काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले हाजिरी जमानतमा छाड्न आदेश दिएको छ । मिश्रविरुद्धको आरोपसँग सम्बन्धित अधिकांश प्रमाण संकलन भइसकेको तर प्रमाण संकलनका लागि भन्दै निरन्तर थुनामा राखेको देखिएको भन्दै सर्वोच्च अदालतले ‘बन्दीप्रत्यक्षीकरण’को आदेश जेठ २ गते जारी गरेको हो ।
मिश्र विरूद्धका प्रमाण संकलन भइसकेको भन्दै न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले हाजिर जमानीमा छाड्न आदेश दिएको हो । रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले काठमाडौं जिल्ला अदालतको वैशाख १० गतेको आदेश उल्लेख गरेको छ । मिश्र प्रहरी कष्टडीमा रहेको आज ५० औं दिन हो ।
थप प्रमाण संकलन गर्नुपर्ने भए संकलन गर्न नसकिने पनि अवस्था नरहेको सर्वोच्चले उल्लेख गरेको छ । आदेशमा उल्लेख गरिएको छ, ‘थप प्रमाण संकलन गर्नुपर्ने भए सो बमोजिम संकलन गर्न पनि नसकिने अवस्था नरहेको तर उनलाई हिरासतमै राख्नुपर्ने सम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने गरी उनका कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनाबाट मुक्त गरिदिनु भनी विपक्षीहरूका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ ।’
उक्त संक्षिप्त आदेशमा भनिएको छ, ‘वैशाख १० गते हिरासतमा राख्न अनुमति दिँदा नै उनीबाट संकलन गर्नुपर्न प्रमाणहरू संकलन भइसकेको अवस्था देखाई हाजिर जमानीमा छोड्न ध्यानाकर्षण गराइएको पाइन्छ, हालसम्मको अनुसन्धान तहकीकातको अवस्थालाई हेर्दा निज निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण संकलन कार्य सम्पन्न भइसकेको देखिएको छ ।’
‘अब एक घण्टा पनि गैरकानुनी हिरासतमा बस्दिनँ भनेर सर्वोच्चको ढोका ढकढक्याएँ’ उहाँले भन्नुभयो, आजसम्म नाक ठाडो पारेर यो देशको कानुन र नियम पालन गरेर बसेको नागरिक हुँ । आज पनि कानुन र नियम मान्दछु ।
यो देशमा जनता र ईश्वरको नाममा कसम खानेहरूले धेरै फट्याईं गरे र यो देशलाई धेरै हानी पु¥याए । श्रीमान् मेरो यो मनोगत टिप्पणी होइन । आज म मेरो ८२ वर्षकी डिमेन्सिया भएकी, अरुले डाइपर फेरिदिनुपर्ने, अरुले खुवाइदिनुपर्ने, अरुले सुताइदिनुपर्ने गम्भीर अवस्थाकी विरामी आमाको नाममा कसम खाएर भन्छु, मैले यो देशमा राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अहिले फेरि थपिएको अपराधिक उपद्रवजन्य कुनै पनि काम गरेको छैन । छ भने प्रमाणित गरेर देखाउनुस् ।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा हुनुहुन्थ्यो । मिश्रलाई गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोेलनका क्रममा भएको तोडफोड, आगजनीसहितमा प्रदर्शनकारीलाई उक्साएको आरोपमा सोही दिन पक्राउ परेका मिश्र अदालतको आदेशमा म्याद थप हुँदै थुनामा राखिएको थियो ।
थुनाविरुद्ध ४५औँ दिन बैशाख ३० गते उहाँकी श्रीमती सारिका कार्कीले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गर्नु भएको थियो ।
थुनामुक्त भएका मिश्रले भन्नुभयो, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन ।’ म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रुपमा राजसंस्था पुनस्र्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन उहाँको थप कथन थियो ।
मिश्रले शान्तिपूर्ण आन्दोलन र समझदारीको समर्थन गर्दै आफू हाजिर जमानतमा मात्र छुटेकाले खुशी नभएको बताउनु भएको छ ।
गत १५ चैतमा भएको राजावादी आन्दोलनमा २ जनाको मृत्यु, २० जना प्रहरीको गोली लागेर घाइते, सार्वजनिक र निजी सम्पत्ति तोडफोड भएपछि प्रहरीले सोही दिन बेलुकी उनीसहित सांसद् धवलशमशेर राणालाई समेत पक्राउ गरेको थियो ।
मिश्रले थुनामा परेदेखि नै आफूमाथि राज्यस्तरबाट प्रतिशोध साधिएको भन्दै अनुसन्धान गर्ने प्रहरीको निष्पक्षतामाथि प्रश्न उठाउँदै आउनु भएको थियो ।
प्रकाशित मिति २०८२ जेष्ठ २, शुक्रबार २०:०३ गते