लमजुङका उपज साहित्यकार भाग्यशाली अधिकारीको हृदयघातका कारण निधन

लमजुङका उपज साहित्यकार भाग्यशाली अधिकारीको हृदयघातका कारण निधन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ १९ गते सोमबार ०४:०९

साहित्यका विविध विधामा कलम चलाउने कवि अधिकारीका झण्डै डेढ दर्जन प्रकाशित छन् । उहाँका छोरा अमेरिकामा रहेको र आएपछि मात्र उहाँको अन्तिमसंस्कार गरिने उहाँकी छोरी कविता अधिकारीले जानकारी दिनुभएको छ ।

विभिन्न विधामा कलम चलाउनु हुने साहित्यकार अधिकारी लमजुङका उपज हुनुहुन्छ ।

काठमाडौँ– साहित्यकार भाग्यशाली अधिकारीको हृदयघात भई निधन भएको छ । मर्स्याङदी वाङमय प्रतिष्ठानका उपाध्यक्ष, सामाखुसी साहित्य समाजका संस्थापक अध्यक्ष अधिकारीको ७१ वर्षका हुनुहुन्थ्यो ।
नेपाली साहित्यका विविध विधामा कलम चलाउनु हुने अधिकारीको हृदयघातको कारणले जेठ १९ गते राति ९ बजेतिर निधन भएको उहाँकी जेठी छोरी कविता अधिकारीले बताउनु भयो । उहाँको अनुसार गए राति ९ बजेतिर खाना खाएर पानी खाँदा खाँदै अचानक ढल्नु भएका अधिकारीलाई शहीद गंगलाल अस्पताल, बाँसबारी पु¥याइएको थियो । अस्पतालमा चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए । उहाँलाई तत्कालै ल्याई पु¥याएको भए पनि बचाउन सकिने अवस्था नभएको अस्पतालमा चिकित्सकले बताएका थिए ।
अधिकारी साहित्यिक थलो लमजुङका उपज हुनुहुन्छ । उहाँ लमजुङका एतिहासिक स्थलो दुराडाँडामा विसं २००९ सालको चैत्रमा जन्मनु भएको थियो । टोखा नगरपालिका– ७ धापासी ढुङ्गेधारा, प्रगतिटोलका स्थायी बासिन्दा भएको थियो ।
स्व. अधिकारी कलमका मात्र धनी हुनुहुन्नथ्यो, उहाँले आफ्नो नेतृत्वमा सामाखुशी साहित्य समाज खोलेर द्वैमासिक रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आउनु भएको थियो । पछि उहाँ मर्स्याङ्दी वाङमय प्रतिष्ठानका उपाध्यक्ष चयन हुनु भएको थियो ।
साहित्यका विविध विधामा कलम चलाउने कवि अधिकारीका झण्डै डेढ दर्जन प्रकाशित छन् । ती कृतिहरूमा यो एउटा भरिपूर्ण मरुभूमि (कवितासंग्रह २०५८), आमाका क्रन्दन (खण्डकाव्य २०६०), मनुको खुसी (बालकथासंग्रह २०६५), बुद्धिमान् नुनु (बालकथासंग्रह २०६८), फूँ ! ग¥यो साँढेले (बालकविता २०६८), विरानो लोक (उपन्यास २०६८) छन् । यसैगरी, अन्य कृतिमा जूनसँग मित (बालकविता २०६९), हलीको छोरो (बालकथासंग्रह २०७४, सपनाको मुलुक (महाकाव्य २०७५), अचम्मको पानी (खण्डकाव्य २०७७), शाश्वत चिन्तन नैतिक (लेख सँगालो २०७७), दिव्योपदेश (बालकाव्य २०७७), १०१ छन्द कवितासंग्रह २०७८, दोषी को ? (निबन्धसंग्रह २०७८), लाटोकोसेरो हाँस्यो (बालकथासंग्रह २०७८) रहेका छन् ।
सरल एवम् नम्र शीलस्वभावका धनी  स्व. अधिकारीको विरानो लोक उपन्यासमा शोधकार्य समेत भएको छ ।
राष्ट्रिय बीमा संस्थान पद नायव व्यवस्थापकबाट अवकाश प्राप्त अधिकारी राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा द्वितीय पुरस्कार प्राप्त २०५५, महाकवि लक्ष्मीप्रसाद देवकोटा काव्यिक पुरस्कार नेपाल साँस्कृतिक संघ, गोधूलि गङ्गा साहित्य काव्य पुरस्कार गोधुली साहित्य प्रतिष्ठान २०७९, बिडी त्यागी हीरक जयन्ती सम्मान, राष्ट्रिय बीमा संस्थान पूर्व कर्मचारी समाजबाट सम्मान २०७५, मञ्जुश्री साहित्य प्रतिष्ठानबाट सम्मान २०७५ बाट समेत सम्मानित हुनुहुन्थ्यो ।
सिस्नुपानी नेपाल, मर्स्याङदीवाङ्मय प्रतिष्ठान, जनमत प्रकाशन, गण्डकी सामाजिक गुठी जस्ता संस्थाको आजीवन सदस्यको रूपमा रहेर उहाँ संस्थागत रुपमा पनि साहित्यको श्रीबृद्धिमा जुट्नु भएको थियो ।
साहित्यकार स्व. अधिकारीका छोरा अमेरिकामा रहेको र आएपछि मात्र उहाँको अन्तिमसंस्कार गरिने उहाँकी छोरी कविता अधिकारीले जानकारी दिनुभएको छ ।
साहित्यकार स्व. अधिकारीका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।

प्रकाशित मिति २०८२ जेष्ठ १९, सोमबार १६:०९ गते
हजुरको प्रतिक्रिया