कोशिशद्वारा सञ्चारकर्मीहरूसँग आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण

कोशिशद्वारा सञ्चारकर्मीहरूसँग आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण

अपूर्वराज अधिकारी

@antaranganews

२०८२ असार ५ गते बिहिबार ०७:५०

सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरूलाई आत्महत्याका विरुद्ध सचेतना जागृत गर्न तथा सो सम्बन्धि समाचार लेखनमा अपनाउनु पर्ने सावधानी तथा संवेदनशीलताका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा कोशिश नेपालका लमजुङ प्रमुख महेन्द्र आचार्य र मनोविद विजय राईले विषय केन्द्रित कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

बेसीशहर– सञ्चारकर्मीहरूसँग आत्महत्या रोकथाम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आत्महत्या रोकथाममा सञ्चारकर्मीहरूको भूमिका प्रभावकारी बनाउन असार ४ गते सो अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
जिल्लाका तीन पालिकामा पछिल्ला केही वर्षदेखि काम गरिआएको कोशिश नेपालको आयोजनामा अष्ट्रेलियन एड तथा सि.बि.एम.को सहकार्यमा गरिएको हो । कार्यक्रममा कोशिश नेपाल अन्तर्गतको मानसिक स्वास्थ्य प्रर्वद्धन तथा आत्महत्या रोकथाम परियोजना(कोशिश)का लमजुङ प्रमुख महेन्द्र आचार्यले एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरूलाई आत्महत्याका विरुद्ध सचेतना जागृत गर्न तथा सो सम्बन्धि समाचार लेखनमा अपनाउनु पर्ने सावधानी तथा संवेदनशीलताका बारेमा जानकारी दिइएको थियो । साथमा आत्महत्या गर्दा आत्महानीसम्बन्धी चेतावनी संकेतहरू, नेपालमा आत्महत्याको अवस्था र सञ्चार माध्यमले खेल्न सक्ने भूमिकाबारे जानकारी दिइएको थियो ।
आत्महत्याका संकेतहरूमा व्यक्ति अत्यन्तै दुःखी देखिनु, निराशा प्रकट गर्नु, आत्महत्याबारे कुरा गर्नु, औषधी वा हानिकारक सामग्री संकलन गर्ने, र व्यवहार तथा बोलीमा अचानक परिवर्तन देखिनुजस्ता कुराहरू देखिने उहाँले उल्लेख गर्नुभएको थियो । उहाँका अनुसार आत्महत्या गर्ने पूर्व तयारी गरेका व्यक्तिहरूले व्यक्तिगत व्यवहार र सम्पत्ति व्यवस्थापन गर्ने प्रवृत्तिहरू पनि चेतावनी संकेतको रूपमा लिन सकिन्छ । यसैगरी, आत्महत्याको कुनै एक कराण मात्र नभइ मानसिक तनाव, दर्घकालीन रोगका कारण हुने आर्थिक खर्च तथा शारीरिक पिडा जस्ता कारण हुने आचार्यले आफ्नो प्रस्तुतीको क्रममा जानकारी दिनुभएको थियो ।
उहाँले नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गर्दछन् । यसैगरी, सोही आवमा गण्डकी प्रदेशमा ४७७ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सन् २०२० अनुसार, ६.५ प्रतिशत वयस्क र ३.९ प्रतिशत किशोरकिशोरीमा आत्महत्याको सोच बढी हुने देखिएको छ । १५–२९ वर्षका युवायुवतीहरूमा आत्महत्याबाट मृत्यु हुने दोस्रो प्रमुख कारणका रूपमा रहेको जानकारी दिनुभयो ।
त्यस्तै, पहिले आत्महत्याको प्रयास गरेका, मानसिक समस्या भएका, गम्भीर भावनात्मक कठिनाइ भोगिरहेका, पारिवारिक झैझगडा, प्रेम विफल, बिरामी, लाज÷अपराध बोध महसुस गरिरहेका तथा परिवारमा पहिला आत्महत्या भएको इतिहास भएका व्यक्तिहरू आत्महत्याको जोखिममा रहेका हुन्छन् उहाँको भनाइ छ ।
आत्महत्या सम्बन्धी विश्वको स्थितिबारे तथ्य प्रस्तुत गरिएकोमा विश्वमा हरेक वर्ष झण्डै सात लाख मानिस आत्महत्याको कारणले मृत्यु हुने गरेको जानकारी उक्त कार्यक्रममा दिइएको थियो । यसैगरी, मृत्यु हुने प्रमुख कारणहरूमा आत्महत्या चौथो स्थानमा रहेको छ भने हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने प्रस्तुत तथ्याङ्ले देखाएको छ ।
त्यस्तै, विश्वमा ७७ प्रतिशत आत्महत्याका घटना न्यून तथा मध्यम आय भएका देशहरूमा हुने गरेका छन् । विश्वमा हुने आत्महत्या घटनाहरूमा ३९ प्रतिशत घटना दक्षिणपूर्वी एशियामा हुने गरेको छ । साथै, ६५ प्रतिशत आत्महत्या मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिसँग सम्बन्धित रहेको समेत तथ्यांकले देखाएको आचार्यको भनाइ छ ।
उक्त कार्यक्रमको दोस्रो सत्रमा आत्महत्या रोकथाम परियोजना अन्तर्गत कार्यरत मनोविद् विजय राईले आत्महत्या सम्बन्धी समाचार प्रकाशनमा अपनाउनु पर्ने संवेदनशीलता विषयमा कार्यपत्रको प्रस्तुति दिनुभएको थियो । उहाँले सञ्चारकर्मीहरूलाई आत्महत्या सम्बन्धी समाचारमा संवेदनशील शिर्षक राख्दा पाठक वा दर्शकलाई नकारात्मक रूपमा प्रभावित गर्न सक्ने भएकाले त्यसो नगर्न आग्रह गर्नुभयो । आत्महत्या विषय अत्यन्तै संवेदनशील भएकाले यसबारे सूचना सम्प्रेषण गर्दा सजगता जरुरी रहेको उहाँको भनाइ थियो ।
यसैगरी पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेलले पछिल्लो समय मानसिक तनाव र वैदेशिक रोजगारीका कारणले आत्महत्याका घटनाहरू बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरैजसो अवस्थामा व्यक्तिहरू जोखिममा छन् भन्ने संकेत नदेखिने हुँदा समयमै पहिचान गर्न कठिन हुन्छ । कतिपय अवस्थामा परामर्श दिने व्यक्तिहरू नै पछि आत्महत्या गरेको पनि देखिन्छ ।’
आत्महत्या न्यूनीकरणका लागि सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले परामर्शपछि जीवनमा सकारात्मक परिवर्तन ल्याएका व्यक्तिहरूका प्रेरणादायी अनुभवहरू सार्वजनिक गर्ने खालका सामग्रीले समाजमा आशा जगाउन सक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सञ्चारकर्मीहरू समेत विभिन्न दबाबमा हुने भएकोले यस्तो संवेदनशील विषयमा पत्रकारहरूका लागि पनि कार्यक्रमको आयोजना गर्न आग्रह गर्नु भएको थियो ।
उक्त अभिमुखीकरण कार्यक्रम पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेलको अध्यक्षतामा भएको थियो भने कोशिश नेपालका गिता घलेले कार्यक्रमको सञ्चालन गर्नु भएको कोशिश नेपालको बेसीशहर क्षेत्रकी संयोजक वविता खनियाले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८२ असार ५, बिहीबार ०७:५० गते
हजुरको प्रतिक्रिया