बेसीशहर– लमजुङमा एक ५७ वर्षीय बुवाको हत्या आशंकामा २३ वर्षीय छोरा पक्राउ परेका छन् । लमजुङको मर्स्याङदी गाउँपालिका– ४ कालाघिरिङ गाउँका ५७ वर्षीय नरबहादुर गुरुङको हत्या गरेको अभियोगमा मृतकका आफ्नै छोरा पक्राउ परेको प्रहरीले जनाएको छ ।
मृतक नरबहादुर गुरुङ सोही वडाको शिलढुंगा स्थित आफ्नै गाई गोठमा बस्दै आएका थिए । बुद्धपूर्णिमाको दिनमा सबै परिवार जम्मा भई गाई गोठमा पुजा गरी, खाई पिइ गरेर साँझमा परिवारका अन्य सदस्यहरू घरमा फर्केको तर जेठो छोरा लुबहादुर बाबुसँगै बस्छु भनेर गोठमा बसेका रहेछन् । रातको समयमा बाबुछोराका बीचमा घरायसी विषयमा झगडा भएछ, लुबहादुरले बाबुलाई लाठी र बञ्चरो प्रहार गर्दा उनको मृत्यु हुन गएछ । त्यसपछि लुबहादुरले बाबुलाई खाटमा सुताई भोलिपल्ट विहान ‘बाबु गोेठ नजिक काल्लाबाट लडेर मरे, गाउँलेहरू आउनु प¥यो ।’ भन्दै आफैले हल्लाखल्ला गरेछन् ।
गाउँलेले गएर हेर्दा नरबहादुरको नाकमा चोट लागेको र रगत बगेको, यौटा आँखा नै झिकिएको जस्तो, अनुहार, टाउको, आँखा नजिक पनि काटिएको घाउँ र त्यसबाट रगत बगेको, पेटमा समेत निल डाम देखेपछि ‘लडेर मरेको मान्छे पनि यस्तो हुन्छ त ?’ भन्ने आशंका भइ गाउँलेहरूले प्रहरी खबर गरेछन् ।
गुरुङको टाउको, आँखासहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको देखिएको भन्ने सूचना प्राप्त भएपछि तत्कालै प्रहरीले घटनास्थलमा टोली खटाएको थियो । प्रारम्भिक अनुसन्धानमा घटनास्थल र शवको अवस्थाले अस्वाभाविक मृत्यु भएको शंकास्पद अवस्था देखेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीका अनुसार घट्नास्थलमा पुगेर निरीक्षण गर्दा रगतजस्तो देखिने रातो पदार्थसमेत छरिएर रहेको, साथमा चिर्पट दाउरा, काठको लौरो र बञ्चरो समेत फेला परी सो घट्ना कर्तव्यज्यानबाट भएको आशंका गरी थप सोधखोज गर्ने काम भएको हो ।
सो क्रममा मृतकका जेठा छोरा २३ वर्षीय लुबहादुर गुरुङ सयअघि पनि गुण्डागर्दी गर्ने स्वभावको भएको खुल्न आएको प्रहरी भनाइ छ । त्यसपछि उनलाई सोधखोज गर्दा बाबुसँग राती झगडा भएको र सोही क्रममा आफूले बाबुलाई लाठी, बञ्चरोसहितका हतियारले प्रहार गर्दा उनको मृत्यु हुन गएको बयान दिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार घट्नास्थलमा फेला परेका सबै वस्तु प्रहरीले बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा पुजाको दिनमा दिउँसैदेखि मदिरा सेवन गरेर मात्तिएको अवस्थामा मृतकका जेठा छोरा लुबहादुर गुरुङले राति बुवा र आफूबीच घरायसी विषयमा भनाभन भएको र आफूले लाठी तथा बञ्चरो प्रहार गर्दा बुवाको निधन भएको बयान दिएका छन् । बयान र प्रमाणको आधारमा उनलाई नियन्त्रणमा लिई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताउनु भयो । उहाँका अनुसार अनुसार पक्राउ परेका लुबहादुर गुरुङविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान ज्यानसम्बन्धी कसूर मुद्धा दर्ता गरिएको छ ।
लुबहादुर बिरुद्ध अनुसन्धान गर्न लमजुङ जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी जानकारी दिनुभयो । उहाँका अनुसार सो घट्ना बारेमा अदालतबाट बैशाख ३१ गते सात दिनको अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
प्रकाशित मिति २०८२ जेष्ठ १, बिहीबार ०९:५८ गते