ललितपुर– नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले पार्टीहरूको पञ्चायतीकरण भएको र नेताहरूमा राजतन्त्र सान सौकतर्फ उन्मुख रहेको भन्दै कटु आलोचना गर्नु भएको छ । यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जेठ १७ गते त्यस्तो बताउनु भएको हो ।
नेपालमा कटुसत्य तथ्यको उजागर गर्ने मानिस कम हुँदै गएको बेलामा नेता भूसालले देश र आम नागरिकले भोगिरहेको तीतो अनुभूति शब्दमा व्यक्त गर्नु भएको छ । सर्वसाधारणको भावना बुझ्ने र त्यो अनुरुपको आवाज उठाउने नेता कम हुँदै गइरहेको बलामा भूसालले त्यस्तो वस्तुस्थितिको उजागर गर्नु भएको हो ।
महासचिव भुसालले नैतिकताको प्रश्न उठाउँदै भारदार र गणतन्त्रवादी नेताहरूको जीवनशैलीमा समानता रहेको बताए। उनले पार्टीहरू पञ्चायतीकरणतर्फ उन्मुख भएको टिप्पणी गर्नुभयो । महाससचिव भुसालले भारदारहरू र अहिलेका नेताहरूमा कुनै फरक नरहेको पनि बताउनु भयो । लोकतन्त्रका नेताहरूको विलासी जीवनशैली, व्यवहार नसुधारेसम्म दूरदिन अझै लम्बिने उहाँको जिकिर थियो ।
उहाँले गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र रहन सक्दैन भन्दै देश र जनता बनाउनुको ठाउँमा नेताहरू धन कमाउने कुरामा ध्यान केन्द्रित गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पार्टीहरू पञ्चायत जस्ता भए । अलिअलि छलफल त पञ्चायत, राष्ट्रिय पञ्चायतमा पनि हुन्थे । पार्टीहरूको पञ्चायतीकरण, नेताहरूको राजातन्त्र, गणतन्त्रको एउटा स्टिकर टाँसेर हुने हो की ? हामी धन कमाउनु, धमाउनु आदि इत्यादि काममा हामी गयौँ । लोकतन्त्रमा दल नसुध्रेसम्म यसको स्थायित्वमा आशंका रहन्छ, नेताहरू नसुध्रि हुँदैन ।’
खरो प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘भारदारहरू र हाम्रा नेताहरू फरक छन् साँच्चै ? भन्नसक्छौँ । म गणतन्त्रवादी, मेरा नेता र राजाका भारदारको जीवनमा फरक छैन । तिनले बस्ने कुर्सी, तिनले हिँडने तरिका, तिनका भेटघाट, रातिको भेटघाट, सम्पती, साँच्चै कति कति फरक छ ? गणतन्त्रवादीले यो नैतिकताका साथ किन भन्न सकिरहेका छैनन् ? दोषी को हो ? यो नखोज्ने हो भने बिरालाको घाँटीमा कसैले घण्टी बाँध्दैनन् । दुरदिन अझै लम्बिएर जान्छ । यो त्यही विचारमा हामीले गरेको कम्परमाइजका लागि बीपीले र पुष्पलालले लिएको बदला हो भन्ने लाग्छ ।’
गणतन्त्रबारे प्रश्न उठाउने समय भएको छैन : नेतृ झाँक्री
यसैबीच, नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रबारे प्रश्न उठाउने समय नभएको बताउनु भएको छ । नेतृ झाँक्रीले गणतन्त्रमा अभ्यास र प्रतिबद्धताका बारेमा प्रश्न उठ्नुको कारण खोजी गर्नुपर्नेमा जोड दिनुभयो । गणतन्त्र ल्याउँदा गरिएका प्रतिबद्धताहरूमा बुझाइ एउटै नभएको र त्यस अनुरुप काम नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्यो ? भन्ने बारेमा सोच्न जरुरी रहेको उहाँले जोड दिनु भयो । उहाँले गणतन्त्र ल्याउँदा आफूहरूले गरेका प्रतिबद्धताका बारेमा बुझाइहरू एउटै नभएकोले गणतन्त्रलाई यस्तो विवादित बनाइयो । यो व्यवस्थामा हामीले काम गर्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो भन्ने जिम्मेवारीबोध हामीले महसुस गरेनौं कि ? तिलस्मी सपनाहरू बाँडेर मात्रै बस्यौँ, काम गरेनौँ की ? उहाँको भनाइ थियो ।
प्रकाशित मिति २०८२ जेष्ठ १७, शनिबार २०:५९ गते