निरर्थक राजावादी आन्दोलनमा कमल थापा प्रहरी नियन्त्रणमा : अन्य पाँच जना पनि समातिए

निरर्थक राजावादी आन्दोलनमा कमल थापा प्रहरी नियन्त्रणमा : अन्य पाँच जना पनि समातिए

एजेन्सी

@antaranganews

२०८२ जेठ १८ गते आईतबार ०९:११

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई रिहाइ नगरे भोलिदेखि आन्दोलन चर्काउने उदघोष गर्नु भएको छ । लिङ्देनका अनुसार भोलिबाट खास लडाइँ सुरू हुन्छ, अब हामी एक ठाउँबाट होइन ५० ठाउँबाट निस्कन्छौं ।

प्रहरी नियन्त्रणमा रहेकाहरूलाई यो आन्दोलन नसक्दासम्म प्रहरीले कष्टडीमा राख्ने तयारी रहेको बुझिएको छ ।

काठमाडौं– कुनै दिन वर्तमानको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ को शपथ खाएर उपप्रधानमन्त्री समेत हुन भ्याउनु भएका कमल थापा अन्ततः आज राजावादी आन्दोलनको समूहबाट प्रहरी नियन्त्रणमा पर्नु भएको छ ।
पञ्चायतकालीन नेता ८६ वर्षीय नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले काठमाडौंमा जेठ १५ गतेदेखि राजसंस्था पुनस्र्थापनालगायतका एजेन्डामा आन्दोलन गरेको जेठ १८ गते आज चौथो दिन हो ।
संघीयताको खारेजी, राजसंस्था, हिन्दुराष्ट्रको पुनस्र्थापना र भ्रष्टाचारको एजेन्डा बोकेर राजावादी समूह सडकमा आएका हुन् । तर राजावादीको स्वघोषित सो जनआन्दोलन सडकमा कति दिन टिक्ने हो ? आशंका उत्पन्न हुन थालेको छ । यसैले पनि यो आन्दोलन निरर्थक हुने आजसम्मका घट्नाक्रमले पुष्टि गरेको छ । यहाँको बालुवाटार क्षेत्रमा निषेधित क्षेत्र तोड्दै प्रवेश गर्न खोजेका पाँच राजावादीलाई नियन्त्रणमा लिइएको छ । प्रदर्शनमा सहभागीहरूले राजसंस्था पुनःस्थापना र हिन्दु राज्यको माग राखेका थिए ।
सो आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायतका दलहरू तथा समूहहरूको समर्थन छ र तिनका शीर्ष नेताहरूसमेत आन्दोलनमा सहभागी हुने गरेका छन् । काठमाडौंको नारायणचौरमा गरिएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयासका साथ बालुवाटारतर्फ लम्कन खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापालाई नियन्त्रणमा लिएको हो ।
सुवेदी नेतृत्वको समितिले राजसंस्था पुनस्र्थापना, हिन्दु राष्ट्र पुनस्र्थापना, संघीयता खारेजीलगायत माग राखेर ‘जनआन्दोलन’को उदघोष गरिरहेको छ । तर आशा गरिएजस्तो मानिसहरू सडकमा उत्रिएका छैनन् ।
प्रहरीले पूर्वगृहमन्त्री समेत रहनु भएका थापासहित अन्य पाँच जनालाई नियन्त्रणमा लिएर भ्यानमा राखेर जिल्ला प्रहरी परिसर भद्रकाली लगेको हो । प्रहरी भ्यानमा पुगेपछि थापाले ‘भ्रष्ट सरकार मुर्दावाद, प्रहरी दमन मुर्दावाद’ भनेका थिए ।
थापासहित ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताउनु भयो । उहाँका अनुसार भिडलाई अघि बढ्न थापाले निर्देशन गर्दै अगुवाई गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘निषेधित क्षेत्र तोड्न खोजेको र भिड भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले थापालाई पक्राउ गरेको हो ।’ प्रहरीका अनुसार थापाले ‘बालुवाटार घेर्न जाऔं’ भन्ने अभिव्यक्ति दिनु भएको छ ।
प्रहरी स्रोतका अनुसार प्रदर्शनलाई उहाँले लिड गर्नुभएको थियो । उहाँले बालुवाटार घेर्न जाउ भनेर भिडलाई उक्साउनुभयो । अलिअलि धक्कामुक्का पनि भयो, त्यसपछि उहाँसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशभरका साथीहरूलाई आन्दोलनमा बोलाउने घोषणा गर्नु भएको छ । उहाँका अनुसार कमल थापालाई रिहाइ नगरे भोलिदेखि आन्दोलन चर्काउने उदघोष गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘देशभरबाट साथीहरूलाई बोलाउँछौं, भोलिबाट खास लडाइँ सुरू हुन्छ, अब हामी एक ठाउँबाट होइन ५० ठाउँबाट निस्कन्छौं, कमल थापालाई अहिले यहाँ ल्याएर स–सम्मान फिर्ता गर्नुपर्छ ।’
शान्तिपूर्ण प्रदर्शनमाथि बर्बर आक्रमण गरिनु राज्यको अत्याचार भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ । उहाँका अनुसार कमल थापालाई लछारपछार र दुव्र्यवहार गरिएकोमा आपत्ति छ ।
को को छन् प्रहरी हिरासतमा ?
नक्सालस्थित नारायणचौरमा राजावादी प्रदर्शनमा प्रहरी ‘ब्यारिकेड’ पन्छाएर अघि बढ्न खोजेका उनीहरूलाई त्यहाँबाट स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको बालुवाटारतर्फ जान खोजेका थिए । प्रहरी नियन्त्रणमा रहनेमा पूर्वउपप्रधान एवम् गृहमन्त्री थापा समेत जावलाखेलकी ६२ वर्षीया शीला राणा, भक्तपुरको ठिमीका ३२ वर्षीय राकेश बस्नेत, काठमाडौंको सामाखुसीमा बस्दै आएका नुवाकोटका ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका– २ का विनोद कपाली र भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमल्सिनालाई हिरासतमा राखिएको एसपी बोहराले बताउनु भयो ।
उनीहरूलाई यो आन्दोलन नसक्दासम्म प्रहरी कष्टडीमा राख्ने प्रहरीको तयारी रहेको बुझिएको छ ।
प्रहरीका अनुसार, उनीहरूमध्ये बस्नेत, कपाली र लामिछाने व्यवसायी हुन् । तिमल्सिना राष्ट्रिय युवा मोर्चा नेपालका सदस्य हुन् । एसपी बोहराले भन्नुभयो, ‘उहाँहरू(राजावादी)को आन्दोलन सकिएको छैन । छोड्ने वा हिरासतमै राख्ने भन्नेबारे केही भएको छैन । उहाँहरूको आन्दोलन सकिएपछि केही आउला ।’
सांसद दिपक सिंह पनि प्रहरी नियन्त्रणमा :
अन्ततः राप्रपाका सांसद दिपक सिंहलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका बेला सिंहलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरबाटै आज साँझ उहाँ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताउनु भयो ।
निरर्थक राजावादी प्रदर्शन :
पछिल्ला दिनमा मुलुकमा राजावादीहरू ह्वात्तै बढेको डंका पिटिदै छ । तर २०७९ सालमा सम्पन्न संघीय निर्वाचनको परिणाम हेर्ने हो भने मात्र पनि राप्रपाले समानुपातिकतर्फ पाँच लाख ८८ हजार ८४९ मत पाएको देखिन्छ ।

घोषित जनआन्दोलनमा त्यो दलले आफूले पाएको मतको आधा चौथाई मानिस पनि सडकमा उतार्न सकेको देखिदैन भने अन्य झुण्डमुण्डको के कुरा गर्नु ? त्यसैले यो प्रदर्शन निरर्थक हो भन्ने आजका दिनसम्मको घट्नाक्रमले पुष्टि गरेको छ । सो आन्दोलन किन पनि निरर्थक हुँदैछ भन्ने थप निम्न तथ्यलाई समेत आधार मान्न सकिन्छ ।
‘गुमनाम’ रवीन्द्र मिश्र, धवल शमशेर र दुर्गा प्रसाई :
राजधानीमा जारी राजावादी समूहको आन्दोलनमा राप्रपाका नेताहरूको सक्रियता देखिए पनि रवीन्द्र मिश्र र धवल शमशेर राणाको उपस्थिति रहेको छैन । उहाँहरू विरुद्ध चलाइएको मुद्दाका कारण उनीहरू सार्वजनिक कार्यक्रममा नदेखिएको स्रोतको दावी छ ।
आन्दोलन समितिको सदस्य सचिव रवीन्द्र मिश्र र आन्दोलन परिचालन समितिका संयोजक धवल शमशेर राणालाई आन्दोलन क्षेत्रमा सञ्चारकर्मीहरूले शिलोझैं खोज्दा पनि कतै भेट्न सकेका छैनन् ।
यसअघि पक्राउ परेर प्रहरी कष्टडीको अनुभूति सँगालेका मिश्र र राणाविरुद्ध राज्यविरुद्धको कसुरसहित विभिन्न मुद्दा दायर भएको छ, अदालती प्रक्रियाका कारण फेरि पक्राउ पर्ने डरले उहाँहरू सार्वजनिक प्रदर्शनबाट टाढै रहेको बताइएको छ ।
मिश्र राप्रपाका उपाध्यक्ष हुनुहुन्छ भने राणा महामन्त्रीको हैसियतले जनआन्दोलन समितिको महत्त्वपूर्ण भूमिकामा हुनुहुन्छ । कार्कीले मिश्रविरुद्ध अदालतमा मुद्दा चलिरहेको र वकिलहरूको सल्लाहमै उहाँहरू हाल आन्दोलनमा सहभागी नहुनु भएको बताउनु हुन्छ । उहाँका अनुसार प्रहरीले अझै पनि मिश्रको मोबाइल नियन्त्रणमै राखी रहेको छ ।
अहिलेको आन्दोलनमा मिश्रजस्तै धवलशमशेर राणा देखिनु भएको छैन । राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले आन्दोलनमा सहभागी हुँदा राज्यले थप दुःख दिनसक्ने तथा मुद्दा पनि चलिरहेको हुनाले उहाँ मौन रहेको जानकारी दिनुभयो । त्यसो त हिजो सम्पन्न राप्रपाको बैठकमा भने दुबै नेताको सहभागिता थियो ।
दुर्गा प्रसाईं नेतृत्वको समूहले चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा आयोजना गरेर आन्दोलन समितिको समर्थन रहेको प्रदर्शनमा हिंसा फैलिएको थियो । उक्त प्रदर्शनमा एक पत्रकार सहित दुईजनाको ज्यान गएको थियो । हिंसा भड्काउन भूमिका खेलेको आरोपमा राणा र मिश्रलाई प्रहरीले सोही साँझ पक्राउ गरेको थियो ।
क्यान्सरको बिरामी रहनु भएका राणा वैशाख ७ गते रिहा हुनु भएको हो भने मिश्र ४९ दिनपछि जेठ २ गते सर्वोच्चको आदेशले रिहा हुनु भएको हो ।
यद्दपि, सोही घटनामा संलग्न भएको भन्दै मिश्र र राणासहित ६१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मिश्र र राणा विरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ भने मुद्दाको थुनछेक प्रक्रिया चलिरहेको छ ।
दुर्गा प्रसाईं नेतृत्वको समूह सहभागी नहुने :
वयोबृद्ध पञ्चायतकालीन नेता नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले जनकमाण्डार घोषणा गरेको दुर्गा प्रसाईं समूह राजावादी आन्दोलनको पहिलो दिन जेठ १५ गतेबाट नै सहभागी नहुने भएको जनाएको थियो ।
प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विज्ञप्ति निकालेर आजको आन्दोलनमा सहभागी नहुने उल्लेख गरेको हो । महाअभियानकातर्फबाट सचिव प्रेमदीप लिम्बूले विज्ञप्ति निकालेर राप्रपा नेतृत्वको आन्दोलनमा आफूहरू सहभागी नहुने उल्लेख गर्नु भएको हो । हेरौं विज्ञप्ति :
सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले चैत १४ गते प्रसाईंलाई ‘जनकमान्डर’ घोषणा गरेको थियो । चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईंलाई प्रहरीले पक्राउ गरेर विभिन्न मुद्दा चलाइरहेको छ । दुर्गा प्रसाईं आजका दिनमा पनि प्रहरी कष्टडीमा हुनुहुन्छ भने उहाँको रिहाईका लागि आन्दोलनमा सहभागी कसैले चुँसम्म पनि गरेको सुनिदैन । तर यस अघिसम्म भने राजावादी आन्दोलनमा अग्रपंतिमा रहेको प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ थियो । तर अभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बूले जारी गरेको विज्ञप्ति अनुसार उक्त आन्दोलनमा आफूहरूको कुनै सहकार्य छैन भन्नुभएको छ । उहाँका अनुसार आन्दोलनको क्रममा कुनै घटना घटेको खण्डमा आफ्नो अभियान कुनै पनि जिम्मेवारी लिने छैन ।
आन्दोलनमा सहभागी भएन विश्व हिन्दू महासंघ :
हिन्दू धर्मको पुनःस्थापनाको नाराका साथ थालिएको उक्त स्वघोषित राजावादी आन्दोलनमा नेपालमा हिन्दूहरूको सबैभन्दा ठूलो संगठनका रुपमा परिचित विश्व हिन्दू महासंघले उक्त आन्दोलनमा भाग लिएको छैन । त्यसैले पनि त्यो माग नै फिका हुन पुगेको छ ।
महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले राजा राजनीति विषय भएको तर धर्म र राजा अलग विषय भएको भन्दै आफूहरू हिन्दू राष्ट्र कायम हुनुपर्छ भन्ने मान्यतामा रहेता पनि राजाको हकमा भने बोल्न नसक्ने र एले राजा हुने चर्र्चामा रहेका कुनै पनि पात्र राजा हुन योग्य नभएको हुँदा यो आन्दोलनमा सहभागी हुन नसक्ने अध्यक्ष अधिकारीको कथन छ । यसले पनि यो आन्दोलन निरर्थक हुने आंकलन गर्न सकिन्छ ।

प्रकाशित मिति २०८२ जेष्ठ १८, आईतवार २१:११ गते
हजुरको प्रतिक्रिया