सुन्दरबजार(लमजुङ)– सुन्दरबजार अस्पताल तार्कुटार लमजुङको आयोजना र सुन्दरबजार नगरपालिका– ७ को आर्थिक सहयोगमा १३ जना सुत्केरी भएका महिलाहरूलाई प्रोत्साहन सामग्रीसहित सम्मान गरिएको छ । सो कार्यक्रम असार ६ गते गरिएको हो ।
सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीको प्रमुख आतिथ्यतता तथा सुन्दरबजार अस्पतालको सभाहलमा भएको उक्त कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठको अध्यक्षतामा सप्पन्न भएको हो । सो अवसरमा वडा अध्यक्ष जयराम रेग्मीले घरमा हुने सुत्केरी जोखिम पूर्ण हुने भएकोले अस्पतालमा आएर प्रस्तुति सेवा लिन आग्रह गर्नु भयो । उहाँले यो आर्थिक बर्षमा अस्पतालमा एम्बुलेन्सको व्यवस्था गर्न पहल गर्ने बताउनु भएको थियो ।
कार्यक्रमका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले गर्भवती महिला दिदीबहिनीहरूलाई स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन प्रोत्साहन गर्न सबै आ– आफ्नो क्षेत्रबाट पहल गर्न अनुरोध गर्नु भयो । स्थानीय सम्झना परियार, मिना तमाङ, अनिता वि.क., हसिना मिया, सकु भुजेल, मुना विक, पुनम रुचाल, बिन्दाना लौडारी, तबियाना मिया, संगीता मिश्र, शर्मिला विक, बिनिता घर्ती, सपना गुरुङलाई सम्मान गर्दै प्रोत्साहनका समाग्री हस्तान्तरण गरिएको थियोे । हस्तान्तरित सामग्रीमा एक क्रेट अण्डा, ब्रस, पेस्ट, चना, नङ कट, साबुन, टावेल आदि रहेको अस्पताल प्रशासनले जनाएको छ ।
उक्त कार्यक्रममा निमित्त मेसु डाक्टर प्रसान्त मिश्र, मेडिकल अफिसर डाक्टर शिशिर विक, स्वास्थ शाखाका सि.अ.हे.ब.अ. निर्मल अधिकारी, सुन्दरबजार नगरपालिका– ७ का वडा सदस्य सबिना सापकोटा, बुद्धिकला विक लगायतको उपस्थिति थियोे । अस्पतालका अनमी कल्पना अधिकारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन सहायक धनकुमारी दुराले गर्नु भएको थियोे । कार्यक्रमको समन्वय तथा कार्यक्रम बारेमा अस्पतालका सिनियर अनमी सपना परियारले गर्नु भएको थियोे ।
सो अवसरमा नियमअनुसार चारपटक गर्भ जाँच तथा बर्थिङ सेन्टरमा सुत्केरी भएबापत ती सुत्केरी महिलाहरूलाई प्रोत्साहनका सामग्री वडा अध्यक्ष जयराम रेग्मी, अस्पतालका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, वडा सदस्य सबिना सापकोटा , बुद्धिकला बिकले हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा सिनियर अनमी सपना परियारले घरैमा सुत्केरी हुने बानी तथा असुरक्षित प्रचलनलाई न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८२ असार ६, शुक्रबार २०:३० गते