काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध कायमै राख्ने अडान राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रहित तीन दलीय बैठकमा सहमति जुट्न नसके पछि यो मुद्दा थप पेचिलो बनेको छ । विपक्षीदलहरूले साझा रणनीति बनाउन आज २० गतेका लागि बैठकको आयोजना गरेका छन् ।
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएर संसद अवरोध जारी राख्ने रणनीतिमा अडिक देखिएका छन् । विपक्षी दलको सो अडानले प्रधानमन्त्री केपी शर्मा ओली थप अप्ठ्यारोमा पर्नु भएको छ । आजबाट अवरुद्ध संसद् खुलाउन सत्ता साझेदार दुई दल कांग्रेस र एमालेसहित प्रमुख प्रतिपक्ष माओवादी सहित प्रधानमन्त्री कार्यालयमा भएको बैठक बसेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको विषयमा लचिलो बन्न नसक्ने जवाफ दिएसँगै राजनीतिक परिस्थिति थप पेचिलो बन्न गएको छ ।
तीन ठूला दलका शीर्ष नेताको बैठकमा आफूहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान राखेको पार्टी प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो । प्रमुख सचेतक पाण्डेका अनुसार बैठकमा राजावादीको बढ्दो सक्रियता र संसद्को गतिरोध अन्त्यको विषयमा छलफल भएको थियो ।
उक्त बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले भाग लिनु भएको थियो ।
ओली र देउवाले गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेर संसद् खुलाउन आग्रह गरे पनि माओवादी अध्यक्ष प्रचण्डले त्यो मा स्वीकार गर्नु भएन । उहाँले गृहमन्त्रीको राजीनाामाको अडान यथावत राखेको बताउनु भएको छ । गृहमन्त्रीको राजीनामा माग कायमै राखेको र अन्य प्रतिपक्षी दलहरूसँग छलफल गरेर थप निर्णय लिने पाण्डेको भनाइ छ ।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले सत्तापक्षले संसद् खुलाएर अघि बढ्नुपर्ने प्रस्ताव राखेकोमा माओवादीले छलफल गरेर अघि बढ्ने जवाफ दिएको बताउनु भयो । उहाँका अनुसार भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नताबारे पुष्टि हुने आधार नभेटिएकाले संसदको अवरोध खुलाएर अघि बढ्न अनुरोध गरेको छ ।
यसैबीच, विपक्षी दलहरूले संसद् अवरोधको साझा रणनीति बनाउन आजै बैठक बस्ने भएका छन् ।
संसद्को चौथो शक्ति रास्वपा र तेस्रो शक्ति माओवादी अहिले बिहान साझा रणनीति तय गर्न बैठक बस्ने भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो विषयमा विपक्षी दलहरूले साझा रणनीति तय गर्नेछन् ।
गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिए संसद् चल्दैन : रास्वपा
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले संसद्मा जवाफ नदिएसम्म संसद्को कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले जेठ १८ गते उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँका अनुसार सो बैठकमा पनि जेठ १३ र १४ गतेकै भूमिकामा प्रस्तुत हुने निर्णय भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने कार्यवाहक प्रवक्ता झाले बताउनु भयो । उहाका अनुसार परिवारको सदस्यले गरेको बदमासीको जिम्मेवारी अभिभावकले लिने उल्लेख गर्दै उक्त प्रकरणबारे गृहमन्त्री स्वयम्ले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।
उहाँले भन्नुभयो, ‘संसद्को कारबाही अगाडि बढाउने र गृहमन्त्रीको राजीनामाबारे अन्य प्रतिपक्षी दलहरुसँग समेत सहकार्य गर्ने निर्णय भएको छ ।’
प्रकाशित मिति २०८२ जेष्ठ २०, मंगलवार ०५:५६ गते