काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना पार्टी सभापति रवि लामिछाने विरुद्ध विभिन्न झुट्टा मुद्दा लगाएको भन्दै प्रतिशोध विरूद्ध न्यायका लागि वृहत अभियान चलाउने तयारी थालको छ । पार्टीको सचिवालय बैठकले संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भनी स्पष्ट किटान गर्दागर्दै भने सभापति रविलाई फसाउने नियतले सरकारले झुट्टा मुद्दा लगाएको विज्ञप्ति जारी गर्दै जेठ १९ गते निचोड निकालेको हो ।
बैठकपछि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सभापति रवि लामिछानेलाई षड्यन्त्रपूर्वक राज्य संयन्त्र र कानुनलाई अस्त्रीकरण गर्दै लगाइएको प्रतिशोधपूर्ण झुटा मुद्दाको पछिल्लो अवस्थाका सम्बन्धमा पार्टी सचिवालय बैठकमा छलफल भयो ।’
‘सहकारी बचतकर्ताका करोडौं, अर्बौं रकम अपचलनमा संलग्न सहकारी सञ्चालक, व्यवस्थापकहरू १०–२० लाख रूपैयाँ धरौटी बुझाएर एकै दिन पनि प्रहरी हिरासत समेत नबसी अदालतबाट रिहा हुने, तर सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका र संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भनी स्पष्ट किटान भएका रवि लामिछानेलाई फसाउने नियतले सरकारले लगाएको झुटा मुद्दा विरूद्ध, प्रतिशोध विरूद्ध न्यायका लागि वृहत अभियान अन्तर्गत हस्ताक्षर अभियानलाई व्यापक बनाउने निर्णय भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।’
बुटवलको सुप्रिम बचत तथा सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उल्ट्याएपछि सभापति रविलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
त्यस्तै, मुद्दा पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना र ठगी प्रकरणमा सभापति रविविरूद्ध मुद्दा चलिरहेको छ ।
कोशी प्रदेशका दुई नेताको सदस्यता खारेज :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका दुई नेताको सदस्यता खारेज गरेको छ।
रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कोशी प्रदेशका निवर्तमान सभापति राजेश तिम्सिना र प्रवक्ता कमलबाबु मैनालीको पार्टी सदस्यता खारेज गरी केन्द्रीय समितिमा अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको हो । रास्वपाले केन्द्रीय सदस्य समेत रहनु भएका पार्टीका कोशी प्रदेश अध्यक्ष राजेश तिमिल्सिनाको साधारण सदस्यता समेत नरहने गरी खारेज गरेको छ । रास्वपाका संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टीमा पूर्ववत् जिम्मेवारीमा फिर्ता बोलाउन भन्दै पत्र लेखेपछि निलम्बित तिमिल्सिनाको सदस्यता जेठ १९ गते खोसिएका हो ।
पछिल्लोपटक सोधिएको स्पष्टीकरणको जवाफ नदिएका कारण रास्वपा केन्द्रीय सचिवालय बैठकले साधारण सदस्यबाट समेत निष्कासन गरेको हो ।
यसअघि तिमिल्सिनाले साधारण सदस्यबाटै निकालिएका पूर्वमहामन्त्री मुकुल ढकाललाई पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेख्नु भएको थियो ।
त्यसबेला पार्टी अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले उहाँमाथि अनुसन्धान माग भएको भन्दै त्यसकै लागि निलम्बन गरिएको पत्र पठाउनु भएको थियो । २०८१ माघ ४ गते त्यसरी पत्र पठाएको रास्वपाले केन्द्रीय सचिवालयबाट साधारण सदस्य समेत नरहने गरी उनलाई कारबाही गरेको हो ।
गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ :
भिजिट भिसा प्रकरणमा छानविनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अडान नछाड्ने बैठकले निर्णय गरेको छ । रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानविन आयोगमार्फत गृहमन्त्री लेखकमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो ।
प्रकाशित मिति २०८२ जेष्ठ २०, मंगलवार ०७:३८ गते