लमजुङ– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा लमजुङ तारा एकल लोक गायन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्यसमिति लमजुङको आयोजनामा उहाँ एकल लोकगीत प्रतियोगिता जेठ २४ गते हुने प्रतिष्ठान जिल्ला समितिले जेठ ७ गते निर्णय गरेको हो ।
नवप्रतिभा पहिचानका लागि उक्त प्रतियोगिता आयोजना गर्न लागेको प्रतिष्ठान लमजुङको कार्यसमिति बैठकले जनाएको छ । प्रतियोगितामा पहिलो हुनेलाई नगद २५ हजार रुपैया, ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । त्यस्तै दोस्रो हुनेलाई नगद १५ हजार, तेस्रो हुनेलाई नगद १० हजार र सान्त्वना हुने दुई जनालाई नगद ५÷५ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्रदान गर्ने तयारी गरेको प्रतिष्ठानका जिल्ला सचिव प्रशान्त तामाङले बताउनुभयो ।
उक्त प्रतियोगिता विश्व संगीत दिवसको पूर्व सन्ध्यामा आयोजना गर्न लागिएको प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको माध्यमबाट लमजुङको कुना कुनामा लुकेर बसेका प्रतिभाहरूको पहिचान हुने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, ‘लमजुङ जिल्ला लोक संस्कृतिमा धनी र प्रतीभावान, क्षमतावान कलाकर्मी जन्माउने जिल्ला भएको हुँदा दुर दराजमा लुकेर रहेका प्रतीभाहरूलाई बाहिर ल्याउने प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।’
‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान नवप्रतीभाको प्रोत्साहन’ नाराका साथ सो एकल साँझको आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
उहाँका अनुसार प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सल्लाहकार एवम् वरिष्ठ लोक गायिका माया गुरुङ, सल्लाहाकार रेशमलाल श्रेष्ठ, द्वितीय उपाध्यक्ष पुजा परियार शेर्पा, सचिव प्रशान्त तामाङ, सहकोषाध्यक्ष लक्ष्मी तामाङ सहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।
प्रकाशित मिति २०८२ जेष्ठ ८, बिहीबार १३:३० गते