अन्ततः प्रहरी हिरासतमै बस्ने भए अन्सारी : उच्च अदालत पाटनद्वारा बन्दी प्रत्यक्षीकरण रिट खारेज

अन्ततः प्रहरी हिरासतमै बस्ने भए अन्सारी : उच्च अदालत पाटनद्वारा बन्दी प्रत्यक्षीकरण रिट खारेज

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार ३ गते मङ्गलबार ०८:०९

यो घटनामा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो । ६ वर्ष कैद भुक्तान गरेर छुटे लगत्तै सीआईबीले उनलाई नियन्त्रणमा लिएको थियो ।

अन्सारीलाई १० जेठमा तोकिएको सजाय भुक्तान गरेपछि पक्राउ गरिएको थियो ।

काठमाडौं– युनुस अन्सारीलाई बन्दीप्रत्यक्षीकरणको निवेदनमा छाड्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । उच्च अदालतद्वारा अन्सारीको रिट असार ३ गते खारेज गरेसँग अन्ततल् उनी अब प्रहरी हिरासतमै रहने भएका हुन् ।
उच्च अदालतद्वारा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका युनुस अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको हो । ६ वर्ष जेल भुक्तान गरेर बाहिर निस्के लगत्तै पक्राउ परेका अन्सारीले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
उच्च अदालतका न्यायाधीशद्धय ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको इजलासले अन्सारीको रिट खारेजीको आदेश गरेको हो । अन्सारीले सीआईबीको आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखासमेतलाई प्रतिपक्षी बनाउँदै उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
यसअघि असार १ गते दुर्गाप्रसाद ढुंगेलको इजलासमा अन्सारीको रिटको सुनवाइ गर्दै जवाफसहित उपस्थित हुन र वादी (अन्सारी)लाई पनि उपस्थित गराउन आदेश दिएको थियो ।
अदालतको आदेशपछि सीआईबीले अन्सारीलाई समेत आज अदालतमा उपस्थित गराएको थियो । सुनुवाइ सकिएपछि अन्सारीको रिट खारेजको आदेश भएको हो ।
गत १० जेठमा तोकिएको सजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुटेलगत्तै अन्सारीलाई सीआईबीले पक्राउ गरेको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सीआईबीको हिरासतमा छन् ।
२०७६ जेठ १० मा युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरूबाट प्रहरीले ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद गरेको थियो ।
कतारबाट काठमाडौं आउने तीन पाकिस्तानी नागरिकहरूमा राहदानी नम्बर एए १२४५४९४ वाहक ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दिन र राहदानी नं. सीएन १८१२०३२ वाहक ३९ वर्षीय नादिया अनवर पक्राउ परेका थिए । उनीहरू कराँचीबाट कतार हुँदै नेपाल आएका थिए ।
यीनै तीन जना पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुससँगै रौतहटको बैरिया– १ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट पक्राउ परेका थिए ।
यो घटनामा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो । ६ वर्ष कैद भुक्तान गरेर छुटे लगत्तै सीआईबीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति २०८२ असार ३, मंगलवार २०:०९ गते
हजुरको प्रतिक्रिया