कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण

कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ २८ गते बुधबार ०९:१०

लामो समय चलेको महायज्ञमा सजाइएका इट्टाहरू, तिलक र भष्म बाँड्न समस्या उत्पन्न भएको छ । यी सामग्री आजै जेठ २८ गते वितरण गरिने पूर्वयोजना भएता पनि वितरण गर्न नसकिएको महायज्ञ प्रचार प्रसार संयोजक ढकालले बताउनु भयो । उहाँका अनुसार महायज्ञको समापन जेठ ३१ गते इट्टा, भष्म र तिलक सहित प्रसाद वितरण गरिने छ ।

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अब केही जल सहितको कलश रहेको हुनाले सचिवालयमा सम्पर्क गरेर भक्तजनका लागि जेठ २८ गते प्रबन्ध गरिएको छ ।
धेरैजसो भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने कतिपय भक्तजनले हवन समापन पछि पैसा तिरेर जल सहितको कलश लिएर गएका हुन् । कोटिहोममा ११ हजार शोभा कलश यात्रा गरिएको थियो ।
तातो भएर तिलक, भष्म र इट्टा बाँड्न समस्या :
लामो समय चलेको महायज्ञमा सजाइएका इट्टाहरू, तिलक र भष्म बाँड्न समस्या उत्पन्न भएको छ । यी सामग्री आजै जेठ २८ गते वितरण गरिने पूर्वयोजना भएता पनि वितरण गर्न नसकिएको महायज्ञ प्रचार प्रसार संयोजक ढकालले बताउनु भयो । उहाँका अनुसार महायज्ञको समापन जेठ ३१ गते इट्टा, भष्म र तिलक सहित प्रसाद वितरण गरिने छ ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले गण्डकी कोटिहोममा यही जेठ ३१ गते सम्म प्रवचनात्मक कार्यक्रमहरू भइरहेको हुँदा विश्वविख्यात कथा वाचक वाचिकाहरुको मुखारविन्दबाट अमृतरूपी कथा श्रवणपान गर्न नछुटाउन सबैलाई आग्रह गर्नुभएको छ ।
गत जेठ २६ गते चर्चित धर्मगुरु कालिदास बाबा (काली बाबा) ले यज्ञको पूर्णाहुति गर्नुभएसँगै कोटिहोमको विधिवत यज्ञ पूर्णाहुतिको साथसाथै फूलपाती विसर्जन र भगवान मुक्तिनाथको पूजा अर्चना गरी अनुष्ठान पक्ष समापन गरिएको महायज्ञका निर्देशक शङ्कर खरालले बताउनु भयो ।
उहाँले फूलपाती विसर्जनमा यज्ञका आचार्य मण्डल, कर्ताहरू र घोरपझोङ गाउँपालिका मुस्ताङ प्रमुख मोहन सिंह लालचन र मुक्तिनाथ गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत युवराज अधिकारी, कागवेनी र मुक्तिनाथ धार्मिक समिति लगायत सबै सबैमा आभार धन्यवाद व्यक्त गर्नु भएको थियो ।
यसैगरी आज नै आचार्य गुरुहरूलाई बिदाइ पछि यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीले बौद्धिक मन्त्र जप सहित हवनको प्रसाद स्वरूप महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई माला प्रदान गर्नुभएको थियो । त्यस क्रममा यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीले हाम्रो जीवनकालमा प्राय असम्भव हुने यो कोटिहोमको जति नै तारिफ गरे पनि कम हुने बताउनुभयो ।
‘४ सय व्राह्मणलाई एकै ठाउँमा एउटै आवरणमा राख्ने काम चानेचुने थिएन’ उहाँले भन्नुभयो, ‘यज्ञ यत्र तत्र सर्वत्र हुन्छ, एउटा सङ्कल्पकर्ताले गरेको हामी प्रतिको सच्चा श्रद्धाले हामीलाई भाव विह्वल बनाएको छ ।’ कोटिहोममा आचार्य ब्राह्मण, सहयोग गर्ने सङ्घ संस्था, भजन समूह वाद्यवादन समूहलाई सम्मान सहित बिदाइ गरिएको थियो ।
महायज्ञ सम्म पनि मानव सेवा फाउन्डेसनलाई सहयोग गरी मानवीय सेवामा जोडिन सकिने भएकोले पनि छुटेका भक्तजनलाई सचिवालयमा आएर सम्पर्क गर्न मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले अनुरोध गर्नुभएको छ । कोटिहोममा भक्तजनहरूबाट जग्गा दान पनि भएको छ ।
भागवत मञ्जरी राधिका दासीले कोटिहोममा जेठ १७ गते देखि श्रीमद्भागवत कथा वाचन गरिरहनु भएको छ । उहाँले समापन हुने दिन जेठ ३१ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ । कोटिहोममा आज भागवत मञ्जरी राधिका दासीले सहभागी भक्तजनलाई प्रसाद वितरण गर्नुभएको थियो ।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम जारी छ । यस अघि जेठ २६ गते समापन गर्ने तय भएको कोटीहोम जेठ ३१ गते समापन हुने आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८२ जेष्ठ २८, बुधबार २१:१० गते
हजुरको प्रतिक्रिया