बेसीशहर– नेपाली काँग्रेसको भातृ सगठन तरुण दल जिल्ला समिति लमजुङको पाँचौँ जिल्ला अधिवेशन स्थगित भएको छ । एक पक्षले जोरजबरजस्ती गर्दै अर्को पक्षमाथि हतियार समेत प्रहार गरेपछि उत्पन्न परिस्थितिको विश्लेषण गर्दै जेठ ३ गते साँझ अबेर अधिवेशन स्थगित गर्ने निर्णय भएको हो ।
नेपाली काँग्रेसको जिल्ला कार्यालयका दुवै पक्षका नेताहरूको छलफलबाट आजको अधिवेशन स्थगित गर्न उपयुक्त हुने निष्कर्ष आएपछि स्थागित गरिएको निर्वाचन समितिका संयोजक अधिवक्ता विजय प्रकाश अधिकारीले बताउनु भयो । उहाँका अनुसार आजको मतदाता नियमावली केन्द्रमा पठाउने र केन्द्रले निर्णय गर्ने भन्ने सहमति भएको छ । उहाँले भन्नुभयो, ‘८८ पदमा निर्वाचन हुनु पर्ने हो(जिल्ला समिति, प्रदेश, केन्द्रीय प्रतिनिधि आदिसमेत), केही पद रिक्त पनि छन् । उम्मेदवारी एकलौटी ढंगबाट आएको बुझियो, उम्मेदवारी दर्ता गर्ने समय छदै घट्नाले अर्को रुप लिएछ ।’
म त भित्र थिएँ, प्रहरीले भित्रबाट सबैलाई बाहिर निकाल्यो, त्यही क्रममा पुलिसले भाटा हानेछ क्यारे भनेको छ आफूहरू बीचमा पो हानेका रहेछन् नसोचेको घट्ना भयो अधिवक्ता अधिकारीले उल्लेख गर्नु भयो । उहाँका अनुसार तत्कालका लागि जेठ १० गतेसम्मका लागि स्थगित गर्ने र त्यो बेलासम्म केन्द्रले निर्णय गर्ने भन्ने भएको छ ।
अधिकारीले थप जानकारी दिनुभयो, ‘जिल्लामा कुल प्रतिनिधि अर्थात मतदाता संख्या ३५४ जना रहेकाथिए ।’
संस्थापन पक्षले एकलौटी गर्न खोजेपछि अर्को पक्षले बहिस्कार गर्ने तयारी गरिरहेको बेलामा उनीहरू उपर हतियार प्रहार भएको बताइएको छ । सो घट्नामा चार जना घाइतेभएका मध्ये दुई जनालाई रिफर गरिएको छ भने दुईजना उपचार पछि डिस्चार्ज भई घर फर्केका छन् ।
प्रकाशित मिति २०८२ जेष्ठ ३, शनिबार २२:४० गते