घनपोखरा(लमजुङ)– लमजुङका धर्ती पुत्र, जिल्लाको पहिलो (पूर्व)मन्त्री खगेन्द्रजङ गुरूङको निधन भएको छ । उहाँ लामो समयदेखि सुगर र प्रेसरबाट पिडित भएर उपचारको क्रममा थापाथली स्थित नर्भिक हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो । सोही अस्पतालमा उहाँको असार १ गते दुःखद निधन भएको हो । उहाँ ९४ बर्षका हुनुहुन्थ्यो ।
लमजुङको घनपोखरा पुर्ख्यौली थलो भएका उहाँको असार १ गते राती निधन भएको खबर पारीवारिक सुत्रबाट जानकारी भएको छ । पूर्वमन्त्री खगेन्द्रजङ गुरूङ सुव्वा परिवारमा बढी उमेर बाँच्ने सदस्यमा पर्नु हुन्छ । उहाँको जन्म वि.सं. १९८९ सालमा आफ्नो मामाघर मनाङ थोचेमा जन्मनु भएको हो । उहाँको बुबाको तीन श्रीमती मध्ये मनाङ साब्री घलेबाट जन्म भएको हो ।
पछिल्ला वर्षमा उहाँलाई स्वतन्त्र वामपन्थी, तमुवान राज्यको प्रस्तावक, तमु राष्ट्रिय मुक्ति मोर्चाका सँस्थापक सल्लाहाकार हुनुहुन्थ्यो । त्यसोत राजा महेन्द्र शाहका अतिकम विश्वास पात्रहरू मध्ये एकजना पूर्वमन्त्री खगेन्द्र जङ गुरूङ हुनुहुन्थ्यो ।
मनाङमा जन्मे हुर्केको हुँदा पुर्ण बलियो आटिलो स्वभावका खगेन्द्रजङ गुरूङमा मनाङ्गे भोटेहरूको प्रभाव पनि परेको आंकलन छ । आफ्नो वुवा नरजङ सुव्वा तत्कालीन राणा अर्थात श्री ३ सरकारको प्रशासक हुनुहुँदा राजनीतिक प्रभाव परेको हुनुपर्छ । त्यसैले कलिलो उमेर २४ बर्ष हुँदामा लमजुङबाट पहिलो मन्त्री सफल हुनु भएको थियो ।
उहाँ आफ्नो जीवनकालमा दुई पटक मन्त्री पदमा पुग्नु भएको थियो । पहिलो मन्त्री टंकप्रसाद आचार्यको प्रधानमन्त्रीत्वकालमा र दोस्रो मन्त्री राजा महेन्द्रबाट २०१७ साल पुस ५ गते पञ्चायत व्यवस्था ल्याउनलाई आफ्नो अध्यक्षतामा सरकार गठन गर्दा खगेन्द्रजङ गुरूङलाई कृषि, वन, उद्योग, वाणिज्य सहायक मन्त्री बनाएका थिए ।
उहाँ २०१५ सालको प्रथम आम चुनावमा महासभा पदका लागि उम्मेदवार बन्नु भएको थियो । उनै मन्त्री खगेन्द्रजङलाई राजा महेन्द्रले माओत्सेतुङलाई भेट्न आफ्ना दुतका रुपमा चीनका लागि पठाएका थिए ।
यस्तै खम्वा बिद्रोह दवाउन पनि राजा महेन्द्रले खगेन्द्र जङलाई खटाएका थिए । राजा महेन्द्रका विश्वास पात्र खगेन्द्र जङले आफ्ना जीवनकालमा अति जोखिम र उल्लेखनीय कार्यहरू गरेको इतिहास छ । उहाँ आफू जनजातिका छोरा हुनाले जनजातिका पक्षमा धेरै आवज उठाउनु भयो । राजा महेन्द्रको पक्षधर भएर २७ दिने अनसन बस्नु भएका खगेन्द्र जङ गुरूङ ३६, ४६ साल र ६२÷६३ सालमा पनि बहुदल र लोकतन्त्रको पक्षमा उभिनु भएको थियो । तमुवान क्षेत्रको माग गर्नुहुने यहाँ पहिलो व्यक्ति हुनुहुन्छ ।
उहाँले कुन्छाबाट बेसीशहरमा जिल्ला सदरमुकाम सार्नुमा विशेष भूमिका खेलेको जानकारहरू बताउँछन् । वन मन्त्री हुँदा स्थानीय वनमा रेन्जर लागु गर्न नदिएको २०२७ साल तिर सुकुम्बासी आयोग ल्याएर घनपोखराका गरिब विश्वकर्माहरूलाई साहुको जग्गा कटाएर वितरण गर्नु भएको थियो । तमुवान राज्यको माग गर्दै आन्दोलन गर्दा पटक पटक गिरफ्तार भई लामो समय जेल र भुमिगत जीवन बिताउनु भयो । देशभक्तिपूर्ण भावनाले ओतप्रोत भएका वरिष्ठ व्यक्तित्वको रुपमा उहाँलाई चिन्नेहरू कतिपयको टिप्पणी छ । यस्ता अनगिन्ती योगदान गरेका खगेन्द्र जङको रहेको छ ।
स्व. गुरुङका ४ छोरी र २ छोरा भएकोमा श्रीमती र कान्छा छोराको दुई बर्ष अघि निधन भएको थियो । जेठा छोरा डाक्टर भएर नेपालमा लामो सेवा गरी ३० वर्षदेखि न्यूजिल्यान्डमा बसोबास गर्दै आउनु भएको छ ।
पुतली गुरुङको सहयोगमा ।
प्रकाशित मिति २०८२ असार २, सोमबार २२:१९ गते