टिकटकर रमा बस्नेतलाई नेता बनाउने प्रसासमा सरकार

टिकटकर रमा बस्नेतलाई नेता बनाउने प्रसासमा सरकार

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार २ गते सोमबार ०७:३३

रमाका धेरै टिकटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा देखिने गरेका छन् । सायद त्यो पनि सरकारका लागि टाउको दुखाईको विषय बनेको हुन सक्छ ।

उहाँकाविरूद्ध एक मन्त्रालयले नै उजुरी गरेको स्रोते दावी छ र उजुरी आउने क्रम जारी छ भनिएको छ ।

काठमाडौं– टिकटकर रमा बस्नेत सरकारले नेता बनाउने भएको छ । उहाँलाई प्रहरीले असार १ गते पक्राउ गरेसँगै त्यस्तो स्थिति उत्पन्न भएको हो । रमाका धेरै टिकटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा देखिने गरेका छन् । सायद त्यो पनि सरकारका लागि टाउको दुखाईको विषय बनेको हुन सक्छ ।
खोटाङको हलेसीतुवाचुङ नगरपालिका– ६ मा स्थायी बसोबास भई हाल भक्तपुर बस्नु हुने ३१ वर्षीया रमा बस्नेतलाई सरकारको निर्देशनमा नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । भलै ब्युरोले प्रेस विज्ञप्ति जारी गरी ‘टिकटकमार्फत नियोजित रूपमा जातीय साम्प्रदायिक भावनामा खलल पुर्याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाएर चरित्र हत्या गरेको विषयमा व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गरी पक्राउ’ गरेको जनाएको किन नहोस् ।
कसको प्रतिष्ठामा आँच पु¥याउने गरी धारणा व्यक्त गरेको हो भन्ने ब्युरोका प्रवक्ता एवम् एसपी दीपकराज अवस्थीले खुलाउनुभएको छैन । न त उहाँले उजुरीकर्ताको परिचय नै खुलाउनु भएको छ । यसबाट पनि यो काण्डमा रमालाई नेता बनाउने सरकारद्वारा प्रयास गरिएको रुपमा हेरिएको छ । जुन कार्यको केही ले प्रशंसा पनि गरेका छन् ।
बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान सुरू भएको प्रहरी भनाइ छ ।
उहाँकाविरूद्ध एक मन्त्रालयले नै उजुरी गरेको स्रोते दावी छ । स्रोतका अनुसार ‘एउटा मन्त्रालयको लेटरप्याडमै उजुरी आएको थियो ।’
त्यसबाहेक अन्य जाहेरी अझै आउने क्रममै रहेको स्रोतको भनाइ छ ।
बस्नेतले नेपाली सेनाको पोशाक लगाएर टिकटक बनाएको पनि आरोप ब्युरोको छ । तथापि नेपाली सेनाले उहाँलाई पक्राउ गर्न भनेर पत्राचार नगरेको बताइन्छ ।
नेपाली सेनाले गैर सैनिकले पोशाक लगाएर टिकटक बनाएको भन्ने पत्ता लगाएको थियो ।
बस्नेतले पोशाक लगाएर टिकटक बनाएको थाहा पाएपछि उक्त टिकटक हटाउनका लागि मात्रै पत्राचार भएको नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो साइबर सुरक्षा हेर्ने निकायले उहाँले पोशाक लगाएर भिडिओ बनाएको थाहा पाएर नेपाल प्रहरीको ब्युरोलाई हटाउनका लागि पत्राचार भएको हो ।’

प्रकाशित मिति २०८२ असार २, सोमबार ०७:३३ गते
हजुरको प्रतिक्रिया