ठाडोभाका गायिका एवम् समाजसेवी जालुमाया पति वियोगमा

ठाडोभाका गायिका एवम् समाजसेवी जालुमाया पति वियोगमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ६ गते मङ्गलबार ०८:१६

स्व. रनबहादुर गुरुङ भारतीय सेनाको हवल्दार पदबाट २०३६ सालमा निवृत्त हुनु भएको हो भने २०६१ बाट भोटेओडारमा बस्न थाल्नु भएको हो ।

अप्रत्यासित रुपमा निधन हुन भएको उहाँमा केही वर्षदेखि मुटुको समस्या देखिएको थियो र त्यसको औषधि सेवन गर्दै हुनुहुन्थ्यो ।

भोटेओडार(लमजुङ)– ठाडोभाकाका अग्रज गायिका तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको आजीवन सदस्य जालुमाया गुरुङ पति वियोगमा पर्नु भएको छ । उहाँका पति रनबहादुर गुरुङको जेठ ५ गते निधन भएसँगै उहाँ पति वियोगमा पर्नु भएको हो । रनबहादुर गुरुङ ९० वर्षको हुनुहुन्थ्यो ।
जेठ ४ गतेको साँझमा साविकको खाना खाएर सुत्नु भएका उहाँलाई भोलिपल्ट विहान उहाँको कोठामा चिया दिन जाँदा इन्तु त चिन्तुको अवस्थामा पुग्नु भएको रहेछ, उहाँलाई उठाउन खोज्दा चल्नु भएन, शरीर चिसो भइसकेको रहेछ उहाँको परिवारस्रोतले जनाएको छ । यसरी अप्रत्यासित तरिकाले उहाँको निधन भएको, उपचारका लागि केही गर्न नसकेको परिवारको दुःखेसो रहेको छ । त्यसो त उहाँमा केही वर्षदेखि मुटुको समस्या देखिएको थियो र त्यसको औषधि सेवन गर्दै हुनुहुन्थ्यो ।
विसं १९९३ मा दोर्दी गाउँपालिका– ७ को तल्लो दैलुङ गाउँ निवासी रणबहादुर गुरुङ र सिद्धिमायाको कान्छो सुपुत्रका रुपमा जन्मनु भएका उहाँका दुई दिदीबहिनी र दुई दाजु हुनुहुन्थ्यो । जन्मिनु भएका उहाँ भारतीय सैनिकको हवल्दार पदमा २०३६ सालमा निवृत्त हुनु भई पेन्सनमा रहनु भएको हो । स्व. गुरुङको परिवार २०६१ सालमा सुन्दरबजार नगरपालिका– ८ को भोटेओडार स्थित बुद्ध टोलमा बसाई सरेर आएको हो ।
जालुमाया गुरुङ पछिल्लो छ वर्षदेखि ठाडोभाका लोककला प्रतिष्ठानसँग आवद्ध हुनु भई आजीवन सदस्य रहेर विभिन्न कार्यक्रममा सहभागी भई ठाडोभाका गाउँदै आफ्नो प्रतीभा देखउने गर्दै आउनु भएको छ । जालुमाया गायनका अतिरिक्त समाजसेवामा समेत सक्रिय हुनुहुन्छ । उहाँ दोर्दी गाउँपाकिला– ७ स्थित गाउँको जलदेवी आमा समूहको अध्यक्ष तथा भोटेओडारको बुद्ध आमा समूहको पूर्वअध्यक्ष रहनु भएकी उहाँ ऐले सो समूहको सल्लाहकार हुनुहुन्छ ।
उहाँका पति रनबहादुरको निधन भएको खबरसँगै प्रतिष्ठानका अग्रज गायक एवम् कार्यकारी सदस्य अमरध्वज गुरुङको नेतृत्वमा प्रतिष्ठानको एक टोली उहाँको शवयात्रामा सरिक भएको थियो । प्रतिष्ठानका संरक्षक बुद्धमान दुरा ‘धम्पु’ पोखरा हुनुभएको, उपाध्यक्ष सीतादेवी दुरा बिरामी हुनु भएका कारण उपस्थित हुन सक्नु भएन भने अध्यक्ष नवराज पहाडी आफ्नो घरायसी कामका लागि चितवनमा रहनु भएका कारणले शवयात्रा तथा अन्तिम विदाईमा सरिक हुन नसक्नु भएको प्रतिष्ठानका कार्यकारी सदस्य देवराज गुरुङले बताउनु भएको छ । उहाँका अनुसार प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङ, आफूसमेतका कार्यकारी सदस्यहरू मीना गुरुङ, देउकुमारी गुरुङ लगायतको टोली रनबहादुरको अन्तिम संस्कार गर्ने स्थल पैह्रे डाँडा स्थित च्यानडाँडामा समेत पुगेको थियो ।
प्रतिष्ठानको टोलीले पुष्पगुच्छासहित उहाँको अन्तिम विदाई गरेको थियो । प्रतिष्ठानका सदस्य देवराज गुरुङले स्व. नरबहादुरको जीवनीमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा स्वर्गीय आत्माको चिरशान्तिका लागि एक मिनेट मौनधारण समेत गरिएको थियो ।
स्व. गुरुङका तीन छोराहरू जगतबहादुर गुरुङ, बखतबहादुर गुरुङ र रघुनाथ गुरुङले उहाँको पार्थिव शरीरमा दागबत्ती दिएर अन्तिम विदाई गरिएको थियो । उहाँका माहिला छोरा बखतबहादुर गुरुङ गाउँमा हुनुहुन्छ भने
जेठो र कान्छो छोरा वैदेशिक रोजगारमा हुनुहुन्छ । स्व. गुरुङका श्रीमती, तीन छोरा, बुहारीहरू क्रमशः योकुमारी, माया र मधु हुनुहुन्छ भने चार जना नाति, चार जना नातिना छन् ।
प्रतिष्ठानका संरक्षक र अध्यक्षद्वारा शोक व्यक्त :
यसैबीच, ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ र अध्यक्ष नवराज पहाडीले संयुक्त रुपमा एक शोक वक्तव्य प्रकाशन गरी ठाडोभाका गायिका जालुमायालाई पर्न गएको शोकप्रति प्रतिष्ठान परिवारकोतर्फबाट गहिरो समवेदना व्यक्त गर्नु भएको छ । उहाँहरूले जालुमायासहित उहाँको सपरिवार, नातेदार तथा इष्टमित्रमा धैर्यधारण गरी शोकलाई शक्तिमा बदल्ने आशीर्वाद बुद्ध भगवानबाट प्राप्त होस् भन्ने कामना गर्नु भएको छ । साथै, स्व. गुरुङको आत्माको चिरशान्तिको कामना गर्दै ठाडोभाका गायिका जालुमायाको शोक परेकोमा आफूहरूलाई पनि उत्तिकै पीडा भएको धम्पु र पहाडीले उल्लेख गर्नु भएको छ ।
स्व. नरबहादुरको परिवारबाट गुरुङ संस्कार एवम् परम्परा अनुसार भोलि तीन दिनको दिनमा नै चोख्याउने काम गर्ने र अर्घु पछि गर्ने भएको परिवारस्रोतले जनाएको छ ।

प्रकाशित मिति २०८२ जेष्ठ ६, मंगलवार ०८:१६ गते
हजुरको प्रतिक्रिया