काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने आज पनि दोहोर्याउनु भएको छ । प्रतिनिधि सभाको बैठकमा आफ्नो पार्टीको धारणा राख्दै उहाँले असार २ गते त्यस्तो बताउनु भएको हो ।
प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधबीच आज पनि प्रतिनिधि सभा बैठक कार्यसूचीमा अघि बढेको थियो । सरकारले जेठ १५ गते बजेट ल्याएको भए पनि हिजोदेखि मात्रै संसदमा त्यसमाथिको सामान्य छलफल सुरू भएको थियो ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन् । प्रतिनिधि सभामा रास्वपाका सांसदहरूले आज पनि नाराबाजी गरिरहेका छन् । यद्यपि, रास्वपाका विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद अगाडि बढाउनुभएको छ ।
नेपालीलाई स्वदेशमा बस्न, खान र लगाउने व्यवस्था नगर्ने र जीविकोपार्जन गर्न विदेश जानेमाथि ठग्ने राज्यको संरचना जवाफदेही हुनुपर्नेमा उहाँको जोड थियो । उहाँले गृह मन्त्रालय अन्तर्गत अध्यागमन कार्यालयको विषयमा उठेको प्रश्नको जवाफ माग्दा सदनमा आफूहरूमाथि बल प्रयोग गरेर सदन चलाइएको भन्दै आपत्ति व्यक्त गर्नु भयो । उहाँले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बन्नैपर्नेमा पुनः जोड दिनुभयो ।
उहाँले जनतालाई शिकार गरेर राज्यका संरचना बनाइरहेको भन्दै आपत्ति व्यक्त गर्नु भयो । उहाँले रास्वपा विगत लामो समयदेखि यो मुद्दामा गम्भीर छलफलमा रहेको बताउँदै राज्य कसको लागि र जनतालाई दुःख दिन बनाएका हौँ ? भन्दै प्रश्न उठाउनु भयो । उहाँले भन्नुभयो, ‘जनतालाई शिकार गरेर राज्यका संरचना बनाइरहनुभएको छ । रास्वपा विगत लामो समयदेखि यो मुद्दामा गम्भीर छलफलमा बसेको छ । सम्मानित सदनबाट, भन्न चाहन्छु, यो राज्य कसको लागि बनाएका छौँ ? जनतालाई दुःख दिन बनाएका हौँ ? या जनताका लागि यो राज्य बनाएका हौँ ?’ उहाँले थप भन्नुभयो, ‘तमाम नेपाली जनतालाई रोजगार दिन नसक्ने, खान लाउन र बासको व्यवस्था गर्न नसक्ने अनि जीविकोपार्जन गर्न विदेश जानी महिला दिदीबहिनी र दाजुभाइहरूलाई ठग्ने यो राज्यको संरचना जवाफ देही हुनुपर्छ कि पर्दैन ? गृह मन्त्रालय अन्तर्गत अध्यागमन कार्यालयको कुरा आएको छ, हामीले त्यसको जवाफ माग्दा आज हामीलाई यो सदनमा बल प्रयोग गरेर हामी कराइरहँदा पनि यो सदन चलाउने ? यो हुन सक्दैन । छानबिन समिति चाहिन्छ ।’
रास्वपाका सांसदहरूले संसद्मा ‘हाम्रो आन्दोलन जारी छ, मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई संरक्षण बन्द गर, झुटो कति बोलेको ? जनताले छ सुनेको, फासफुस सम्झौता चाहिँदैन’ लगायतका नारा लगाएका थिए ।
रास्वपाको नाराप्रति कांग्रेसको नियमापत्ति :
प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले जुत्ता–चप्पल खोलेर विरोधमा उत्रिएका थिए । संसद्मा रास्वपाका सांसदहरूले ‘मानव तस्करीलाई कारबाही गर’को नारा लगाइएपछि नेपाली कांग्रेस सचेतकले नियमापत्ति गर्नु भएको हो । उहाँले सभामुखले सांसदको ध्यानाकर्षणलाई ध्यान दिएर संसदको मर्यादा कायम राख्न आग्रह गर्नु भएको थियो । सभामुखले समय दिएपछि उहाँले भन्नुभयो, ‘आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ?’
सो क्रममा एमाले सांसद दामोदर अर्यालले रास्वपा सांसदहरूको विरोध प्रदर्शनलाई संसदीय मर्यादा विपरीत भएको बताउनुभयो । सांसद अर्यालले सभामुखको आसनअगाडि जुत्ता–चप्पल खोल्नु संसदीय परम्परा र मर्यादा विपरित भएको जिकिर गर्दै नियम २६ नियमापत्ति गर्नु भएको हो ।
यसैगरी, सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्य थापाले यसप्रति प्रतिनिधि सभा सञ्चालन २०७९ को दफा २० देखाउँदै नियमापत्ति गर्नु भएको थियो । ‘हामी रत्नपार्कमा छौं कि, सहिदगेटमा छौं कि, कलंकीमा छौं कि, पोखरा चिप्लेढुंगामा छौं ! मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ’ भन्दै थापाको रास्वपा सांसदहरूप्रति कटाक्ष थियो ।
उहाँले नियमापत्ति जनाइरहँदा रोस्ट्रममा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बोलिरहनु भएको थियो ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सत्तापक्षसँग जेठ ३० गते दुई बुँदे सहमति गरी बैठक सञ्चालन गर्ने सहमति गरेपछि हिजोदेखि संसदमा रास्वपा र राप्रपामात्रै विरोधमा छन् ।
विरोधकाबीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्नु भएपछि राप्रपाले बहिष्कार गरेको छ । सो दलले हिजो पनि बहिष्कार गरेको थियो ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित रास्वपाले संसद् अवरुद्ध गर्दै आएको छ ।
संसद बैठक राप्रपाले बहिष्कार गरे पनि रास्वपा भने वेल घेराउमै छ ।
प्रकाशित मिति २०८२ असार २, सोमबार १७:४९ गते