लमजुङमा आयोजित अनुसन्धानमा शिक्षण सिकाई दुई दिने राष्ट्रिय सम्मेलन नयाँ आशा जागृत गर्दै समापन

लमजुङमा आयोजित अनुसन्धानमा शिक्षण सिकाई दुई दिने राष्ट्रिय सम्मेलन नयाँ आशा जागृत गर्दै समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ १ गते बिहिबार ०६:१५

सम्मेलनमा जिल्ला बाहिरबाट पाँच विश्वविद्यालय अन्तरगत २५ वटा क्याम्पसका ५० जना र जिल्ला भित्रबाट ३० जनाले भाग लिने अनुमान गरिएको आयोजकले जानकारी दिए । अनुसन्धानपत्रहरू दराजमा थन्क्याएर राख्न नहुने सम्मेलनको निष्कर्ष थियो ।

बौद्धिक व्यक्तित्वहरूको समघट : जिल्लाको शैक्षिक उन्नयनमा कोशेढुंगा हुने विश्वास ।

बेसीशहर– लमजुङमा जिल्ला सदमुकाममा सञ्चालन गरिएको दुई दिने अनुसन्धानबाट शिक्षामा सिकाई राष्ट्रिय सम्मेलन जिल्लाको शैक्षिक क्षेत्रमा नयाँ आशा जागृत गर्दै समापन भएको छ । उक्त शैक्षिक सम्मेलन बैशाख २८ गते समापन भएको हो ।
जिल्लामा क्यूएए मान्यता प्राप्त यहाँ स्थित एकमात्र मर्स्याङदी बहुमुखी क्याम्पसको आयोजनामा सो सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनको त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. केशरजंग बरालले उदघाटन गर्नु भएको थियो । उहाँले आफ्नो प्रस्तुति सहितको मन्तव्यमा उच्च शिक्षा बिग्रनुको कारक राजनीतिक दलको हस्तक्षेप भएको बताउनु भयो । उहाँले राजनीतिक प्रभाव र भोटका लागि भन्दा आवश्यकताका आधारमा विश्वविद्यालयको खोल्न स्विकृति दिनु पर्नेमा जोडदिदै नेपालमा यतिबेला १२ वटा विश्वविद्यालयले काम गरिरहेका छन्, दुई वटा निस्कृय छन्, तीनवटा पाइपलाइनमा छन् । मधेश प्रदेशमा दुईवटा समेत छवटा प्रदेशस्तरका विश्वविद्यालय छन्, कर्णाली र सुदुरपश्चिम पनि खोल्ने तयारीमा छ । तर विद्यार्थी जता गए पनि तिनै त हुन् नि ! आजका दिनमा पनि विद्यार्थीको भार भने ७८ प्रतिशत त्रिविले बेहोर गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
झण्डै एक घण्टा लामो प्रस्तुति सहितको मन्तव्यमा प्रा.डा. बरालले आफ्नो ४२ वर्षको शिक्षण अनुभव समेत समेटेको बताउनु भएको थियो । सोही सेरोफेरोमा दुई दिनको सम्मेलन उहाँकै सम्बोधनमा केन्द्रीत रहेर छ वटा मुख्य र ३२ वटा अन्य अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत भएका थिए ।
कार्यक्रममा प्रा डा शिक्षा विद् एवम् लेखक प्रदिपचन्द्र गौतमले आफ्नो अनुभव सहितको प्रस्तुतिबाट सहभागीहरूलाई उदाहरण सहित अनुसन्धानमा उत्प्रेरित गराउनु भएको थियो । उहाँले शिक्षण संस्थाहरू सरकारी, संस्थागत तथा सामुदायिकमा नेतृत्वको विकास कस्तो हुनु पर्छ ? भन्ने कार्यपत्र प्रस्तुत गर्नु भएका थियो । त्यस्तै, डा नवराज न्यौपानेले उच्च शिक्षामा सूचना र प्रविधिका विषयमा, डा बसन्त कँडेलले शिक्षा नीति बारेमा, उपप्राध्यापक जंगबहादुर हमालले बित्तीय व्यवस्थापन बारे कार्यपत्र प्रस्तुत गरेको आयोजकको भनाइ छ ।
त्यस्तै, महेन्द्र क्याम्पस ताहाचलका सहप्राध्यापक माधवी घिमिरेले अनुसन्धानकर्ताले पाएको अवसरका बारेमा, आयोजक क्याम्पसका सहायक प्रमुख पदम राउतले अंग्रेजी भाषा शिक्षण, उपप्राध्यापक जनकराज बस्नेतद्वारा अंग्रेजी भाषा शिक्षकहरू पेशागत पहिचान निर्माण शीर्षकमा अनुसन्धान पत्र तथा सोही क्याम्पसका छात्रा निर्मला बरालले लमजुङको ग्रामीण पर्यटकका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै, उच्च शिक्षासँग सम्बन्धित अनुसन्धान र सिकाईका बारेमा अनुदानज आयोगका नारायाणप्रसाद भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभयो । विज्ञहरूसँगको छलफल कार्यक्रम निकै रोचक र उपलब्धिपूर्ण रह्यो भन्ने लाग्छ सो क्याम्पसका शिक्षा संकायका प्रमुख एवम् कार्यक्रम सञ्चालक विनोद न्यौपानेले बताउनु भयो । उहाँका अनुसार डा. नानीबाबु घिमिरे सिन्धुली, डा. बसन्त कडेल आदिकवि भानुभक्त क्याम्पस तनहुँ, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक भूमिराज पण्डित, शान्ति मावि लमजुङका प्रअ उत्तम बसेल र मसहितको सहभागितामा शिक्षणमा भाषाको नीति, अभ्यास र परिणाम विषयक छलफल भएको थियो । उहाँले भन्नुभयो, ‘विद्यार्थी अभिभावकमा अंग्रेजी भाषाप्रतिको मोहले सिकाई, पढाउदा सिर्जित चुनौति र त्यसले कालान्तरमा नेपाली भाषा, धर्म संस्कार, संस्कृतिमा पार्ने असरका बारेमा छलफल भयो ।’
निष्कर्षमा अनुसन्धानले मातृभाषामा बालबालिकाहरू पोख्न हुँदा दोस्रो भाषा सिक्न सहज हुने देखाएको हुँदा मातृभाषा सिक्न सिकाउनमा कञ्जुस्याइँ गर्नु नपर्ने निष्कर्ष निकालिएको जानकारी न्यौपानेले दिनुभयो । कार्यक्रममा डा. बुद्धराज खनियाले शिक्षा शास्त्रमा राम्रा विद्यार्थी ल्याउनु पर्नेमा जोड दिनु हुँदै त्यसो हुन सकेमा भोलिका दिनको उत्पादन पनि राम्रो हुन सक्ने भन्दै आफ्नो भनाइको पुष्टि गर्नुभयो । त्यसैगरी, पोखरा विश्वविद्यालयका पूर्वराजिष्टार दीपकबहादु भण्डारीले उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेश जाने क्रमले युवाशक्तिमात्र पलायन भएको नभई ठूलो धनराशि समेत विदेशिएको हुँदा यो प्रवृत्तिलाई तत्कालै रोक्नका लागि उचित कदम चाल्नु पर्नेमा जोड दिनुभएको थियो ।
आयोजक क्याम्पसका प्रमुख हरिबाबु थापाले अनुसन्धानका लागि वातावरण बनाएको र त्यसलाई थप विकसित गर्दै गुणस्तरीय र उपलब्धिपूर्ण बनाउन क्याम्पस प्रयासरत छ र रहिरहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँका अनुसार यो सम्मलनबाट यस क्याम्पसका शिक्षक कर्मचारीले अन्य क्याम्पसका उपलब्धि सुनेर उहाँहरूका लागि पनि थप सिकाई होस् भन्ने उद्देश्य राखिएको थियो, सम्मलेन आशानुरुप नै सफल भएको छ ।
अनुसन्धान महत्वपूर्ण छ भन्ने यस जिल्लाका सहभागीले राम्रोसँग बुझ्ने मौका पाएको उपप्राध्यापक जनकराज बस्नेतले बताउनु भयो । उहाँका अनुसार विशेष अतिथि प्रा.डा. दीपकबहादुर भण्डारीले मानव संसाधन विकास र अनुसन्धानको अन्तरसम्बन्धबारे चर्चा गर्नुभयो । ‘समयअनुरुप शिक्षामा परिमार्जन र गुणस्तर वृद्धिको आवश्यक’ रहेको उहाँको तर्क थियो ।
पूर्व क्यूएए संयोजक एवम् पिएचडी होल्डर समेत रहनु भएका नारायण भण्डारीले ‘समय अनुसार उच्च शिक्षा पद्धति विकास र का गुणस्तरका वृद्धिका लागी क्याम्पसले दिगो नितिका साथ अगाडि बढनु जरुरी छ’ भन्ने उल्लेख गर्नुभयो ।
दुई दिने सो आवास सहितको बसाईमा नेपालमा भएका विभिन्न विश्व विद्यालयका अनुसन्धानकर्ता एवम् शिक्षा क्षेत्रका विज्ञहरूबाट प्राप्त कार्यपत्र प्रस्तुतिका साथमा प्यानल सेसन मार्फत प्रस्तुतीकरण गरियो । सम्मेलनमा तीनवटा कि नोटमा प्राध्यापक डा. केसरजङ बराल, प्राध्यापक डा. दिपकबहादुर भण्डारी, प्राध्यापक डा. प्रदीपचन्द्र गौतमको प्रस्तुति रह्यो ।
यसैगरी, चार प्लेनरीहरूमा सहप्राध्यापक डा नवराज नेउपाने, उपप्रा. डा बसन्त कंडेल नारायण भण्डारीको प्रस्तुतिहरूका साथ ३३ अनुसन्धान पत्रहरू प्रस्तुति गरिएका थिए । जुन बहुबिधायक अनुसन्धान : सामाजिक बिज्ञान अभिनवन नेपालको उच्च शिक्षामा अनुसन्धानद्वारा ज्ञानको प्रवर्द्धन, भाषिक अनुसन्धान र योजनामा केन्द्रित थिए । जस मध्ये मर्स्याङदी बहुमुखी क्याम्पस उपप्राध्यापक जनकराज बस्नेतद्वारा English Language Teachers Professional Identity Construct/ अंग्रेजी भाषा शिक्षकहरू पेशागत पहिचान निर्माण शीर्षकमा अनुसन्धान पत्र, उपप्राध्यापक पदमबहादुर राउतबाट The Influence of Peer Networks on Investment Choices among Finance Students Investment Choices तथा सहायक प्राध्यापक बिनोद नेउपानेद्वारा Plenary– ÚTeach in English or RetireÚM Basic–level TeachersÚ Experiencesof Implementing EMI in Nepali Community School प्रस्तुति रह्यो ।
सम्मेलनमा जिल्ला बाहिरबाट पाँच विश्वविद्यालय अन्तरगत २५ वटा क्याम्पसका ५० जना र जिल्ला भित्रबाट ३० जनाले भाग लिने अनुमान गरिएको आयोजकले जानकारी दिए । अनुसन्धानपत्रहरू दराजमा थन्क्याएर राख्न नहुने सम्मेलनको निष्कर्ष थियो ।
सो सम्मेलन आयोजक मस्र्याङ्दी बहुमुखी क्याम्पसका अध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षतामा भएको थियो ।
(उक्त सम्मेलनको उदघाटन सत्र सहित पहिलो दिन सम्पन्न कार्यक्रमको समाचार यसअघि प्रकाशित भइसकेको छ । – सं.)

प्रकाशित मिति २०८२ जेष्ठ १, बिहीबार ०६:१५ गते
हजुरको प्रतिक्रिया