ममाथि भ्रष्टाचारको मुद्दा दायर बदलाको भावना हो, चुनौतीको सामना गर्ने हो : माधव नेपाल

ममाथि भ्रष्टाचारको मुद्दा दायर बदलाको भावना हो, चुनौतीको सामना गर्ने हो : माधव नेपाल

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ २५ गते आईतबार ०९:४६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबारेमा २०६९ को मंसिर २५ गते निर्णय गर्दै मुल्तवीमा राखेको उक्त मुद्दा एले प्रतिशोधपूर्ण तरिकाले उत्खनन् गरिएको आम बुझाई रहेको छ । मुल्तवीमा राखेको उक्त मुद्दा एले किन ब्यूताउनु परेको हो भन्ने अख्तियारले प्रष्ट्याएको छैन ।

अध्यक्ष नेपालविरुद्ध प्रतिशोध साँधेर भ्रष्टाचार मुद्दा दायर भयो : एकीकृत समाजवादी

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि बदलाको भावनाले भ्रष्टाचारको मुद्दा दायर गरिएको बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरू आत्तिएको जेठ २४ गते बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन्, आतंकित भएका छन्, पूर्वाग्रह राखेर बसेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण भर्खरै तपाईंहरूले सुन्नुभयो, म माथि भ्रष्टाचारको मुद्दा लगाउनको लागि पहल भएको छ ।’ अध्यक्ष नेपालले असल उद्देश्यका निम्ति गरिएको काममा आत्तिनुपर्ने आवश्यकता नरहेको बताउनु भयो । उहाँले आफूबाट कुनै भ्रष्टाचारजन्य कार्य नभएको दाबी गरे । विचार र मन मिलेन भन्दैमा शत्रुता राख्न नहुनेमा उहाँको जोड थियो ।
आफूले कसैसँग एक रुपैयाँ घुस लिएको, अनुचित काम गरेको, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘निजी स्वार्थबाट कुनै काम भएको छैन भने, आफ्नो फाइदा र लाभको लागि कुनै काम गरेको छैन भने आत्तिनुपर्ने आवश्यकता छैन । सबै गलत कुरा, आरोपको विरुद्धमा दृढताका साथ उभिनेछु । मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ । न्यायको जित हुनेछ । न्यायको जित हुनुपर्दछ । अन्यायको हार हुनुपर्छ । न्यायालयमाथि विश्वास राखेर नै हामी सबै देशमा कानूनको शासनलाई अघि बढाउन चाहिरहेका छौँ । यो चुनौति आइलागेको छ, यो चुनौतिको सामना गर्ने हो । कोही मानिसहरू मैदान छोडेर चुनौति देखेपछि भाग्छन्, आत्तिन्छन्, हामीले मैदान छोड्ने होइन ।’ उहाँको दृढोक्ति थियो ।
अध्यक्ष नेपालविरुद्ध प्रतिशोध साँधेर भ्रष्टाचार मुद्दा दायर भयो : एकीकृत समाजवादी
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पतन्जली जग्गा प्रकरणमा आफूले कुनै अनियमितता नगरेको प्रतिक्रिया दिएका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीको निर्देशनमा मुद्दा दायर भएको देखिन्छ भन्ने अभिव्यक्ति दिएको बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा नेपालले पाण्डेको भनाइमा समर्थन जनाएका छन् ।
नेपालले भन्नुभयो, ‘सिधा कुरा हो, उहाँ मेरो विरुद्धमा सुरूदेखि लाग्नुभएको पनि हो । मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो। पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’
नेता बेदुराम भुसालले अध्यक्षमाथि प्रतिशोध साँधिएको दाबी गर्दै यसको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने बताउनु भयो । मुद्दाको सम्बन्धमा राजनीतिक र कानुनी पक्ष रहेको बताउँदै उनको प्रतिक्रिया थियो ‘राजनीतिक प्रतिशोध साँधेर जुन आक्रमण भएको छ, यसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं । कानुनी पक्षको कुरामा हामी कानुनी हिसाबमा नै प्रतिवाद गर्छौं ।’
पार्टीका पोलिटब्युरो सदस्य अशेष घिमिरेले प्रधानमन्त्री ओली ‘विरोधीहरूलाई समाप्त पार्ने फासिवादी प्रतिशोध’ मा उत्रेको बताउँदै भन्नुभयो, ‘आफै अनेक काण्डमा जेलिएको ओली सरकार र उसका नियन्त्रणमा रहेका राज्यका अंगले त्यसरी छानबिन गर्लान् भन्ने अपेक्षा छैन । यो सरासर प्रतिशोध हो ।’
नेपालसहित ९३ जना विरूद्ध भ्रष्टाचार मुद्दा :
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालसहित ९३ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको उल्लेख गरेको छ । प्रवक्ता राजेन्द्रकुमार पौडेलले जेठ २२ गते जानकारी दिनुभएको हो ।
हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबारेमा २०६९ को मंसिर २५ गते निर्णय गर्दै मुल्तवीमा राखेको उक्त मुद्दा एले प्रतिशोधपूर्ण तरिकाले उत्खनन् गरिएको आम बुझाई रहेको छ । मुल्तवीमा राखेको उक्त मुद्दा एले किन ब्यूताउनु परेको हो भन्ने अख्तियारद्वारा प्रष्ट्याइएको छैन ।
अख्त्यिारले मुल्तवीमा राख्न गरेको निर्णयको उतार प्रति :
अध्यक्ष नेपालसहितका आरोपिसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरिएको छ ।
भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद निलम्बनमा परेको बताइएको छ ।

प्रकाशित मिति २०८२ जेष्ठ २५, आईतवार ०९:४६ गते
हजुरको प्रतिक्रिया