भोटेओडार(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपालद्वारा ठाडोभाकाका अग्रज गायिका तथा आजीवन सदस्य जालुमाया गुरुङलाई समवेदना व्यक्त गरिएको छ । जालुमायाका पति हवल्दार रनबहादुर गुरुङ निधन भएको तेस्रो दिन जेठ ७ गते उहाँको निवासमा पुगेर प्रतिष्ठानको टोलीले समवेदना व्यक्त गरेको हो । स्व. रनबहादुर गुरुङ ९० वर्षका हुनुहुन्थ्यो । उहाँको जेठ ५ गते राती निधन भएको हो ।
समवेदना व्यक्त गर्न प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, कोषाध्यक्ष सीता गुरुङ, सहकोषाध्यक्ष भुन्टीमाया तामाङ, अग्रज व्यक्तित्व अमरध्वज गुरुङ, कार्यकारी सदस्य त्रय मीना गुरुङ, देवराज गुरुङ र देउकुमारी गुरुङ, वरिष्ठ आजीवन सदस्य मीनबहादुर तामाङ, गायिका पानमाया गुरुङ तथा अमरध्वज गुरुङकी सहधर्मीणीसहितको टोलीले जालुमाया र उहाँको परिवारजनमा समवेदना व्यक्त गरेको हो ।
यहाँ स्थित समुताँ गुम्बाको सभाकक्षमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पहाडीले स्व. नरबहादुरको जीवनीमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा स्वर्गीय आत्माको चिरशान्तिका लागि एक मिनेट मौनधारण समेत गरिएको थियो । प्रतिष्ठानबाट हस्तान्तरण गरिएको समवेदना पत्र जालुमाया आफै र उहाँका जेठा छोरा जगतबहादुर गुरुङले ग्रहण गर्नु भएको थियो ।
समवेदनापत्र ग्रहण गर्दै जालुमायाले आफ्नो भाग्य गयो, जीवन अँध्यारो भयो, नसोचेको कुरा भोग्नु पर्यो, अब बाच्नुको सार छैन भन्दै दुःखेसो व्यक्त गर्नु भएको थियो । समाजसेवाका क्षेत्रमा समेत क्रियाशील उहाँलाई ‘तपाई बुझ्ने मान्छेले संसार हेरेर चित्त बुझाउनु पर्छ’ लगायतका कुराहरू देखाउँदै चिन्ता महारोग हो त्यो लिन हुन्न भन्ने ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष पहाडी सहितको टोलीबाट आग्रह गर्नु भएको थियो । जालुमायाले तपाईहरू(ठाडोभाकाको टिम) आएर मेरो छाती धेरै ठूलो, चौडा भएको छ, अस्ति पनि आएको थाहा पाए, अति खुशी लागेको छ, कुनै एक दिन म तपाईहरू सबैलाई घरमा बोलाउछु आउनु पर्छ भन्ने आग्रह गर्नु भएको थियो ।
दोर्दी गाउँपालिका– ७ को तल्लो दैलुङ गाउँ निवासी रणबहादुर गुरुङ र सिद्धिमायाको कान्छो सुपुत्रका रुपमा विसं १९९३ मा जन्मनु भएका उहाँका दुई दिदीबहिनी र दुई दाजु हुनुहुन्थ्यो । जन्मिनु भएका उहाँ भारतीय सैनिकको हवल्दार पदमा २०३६ सालमा निवृत्र् हुनु भई पेन्सनमा रहनु भएको हो । स्व. गुरुङको परिवार २०६१ सालमा सुन्दरबजार नगरपालिका– ८ को भोटेओडार स्थित बुद्ध टोलमा बसाई सरेर आएको हो । जालुमाया गुरुङ पछिल्लो छ वर्षदेखि ठाडोभाका लोककला प्रतिष्ठानसँग आवद्ध हुनु भई आजीवन सदस्य रहेर विभिन्न कार्यक्रममा सहभागी भई ठाडोभाका गाउँदै आफ्नो प्रतीभा देखाउने गर्दै आउनु भएको छ । जालुमाया गायनका अतिरिक्त समाजसेवामा समेत सक्रिय हुनुहुन्छ । उहाँ दोर्दी गाउँपाकिला– ७ स्थित गाउँको जलदेवी आमा समूहको अध्यक्ष तथा भोटेओडारको बुद्ध आमा समूहको पूर्वअध्यक्ष रहनु भएकी उहाँ ऐले सो समूहको सल्लाहकार हुनुहुन्छ ।
स्व. गुरुङका तीन छोराहरू जगतबहादुर गुरुङ, बखतबहादुर गुरुङ र रघुनाथ गुरुङ हुनुहुन्छ भने बुहारीहरू क्रमशः योकुमारी, माया र मधु हुनुहुन्छ । जेठो छोरा वैदेशिक रोजगारमा हुनुहुन्छ । उहाँका माहिला छोरा बखतबहादुर गुरुङ जन्म गाउँमा नै बस्दै आउनु भएको छ । उहाँको कान्छो छोरा र बुहानी दुवै नेपाल प्रहरीको असईमा सेवारत हुनुहुन्छ ।
प्रतिष्ठानका संरक्षक र अध्यक्षद्वारा शोक व्यक्त :
यसैबीच, स्व. रनबहादुरको निधन भएको दिनमा ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ र अध्यक्ष नवराज पहाडीले संयुक्त रुपमा एक शोक वक्तव्य प्रकाशन गरी ठाडोभाका गायिका जालुमायालाई पर्न गएको शोकप्रति प्रतिष्ठान परिवारकोतर्फबाट गहिरो समवेदना जेठ ५ गते व्यक्त गर्नु भएको थियो । उहाँहरूले जालुमायासहित उहाँको सपरिवार, नातेदार तथा इष्टमित्रमा धैर्यधारण गरी शोकलाई शक्तिमा बदल्ने आशीर्वाद बुद्ध भगवानबाट प्राप्त होस् भन्ने कामना गर्नु भएको छ । साथै, स्व। गुरुङको आत्माको चिरशान्तिको कामना गर्दै ठाडोभाका गायिका जालुमायाको शोक परेकोमा आफूहरूलाई पनि उत्तिकै पीडा भएको धम्पु र पहाडीले उल्लेख गर्नु भएको छ ।
स्व. नरबहादुरका श्रीमती, छोरा बुहारी बाहेक चार जना नाति, चार जना नातिनीहरू छन् ।
त्यस अवसरमा गुरुङ संस्कृति अनुसार जालुमाया र उहाँको परिजार जनहरूलाई स्याइँस्याइँ गरिएको थियो ।
सो कार्यक्रममा समुताँ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष वीरसिंह घले पनि सरिक हुनुहुन्थ्यो ।
प्रकाशित मिति २०८२ जेष्ठ ७, बुधबार २०:११ गते