पोखरा– नेकपा (एमाले)को भ्रातृंसगठन राष्ट्रिय युवा संघको १० औँ महाधिवेशनमा मतदान हुने छाँटकाँट छैन । महाधिवेशन हिजो जेठ ११ गते समापन गर्ने तयारी थियो । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया रोकिएपछि नाराबाजी समेत भएको छ ।
जेठ ९ गतेदेखि सुरु भएको १० औँ महाधिवेशन जेठ ११ गते समापन गर्ने पूर्वतयारी थियो । उहाँ जारी दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतको प्रयास थालिएपछि विभिन्न समूहले छुट्टाछुट्टै नाराबाजी गरेका हुन् । निर्वाचनको माग गर्दै क्षितिज थेबे, सुमन पुरी र महाराजा गुरुङ तीनै जनाको समूहले छुट्टाछुट्टै प्रदर्शन गरेको हो । उनीहरूले तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै करिब १५ मिनेटसम्म नाराबाजी गरेका थिए ।
हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उमेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षका उमेदवार छन् । महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरीका तर्फबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । उपमहासचिवमा थेबे प्यानलबाट उपेन्द्र शाही र पुरीतर्फ खेमराज शर्माले उमेदवारी दिएका छन् ।
यसअघि, आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको थियो । नेताहरूका नाम लिएर प्रतिनिधिलाई फकाउने, धम्क्याउने कार्य भइरहेको दुवै पक्षले आरोप लगाएका छन् ।
५÷५ जना आकांक्षी देखिएकाले मतदान नै गराएर स्वच्छ प्रतिस्पर्धा हुन नदिनेमा रणनीतिमा नेताहरू लागेका छन् । धेरै आकांक्षी भएकाले अरुको नाममा सहमति हुन नसकेको भन्दै क्षितिजलाई अध्यक्षमा सर्वसम्मत गराउने रणनीति अपनाइएपछि अवस्था नाराबाजीसम्म पुगेको हो ।
यसैबीच, अध्यक्ष पदका उमेदवार सुमन पुरीले एक भिडियो जारी गर्दै हालसम्म पनि प्रतिनिधिको अन्तिम नामावली तयार नभएको जानकारी दिदै उहाँले प्रतिनिधिलाई ‘चुनाव हुँदैन, तपाईंहरू घर जानुहोस्’ भन्ने भ्रम फैलाइएको बताउनु भएको छ । उहाँका अनुसार, प्रतिनिधिलाई घर नजान आग्रह गर्दै आज मध्यरातसम्म प्रतिनिधिको नाम विद्युतीय मेसिनमा अद्यावधिक गरिनेछ । त्यसपछि मात्र मतदानको प्रक्रिया सुरु हुनेछ ।
उहाँले भन्नुभयो, ‘भोलि जेठ १३ गते बिहान मतदान प्रक्रिया सुरु हुने छ ।’
निर्वाचनका लागि यहाँ आउनु भएका जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, पूर्वअध्यक्ष महेश बस्नेत, इन्चार्ज राजीव पहारी महाधिवेशनस्थलमा देखिनु भएको छैन । त्यसैले पनि प्रतिनिधिमा मतदान हुनेमा आशंका बढ्न गएको छ । वर्तमान अध्यक्ष क्षितिजकै नाममा सर्वसम्मत बनाउन नेताहरूले कसरत गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले उदघाटन मन्तव्यमा भन्नुभएको थियो, ‘हाम्रा संगठनमा चुनावै हुन पाएन भन्छन् । नपाएको होइन, सर्वसम्मति कायम गरेको हो । एकता कायम गरेको हो, अरुले गरेजस्ता, लडाइँझगडा युवा संघभित्र नहुन् । कुनै हालतमा सैह्य छैन भन्ने कुरामा पनि अवगत गराउँछु ।’
पूर्वअध्यक्ष महेश बस्नेतको संघमा सर्वसम्मत नै हुने रटान थियो भने युवा संघको इन्चार्ज पूर्वअध्यक्ष राजीव पहारीले सर्वसम्मत गराई छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । जति संख्यामा मनोनयन दर्ता हुनुपर्ने हो, त्यतिमात्रै पर्ने पहारीको दावी थियो ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले हालका अध्यक्ष थेबेलाई नै निरन्तरता दिन निर्देशन दिए पनि पुरीले अडान छाड्नु भएको छैन । त्यसै कारण चुनावी प्रक्रिया अघि बढाइएको हो । दुवै पक्ष प्रचारप्रसारमा सक्रिय छन् । उनीहरूले मतदाता भेट्ने र आफ्नो पक्षमा मत माग्ने कार्यमा जुटिरहेका छन् ।
उनीहरूले छुट्टाछुट्टै आफूनिकट प्रतिनिधिको भेला समेत गरिसहेका छन् । महाधिवेशनमा एक हजार ७६४ प्रतिनिधिले भाग लिएका छन् ।
आज दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कमिटीको तालिका थियो । उम्मेदवारको नामअनुसार क्रम संख्या मिलाउँदा समय लागेको निर्वाचन कमिटीको भनाइ छ । आज ढिला भएकाले मतदान भोलि बिहानबाट सुरु गर्ने कमिटीको तयारी छ ।
स्मरणीय छ, पूर्वअध्यषहरू महेश, राजीव र किरण पौडेल महाराज गुरुङलाई अध्यक्ष बनाउन लागि परेका छन् भने पूर्वअध्यक्ष रमेश पौडेल, बच्चनबहादुर सिंह, पूर्वउपाध्यक्ष सन्तोष रावललगायत सुमन पुरीलाई अध्यक्ष बनाउन कसरत गरिरहेका छन् ।
युवा संघको जारी महाधिवेशनमा १ हजार ७ सय प्रतिनिधिहरूले भाग लिएका छन् ।
प्रकाशित मिति २०८२ जेष्ठ १२, सोमबार २२:०९ गते