स्याङ्जा– स्याङ्जामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतामाथि रड प्रहार गर्दै बहादुरी देखाएका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष फरार भएको प्रहरीले असार ४ गते बताएको छ । वालिङ नगरपालिका– १० का वडाध्यक्ष सुनिल खनालले असार ३ गते रास्वपा नेताहरू मेघ आले र दिनकर नेपालमाथि रड आक्रमण गरेर घाइते बनाएका थिए । घटनापछि पीडित पक्षले प्रहरीमा किटानी जाहेरी समेत दिनु भएको छ ।
समितिको कार्यक्रमबाट फर्किँदै गर्दा उनीहरूमाथि वालिङ– ९ सुर्कौंदीमा वडाध्यक्ष खनालले रड प्रहार गरेको पीडितहरूको भनाइ छ । रास्वपा नेता नेपालले वडाध्यक्षले आफूहरूलाई यसअघि पनि धम्की दिँदै आएको र हिजो बाटो छेकेरै आक्रमण गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘आँधीखोला दोहनविरूद्ध बोल्दै गर्दा वडाध्यक्षले हामीलाई धम्की दिएर निस्केका थिए, पछि बाटो छेकेर हामीलाई रड हाने, मैले रड हातले छेक्दा हातमा लागेको छ, हेल्मेट लगाएको भएर जोगिएँ ।’
आले रास्वपाको केन्द्रीय सदस्य हुनुहुुन्छ भने नेपाल स्थानीय क्षेत्रमा क्रियाशील नेता हुनुहुन्छ । उहाँहरूले स्याङ्जाको आँधिखोलामा गैरकानुनी उत्खनन् गरेको भन्दै त्यसलाई रोक्नका लागि अभियान सञ्चालन गर्दै हिजोमात्र संघर्ष समितिको समेत घोषणा गर्नु भएको थियो ।
यस घटनाले अवैध उत्खननविरुद्ध आवाज उठाउनेहरू नै राज्यका निर्वाचित प्रतिनिधिबाट आक्रमणमा परिरहेको तीतो यथार्थ उजागर गरेको छ । स्थानीय तहमा पारदर्शिता र जनउत्तरदायित्वको सवाल अझ गम्भीर रुपमा उठ्न थालेको संकेतसमेत यो घटनाले दिएको छ ।
प्रहरीमा किटानी जाहेरी :
घटनापछि पीडित पक्षले प्रहरीमा किटानी जाहेरी समेत दिनु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी प्रशन्नराज चौधरीले जाहेरी दर्ता भएको र वडाध्यक्ष खनालको खोजी भइरहेको बताउनु भयो । उहाँका अनुसार उहाँ (वडाध्यक्ष खनाल) सम्पर्कमा हुनुहुन्न । खोजीका लागि हिजैदेखि स्थानीय प्रहरी परिचालन भएका छन् । उहाँले भन्नुभयो, ‘जिल्लाबाट पनि प्रहरी खटाइएको छ ।’
वडाध्यक्ष खनालमाथि अनुसन्धान र कारबाही हुने डिएसपी चौधरीले उल्लेख गर्नु भएको छ । उहाँले थप भन्नुभयो, ‘उहाँलाई कारबाही हुन्छ, प्रहरी त्यसमै लागि परेको छ ।’
हिजै प्रहरी नयाँ बजारस्थित वडाध्यक्ष खनालको घर पुगेको थियो, त्यहाँ उनी नभेटिएपछि आफन्तसँग सम्पर्क गरेको वडा प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार खनालको व्यक्तिगत सम्पर्क नम्बर अफ रहेको छ । तर अफिसियल नम्बरमा आज बिहानसम्म फोन लागिरहेको थियो ।
घटनाबारेमा नगरपालिकामा आज विहान छलफल भइरहेको नगरपालिकाका प्रवक्ता पदमराज गुरूङले जानकारी दिनु भएको छ । उहाँका अनुसार आँधीखोला बचाउ समितिका मानिसहरूमाडि रड प्रहार भएको भन्ने सुनेपछि हामी छलफलमा जुटेका हौं ।’ उहाँले भन्नुभयो, ‘घटना के कसरी भयो भनेर हामी चासो राखिराखेका छौं, अहिले नगरमा यही विषयमा छलफल चलिरहेको छ । घटनाको विस्तृत नबुझी यसै हो भन्न भएन ।’
अभियान्ताले तीन बुँदे माग राख्दै हिजो मात्र संघर्ष समिति घोषणा गरेका थिए ।
ती मागमा आँधीखोलाबाट नदीजन्य पदार्थ प्रयोगका लागि जिल्लाभरिको एकरूप नीति तय गर्न संरक्षणविद, विज्ञ र पालिका प्रतिनिधीहरू सम्मिलित समिति गठन गर्ने र दुई महिनाभित्र नीतिगत स्पष्टता ल्याउनुपर्ने रहेको छ ।
साथै उत्खननकाबारेमा सम्पूर्ण दस्तावेज, प्रक्रिया र नीतिगत निर्णय सार्वजनिक गरी स्थानीयसँग यही स्थानमा परामर्श गरी समाधान निकाल्ने पनि समितिको थप माग छ । सो समितिले वालिङ क्षेत्रभित्र गरिएको उत्खननबाट सिर्जना भएको जोखिम र आउन सक्ने विपदबाट जोगाउन प्रभावित कृषियोग्य जग्गा जमीनको संरक्षणका लागि तत्काल तटबन्धको व्यवस्था गर्न पनि माग गरेको छ ।
प्रकाशित मिति २०८२ असार ४, बुधबार १४:४७ गते