पहिलो लमजुङ लोक ताराको विजेता रञ्जित गुरुङ

पहिलो लमजुङ लोक ताराको विजेता रञ्जित गुरुङ

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ २५ गते आईतबार ०२:४१

बेसीशहर– लमजुङमा आयोजना गरिएको पहिलो लमजुङ लोक तारा २०८२ को प्रतियोगिताको विजेता युवा गायक मनबहादुर गुरुङ (रञ्जित) बन्नु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङले जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरेको प्रथम लमजुङ...

बेसीशहर– लमजुङमा आयोजना गरिएको पहिलो लमजुङ लोक तारा २०८२ को प्रतियोगिताको विजेता युवा गायक मनबहादुर गुरुङ (रञ्जित) बन्नु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङले जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरेको प्रथम लमजुङ लोक तारा २०८२ मा गुरुङले उपाधि जित्नु भएको हो ।
लोकगीतको संरक्षण र नवप्रतिभाको खोजी गर्न प्रतिष्ठान जिल्ला शाखा लमजुङले विश्व संगीत दिवसको पूर्व सन्ध्यामा लमजुङ लोकतारा एकल गायन प्रतियोगिता आयोजना गरेको हो । सो प्रतियोगितामा ३५ जनाले भाग लिएका थिए । प्रतियोगितामा रञ्जितले १८४ अंकसहित प्रथम स्थान प्राप्त गरेको निर्णायकको भनाइ छ । रञ्जित लमजुङको उत्तरी क्षेत्रमा रहेको दुर्गम, मनाङ जिल्लासँग सीमा जोडिएको गाउँ मस्र्याङदी गाउँपालिका– ५ सञ्जापु गाउँका निवासी हुनुहुन्छ ।
सो प्रतियोगितामा लमजुङकै दोर्दी गाउँपालिका– ३ श्रीमञ्ज्याङ गाउँका युकेश परियारले १७८.५ अंक प्राप्त गर्दै दोस्रो स्थान प्राप्त गर्नु भएको छ । यसैगरी, बेसीशहर नगरपालिका– ११ चिती गाउँका बिशाल सुनारले १७७ अंकका साथ तेस्रो स्थान हासिल गरेको निर्णायक समितिका संयोजक एवम् प्रतिष्ठानका केन्द्रीय सचिव शंकर विरही गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार प्रतियोगितामा मस्र्याङदी गाउँपालिका– २ घनपोखराका हस्त सेञ्चुरीले १७५ अंक तथा सोही गाउँकी आशमाया वि.क.ले १७३ आंक प्राप्त गरी सान्त्वना स्थान हासिल गर्नु भएको छ ।
प्रतियोगिता तीन चरणमा प्रतिस्पर्धा गराइएको निर्णायक समितिका संयोजक गुरुङले बताउनु भयो । उहाँका अनुसार पहिलो चरण १७ जनाले पार गरेकामा दोस्रो चरणबाट छानिएका ८ जनाबीच फाइनलमा पुनः प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीलाई क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार ५÷५ हजार रुपैयाँका साथमा ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाका सचिव प्रशान्त तामाङले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा पहिलो र दोस्रो स्थान हासिल गर्ने प्रतियोगीहरूलाई आउँदो असार ७ गते विश्व संगीत दिवसका अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रथम गण्डकी लोकतारा २०८२ मा भाग लिन पाउने छन् ।
विजयी प्रतियोगीहरूलाई वरीष्ठ लोकगायिका माया गुरुङ, प्रतिष्ठानका केन्द्रीय सचिव शंकर विरही गुरुङ, जिल्ला अध्यक्ष अनुज अधिकारी र पुरस्कारका प्रायोजकहरूले ट्रफि, पदक, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यमा भएको आयोजक समितिका जिल्ला अध्यक्ष अनुज अधिकारीले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा वरिष्ठ लोक गायक एवम् राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव शंकर विरही गुरुङ, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सांगठनिक सहसचिव तारानाथ आचार्य लगायत निर्णायक रहनु भएको थियो ।
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीको अध्यक्षतामा भएको प्रतियोगिताको उदघाटन सत्रमा द्वितीय उपाध्यक्ष पुजा परियार शेर्पाले स्वागत तथा सञ्चालन जिल्ला सचिव प्रशान्त तामाङले गर्नु भएको थियो ।
सो अवसरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य अनुज अधिकारी तथा पुजा परियार शेर्पाले ठाडोभाका गायत गर्नु भएको थियो भने प्रतिष्ठानका सहकोषाध्यक्ष भुन्टीमाया तामाङ, वरिष्ठ लोकगायिका माया गुरुङ, प्रतिष्ठानका आजीवन सदस्य सुधा ढकालले उहाँहरूलाई साथ दिनु भएको थियो भने अर्का आजीवन सदस्य चित्र दुराले बाध्यवादनमा सहयोग गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ जेष्ठ २५, आईतवार १४:४१ गते
हजुरको प्रतिक्रिया