काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले अन्ततः पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । गत चैत १५ गते तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै जेठ २९ गते राति काठमाडौँ जिल्ला अदालतले त्यस्तो आदेश दिएको हो । पछिल्ला दिनमा भने दुर्गा प्रसाईँले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वकर्ताका रुपमा आफूलाई प्रस्तुत गरी आउनु भएको थियो । त्यसै संस्थाको आह्वानमा तीनकुनेमा सो दिन एक पत्रकार समेत दुई जनाको ज्यानजानुका साथै लुटपाट र आगजनीका घट्ना समेत भएका थिए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीबाट त्यस्तो आदेश भएको हो । इजलासले ज्यान मुद्दामा अभियोजन गरिएकामध्ये जम्मा ७ जनालाई थुनामा पठाउन आदेश गरेको छ । प्रसाईँ विरुद्ध सरकारले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिएको थियो । अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र जितबहादुर श्रेष्ठलाई थुनामा पठाउन आदेश गरेको हो ।
२०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा पूर्व राजाको पक्षमा प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा सरकारी वकिलले ५० जनाविरुद्ध राज्यविरुद्ध समेतको कसुरमा जेठ ११ मा अभियोजन गरेको थियो । तीमध्ये दुर्गा प्रसाईँ सहित ३९ जना प्रहरीको नियन्त्रणमा हिरासतमा थिए । इजलासले हिंसात्मक घटनामा संलग्न भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई कारागार पठाएको छ भने बाँकी ३२ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
प्रसाईँको तर्फबाट बरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा. सुरेन्द्र भण्डारी, टंक दुलाल, डा. भिमार्जुन आचार्य, बालकृष्ण न्यौपोन, सुशील पन्त, लवकुमार मैनाली, अधिवक्ता दिपेन्द्र झा, रेनुका देवी सिटौला, दिवश खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस पैरवी गर्नु भएको थियो ।
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले सहित चार जनाले प्रतिवादी तर्फका कानुन व्यवसायीले उठाएको प्रश्नको जवाफ दिनु भएको थियो । तीनकुनेमा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ मा प्रदर्शन आयोजना गरेका थिए । प्रदर्शन स्थलमा आगजनीमा परेर पत्रकार सुरेश रजक र प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका– ४ बस्ने २९ वर्षीय सविन महर्जनले ज्यान गुमाएका थिए ।
दुर्गा प्रसाईँ र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनी गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो । सोही घरमा पत्रकार रजकको मृत्यु भएको थियो ।
आगजनीमा रामेछापको सुनापति गाउँपालिका घर भएका सरोज गौतम र अछाम पञ्चदेवलका गोकर्ण शाही संलग्न रहेको प्रहरीले गरेको अनुसन्धानको निष्कर्ष छ ।
३२ जनालाई धरौटीमा रिहा गर्न आदेश :
यसैबीच, तीनकुनेमा अवान्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासले दुर्गा प्रसाईँ समर्थक युवा समूह एटिएफमा आबद्ध हरिहर चौलागाईं, सन्तोष राजावादी भनेर चिनिने सन्तोषकुमार सिलवाल, हेमराज थारु ‘भिम’ तथा विष्णुजंग बस्नेतलाई अदालतले १/१ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
यसैगरी, निराजन कुमार गिरी र प्रेधबहादुर श्रेष्ठ, जितबहादुर श्रेष्ठ, दिनेश खड्का र अमित शाह ५०/५० हजार धरौटी लिएर रिहा गर्न आदेश गरेको छ ।
पुष्कर खतिवडा, गोपाल मल्ल ठकुरी, कुमार बस्नेत, मनबहादुर काला, रमेश राई, कमलकुमार विष्ट, लोकबहादुर बस्नेतलाई २०/२० हजार रुपैयाँ तथा पशुपति खड्का, विष्णु पराजुली, मुनेन्द्र राजभण्डारी, अनिल कुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने र उमेश तामाङलाई १०/१० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ ।
त्यस्तै, अदालतबाट १० हजार धरौटीमा रिहाको आदेश भएकाहरू अन्यमा भानुभक्त पौडेल, देवीप्रसाद सङ्ग्रौला, प्रेम थापा मगर, ओम प्रकाश लुइँटेल, तेजेन्द्र रायमाझी, दिवश बोगटी क्षेत्री, दिलकुमार श्रेष्ठ, सुमन कार्की र मनोज कुमार सापकोटाहरू हुनुहुन्छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हिजो दिउँसो थुनछेक बहस सकिएपछि गएको मध्यरातमा उनीहरूलाई थुनामा पठाउने आदेश आएको हो ।
थुनछेक बहसपछि राति साढे एघार बजे बितिसक्दा पनि आदेश आउन सकेन :
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा १० दिनदेखि निरन्तर थुनछेक बहस जारी रहेको थियो । थुनछेक बहसपछि राति साढे एघार बजे बितिसक्दा पनि आदेश आएको थिएन । न्यायाधीश ध्रुबराज कार्की आफैँ आदेश टाइप गर्दै हुनुहुन्थ्यो स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अदालतका स्रेस्तेदारले न्यायाधीश कार्कीलाई ‘केही सघाउनु पर्छ कि हजुर !’ भन्दा पनि उहाँ आफैँ आदेश टाइप गरिरहनु भएको थियो ।
दुर्गा प्रसाईँसहित राजसंस्था पक्षधरका समर्थकहरू जिल्ला अदालत क्षेत्रमा बसेर आदेशको प्रतीक्षा गरिरहेका थिए । राति साढे एघार बजेसम्म पनि आदेश नआउँदा उनीहरू आजित तथा आक्रोशित देखिन्थे । उनीहरूले काठमाडौँ जिल्ला अदालतमा त्यस समय नाराबाजी गरेका थिए । नाराबाजी गर्ने क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको जनाएको थियो ।
प्रकाशित मिति २०८२ जेष्ठ ३०, शुक्रबार ०९:३३ गते