व्यवस्था छ । उनलाई तोकिएको बिगो जफत गर्ने, त्यस अनुसारकै जरिवाना र कैद हुने व्यवस्था ऐनमा उल्लेख छ ।
शंकास्पद कारोबार हुन सक्ने आशंका :
यसैबीच, विभिन्न देशबाट प्रसाईं र उनका आफन्त/नातेदारका खातामा सन् २०२१ यता साढे १० करोड रुपैयाँबराबरको विदेशी मुद्रा आएको भन्दै राष्ट्र बैंकले यो रकम शंकास्पद कारोबार हुन सक्ने आशंकासहित अनुसन्धान गर्न पनि सीआईबीमा पत्राचार गरिसकेको छ । त्यसो त, सिआइबीले प्रसाईंसँग कति बिगो रकम कायम गर्छ भन्ने खुलिसकेको छैन ।
यदी बिगो रकम एक अर्बभन्दा बढी जतिसुकै रुपैयाँ भए पनि १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गरी सिआइबीले मुद्दा दायर गर्न सक्ने प्रावधान ऐनमा छ । ५० करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भएमा ८ वर्षदेखि १० वर्षसम्म कैद माग गर्न सक्ने व्यवस्था उल्लेख छ ।
१० करोड रुपैयाँभन्दा बढी ५० करोड रुपैयाँसम्म बिगो भएमा ६ वर्षदेखि ८ वर्षसम्म कैद माग गरी सिआइबीले मुद्दा लैजानेछ ।
ऋण नतिर्न उक्साउने दुर्गा प्रसाईंले नै बैंकलाई ७ अर्ब तिर्न बाँकी रहेको र २ वर्षदेखि नियमित छैन किस्ता रोकिएको सीआईबीले सुरु ग¥यो अनुसन्धान अधिकारीहरू बताउँछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भक्तपुरस्थित निवासमा २०७४ फागुन ६ गते मार्सी चामलको खाना खुवाएपछि दुर्गा प्रसाईं राष्ट्रिय राजनीतिको शिखरमा आएका हुन् ।
उनै प्रसाईं अहिले ओली र प्रचण्डका लागि मात्रै होइन, अहिलेको व्यवस्थाकै लागि चुनौती बनिरहेका छन् ।
स्मरणीय छ, विगत २/३ वर्षदेखि २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गराउनुपर्ने र अन्य ऋणकोसमेत ब्याज मिनाहा हुनुपर्ने जस्ता गैरव्यवसायिक माग राखेर अभियान चलाएका प्रसाईं पछिल्लो समय राजतन्त्र र हिन्दू राज्यको अभियान चलाउँदै राजतन्त्र फर्काउन अभियानको जनकमाण्डर समेत घोषित भएका छन् ।
प्रकाशित मिति २०८२ बैशाख २९, सोमबार १५:०२ गते