पोखरा– प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्र भागमा एमाले पार्टी रहेको बताउनु भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न जेठ ८ गते आग्रह गर्नु भएको हो ।
देश लोकतान्त्रिक गणतन्त्रमा गइसकेको भन्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था ल्याइसकेकाले राज सिंहासनको व्यवस्था नभएको बताउनु भयो । ‘देशमा जेठ १५ गते राजालाई सिंहासनमा राख्छन् रे, घरमै सिंहासन बनाएर राख, देशको सिंहासन गयो, देशमा राज सिंहासनको कल्पना, कस्तो दिमाग होला भन्या !’ उहाँले उल्लेख गर्नुभयो ।
नेपाली जनताले राजतन्त्र उल्ट्याएर फालेको भन्दै नयाँ सविधानअनुसार लोकतान्त्रिक व्यवस्था देशमा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली जनताले राजतन्त्र उल्ट्याएर फालिसक्यो, कहाँ हराइसक्यो, संविधान अर्को बनिसक्यो, संसद छ, राष्ट्रपति, न्यायालय छ, व्यवस्था छ, लोकतान्त्रिक र हामी छौं ।’
राजतन्त्रले जथाभावी मानिस मार्दै हिडेको स्मरण गर्दै राजतन्त्रलाई खोरमा थुनेर निकालेर फालेर आफूहरू रहेको उहाँको धारणा थियो । उहाँले भन्नुभयो, ‘जसले जंगलमा घुमेर जथाभावी जसलाई पायो त्यसलाई समाउँदै, पछार्दै, मार्दै खादै हिडेको राजतन्त्रलाई समाएर खोरमा हालेर, खोरबाट पनि निकालेर मुन्ट्याएर फ्याकिदिएका छौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले प्रतिगमन रोक्ने अभियानमा रहेको बताउनु भएको छ । उहाँले राजतन्त्र फर्किने सपना नदेख्न आग्रह गर्नु भएको छ ।
ओलीले एमालेमाथि भइरहेका आक्रमणको चर्चा गर्दै पार्टीको योगदानलाई बिर्साउने प्रयास भइरहेको बताउनु भयो ।
ओलीले १४ महिनापछि देउवालाई सरकार सुम्पिने र निर्वाचन गराउने प्रतिबद्धता जनाए, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रतिवद्धता व्यक्त गर्नु भयो ।
राजेन्द्र लिङ्देन र जगमान गुरूङलाई कटाक्ष :
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको उल्लेख गर्दै भन्नुभयो, ‘पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु ।’
उहाँले प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता अभिव्यक्तिलाई ‘उत्ताउलो’को संज्ञा दिदै म भन्न चाहन्छु, ‘कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास रोक्ने अग्र भागमा युवा सङ्घ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु ।’
राजाले घुडा टेकेको दिन काठमाडौंमा युवा संघले युवा उत्सव मनाएको भन्दै उनले जनताका लोकतान्त्रिक अधिकार पुनस्थापित भएका दिनका रुपमा बैशाख ११ गतेलाई युवाहरूले उत्सब मनाएको उहाँले उल्लेख गर्नुभयो । राजतन्त्र फर्काउने भनेर गर्न खोजिएको आन्दोलनप्रति कोही पनि भ्रममा नपर्न उहाँले आह्वान गर्नु भएको थियो ।
एमालेमाथि आन्तरिक र बाह्य पक्षहरू तथा विरोधीहरूको केन्द्रीकृत र चौतर्फी आक्रमण बढिरहेको बताउदै उहाँले भन्नुभयो, ‘एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौँ, त्यस ठाउँमा आउन दिने थिएन । हामी सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हो भन्ने दावी गर्नु भयो । एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरूको भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न म आग्रह गर्दछु उहाँले कार्यकर्ताहरूलाई निर्देशन दिदै भन्नुभयो ।
अध्यक्ष ओलीले एमालेका योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै एमालेको नेतृत्वमाथि केन्द्रीकृत गरेर अनुचित झुटा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिँजाउन खोज्ने प्रयासहरूलाई तोड्न सबै देशभक्त र एमालेहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका लागि एमाले र काँग्रेसको सरकार बनेको बताउँदै सरकार ढल्यो भनेर कराइरहेकाहरूलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरू सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट पार्नुभयो । अहिलेको सरकार भ्रष्टाचारविरूद्ध शुन्य सहनशीलताका साथ काम गरेको भन्दै उनले भ्रष्टाचार उदाङ्गो हुन्छ भनेर केही व्यक्ति तर्सिएको उहाँले उल्लेख गर्नु भयो ।
युवा सङ्घको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व गर्न आग्रह गर्दै अध्यक्ष ओलीले नेतृत्वमा नअटेकाहरूको व्यवस्थापन हुने भएकाले लुछाचुँडी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरू महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेललगायतको सहभागिता थियो ।
प्रकाशित मिति २०८२ जेष्ठ १०, शनिबार ०७:१२ गते