काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ । राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति वैशाख ३० गते दिइएको हो ।
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आफूहरूलाई अनुमति दिएको प्रहरीले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका ‘संयुक्त जनआन्दोलन समिति’ का सदस्य सचिव रवीन्द्र मिश्र र समितिले तोकेका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको अराजक प्रदर्शनमा एक पत्रकार सहति दुई जनाले ज्यान गुमाएका थिए । सोही अराजक गतिविधि गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
मिश्रले आफूलाई हिरासतबाहिरै राखेर छानबिन गर्नुपर्नेमा प्रश्न उठाएका छन् । न्यायालयमा आफ्नो म्याद थपको प्रक्रियामा अन्याय भएको बताउँदै मिश्रले राजनीतिक प्रतिशोधको आशंकामा आफूलाई न्यायालयबाट पनि न्याय नपाएको बताएका हुन् ।
मिश्रले जिल्ला अदालतमा बयानका क्रममा म्याद थप्नका लागि उपस्थित गराउने कार्य दुःख दिने गरी भइरहेको गुनासो राखे । मिश्रले अदालतमा भने, ‘श्रीमान् एकदमै अन्याय भयो । न्यायलय प्रति पूर्वन्यायाधीशहरूले प्रश्न उठाइरहनुभएको छ, आज छुट्नु प¥यो भन्ने मेरो माग हो श्रीमान् ।’
मिश्रले भागेर कहिं नजाने प्रतिबद्धता व्यक्त गर्दै बाहिर बसेर छानबिनमा सघाउने बताएका थिए । ‘न्यायालयबाट पनि न्याय नपाए कहाँ जाने ?’ मिश्रले न्यायाधीशसँग प्रतिप्रश्न गरेका थिए । राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई हाजिर जमानीमा छोड्दा समेत आफूलाई हिरासतमा राखिएकोप्रति उनको असन्तुष्ट थियो ।
मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आज बैशाख ३० गते अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।
गत चैत १५ गते पक्राउ परेका मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन् । जनकमाण्डर दुर्गा प्रसाईं भागेर भारतको आसाम पुगेको हुँद चैत २९ गते पक्राउ परेका थिए ।
रवीन्द्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट :
यसैबीच, यस्तो अवस्थामा रवीन्द्र मिश्रको तर्फबाट श्रीमती सारिका कार्कीले आजै सर्वोच्चमा रवीन्द्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दिएको जानकारीमा आएको छ ।
रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
उता प्रहरीले मिश्रमाथि राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान गरिरहेको छ ।
को–को छन्, हिरासतमा ?
१. रविन्द्र मिश्र, ललितपुर महानगर– १८ (५९ वर्ष)
२. पुस्कर खतिवडा, ललितपुर (२९ वर्ष)
३. गोपाल मल्ल ठकुरी, रुपन्देही (३८ वर्ष)
४. मनिन्द्रराज भण्डारी, लमजुङ (५५ वर्ष)
५. गोपिकृष्ण खड्का, झापा (४२ वर्ष)
६. सन्तोष चौधरी, सुनसरी (४२ वर्ष)
७. राम कुमार धिमाल, झापा (५१ वर्ष)
८. पशुपति खड्का, काठमाडौं (४१ वर्ष)
९. हरिहर चौलागाईं, जुम्ला (४२ वर्ष)
१०. विष्णु पराजुली, तनहुँ (४१ वर्ष)
११. देबी प्रसाद संग्रौला, झापा (४३ वर्ष)
१२. दान बहादुर न्यौपाने, झापा (४३ वर्ष)
१३. भानुभक्त पौडेल, झापा (३९ वर्ष)
१४. उमेश तामाङ, झापा (३४ वर्ष)
१५. तारानाथ बोहरा, झापा (४६ वर्ष)
१६. अनिल कुमारा थापा, सुनसरी (५४ वर्ष)
१७. विष्णुजंग बस्नेत, ललितपुर (४० वर्ष)
१८. कुमार बस्नेत, काठमाडौं (५९ वर्ष)
१९. दुर्गा प्रसाद प्रसाईं, झापा (५४ वर्ष)
२०. दिपक खड्का, झापा (५१ वर्ष)
२१. सन्तोष सिलवाल ‘राजावादी’, धादिङ (३४ वर्ष)
२२. ओम प्रकाश लुईंटेल, झापा (४८ वर्ष)
२३. तेजेन्द्र रायमाझी, गुल्मी (४० वर्ष)
२४. प्रेम थापा मगर, रुपन्देही (४७ वर्ष)
२५. मिनोज थापा, काभ्रेपलाञ्चोक (४० वर्ष) ।
प्रकाशित मिति २०८२ बैशाख ३०, मंगलवार १९:३५ गते