
काठमाडौं– वरिष्ठ पत्रकार दिलभूषण पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विद्युतीय कारोबार ऐनजस्तो फरक उद्देश्यले बनाइएको कानुन प्रयोग गरेर पक्राउ पुर्जी जारी गरिएकामा जेठ ३१ गते आपत्ति व्यक्त गरेका हुन् ।
विभिन्न मिडियाका ३५ जना सम्पादकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै प्रेसलाई तर्साउने पछिल्ला घटनाबारे सम्पादकहरूले आपत्ति व्यक्त गरेका छन् । उनीहरूले फरक उद्देश्यका लागि बनेको कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोज्नु खेदजनक विषय भएको बताएका हुन् । उनीहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएकोछ, ‘फरक उद्देश्यका लागि बनेको कानुनका दफा दुरुपयोग गरी सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक हो, यसअघि पनि कानुनको यस्तो दुरुपयोग हुँदै आएको छ ।’
सँगै विद्युतीय कारोबार ऐनमा राखिएका गलत प्रावधान संशोधन गर्ने प्रक्रियामा लैजान पनि सम्पादकहरूले सरकार र संसद्को ध्यान आकर्षित गरेका छन् ।
पत्रकार दिलभूषण पाठकमाथि केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो । सम्पादकहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सँगसँगै अभिव्यक्ति स्वतन्त्रता जस्तो मौलिक हकलाई खुम्च्याउने गरी विद्युतीय कारोबार ऐनमा राखिएका गलत प्रावधान संशोधन गर्ने प्रक्रियामा लैजान पनि सरकार र संसद्को ध्यान आकर्षित गर्न चाहन्छ ।’ पाठकमाथि जारी पक्राउ पुर्जी खारेज गर्न सम्पादकहरूको माग छ । ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै हामी दिलभूषण पाठक विरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गर्दछौं,’ जारी विज्ञप्तिमा जनाइएको छ ।
सम्पादकहरूले नेपालखबर डटकम र बिजमान्डु डटकमसहितका अनलाइन न्युज पोर्टलमा प्रकाशित समाचार हटाउन भन्दै अदालतबाट जारी भएको आदेशप्रति पनि आफूहरूको असहमति भएको बताएका छन् ।
‘बिना सुनुवाइ समाचार सामग्री हटाउन मात्रै होइन, समाचार प्रकाशन नगर्न नगराउन भनी आएको आदेशले प्रकाशनपूर्व प्रतिबन्ध लगाउन नपाइने संवैधानिक हक समेत उल्लंघन हुन पुगेको छ, यसतर्फ न्यायिक नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँछ’ विज्ञप्तिमा उल्लेख छ ।
पत्रकारले प्रकाशन वा प्रसारण गरेका हरेक सामग्रीको जवाफदेहिता व्यहोर्नुपर्नेमा पनि आफूहरू प्रस्ट रहेको सम्पादकहरूको भनाइ छ ।
यसरी विज्ञप्ति जारी गर्नेहरूमा अमित ढकाल, अमन कोइराला, अरूण बराल, आमोद प्याकुरेल, उमेश चौहान , हरिबहादुर थापासहितका ३५ जना सम्पादकहरू हुनुहुन्छ ।
स्मरणीय छ, काठमाडौंको नक्सालस्थित होटेल हिल्टनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा दम्पतीपुत्र जयवीरको लगानी रहेको ‘रिपोर्ट’ पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गर्नु भएको थिया । त्यसपछि जयवीरको उजुरीमा पाठकलाई पक्राउ गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति पाएको छ ।
यसैगरी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको मुद्दामा अदालतले बिजमाण्डु र नेपालखबरमा प्रकाशित समाचार ‘डिलिट’ गर्न आदेश दिएको थियो ।
प्रकाशित मिति २०८२ जेष्ठ ३१, शनिबार २०:१४ गते