बेसीशहर– मुलुकको चौथो र लमजुङको तेस्रो ठूलो राजानीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ लमजुङमा स्थापना दिवस– २०८२ मनाएको छ । यो वर्ष जिल्लाको केन्द्रमा भन्दा पालिकास्तरमा स्थापना दिवसका कार्यक्रम गर्ने निर्णय भएको थियो । सो अनुसार रास्वपाले तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको शुभ अवसरमा आफ्नो तेस्रो स्थापना दिवस विविध र्काक्रमका साथ असार ७ गते मनाएको हो ।
रास्वपाले तेस्रो स्थापना दिवसको नारा ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको सम्बर्धनका लागि सडक र संसदमा’ भन्ने तय गरेको छ ।
विहान गोडमेल र बृक्षारोपण, साँझ घण्टी बजाउँदै र्याली सहित दीपावली :
७ गतेका दिन बिहान बेसीशहर नगरपालिका– २ को कोकले डाँडा स्थित शिव मन्दिर परिसरमा पहिलो स्थापना दिवसमा रोपेर सरेका विरुवाको गोडमेल गर्नुका साथै नयाँ विरुवा रोप्ने काम गरिएको थियो ।
यसैगरी, हिजै साँझ बेसीशहर बजारको भीमसेन स्थान चोकमा सो दलको जिल्ला समितिको आयोजना र बेसीशहर नगर समितिको अगुवाईमा र्याली सहित सामुहिक दीपावलीको कार्यक्रम समेत गरिएको छ ।
रास्वपाको जिल्ला तथा नगर कार्यालयबाट निस्केको र्यालीले स्थापना दिवसको व्यानर सहित घण्टी बजाउँदै विभिन्न नाराका साथ लमजुङ उद्योग वाणिज्य संघको कार्यालय हुँदै बेसीशहरको मुल सडकमा निस्केको थियो । त्यहाँबाट भीमसेन स्थान चोकमा पुगेर दीप प्रज्वलन गरिएको हो । भीमसेन स्थानमा पुगेको र्यालीले सो स्थानमा रेखीमय राष्ट्यि स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ बनाउँदै त्यसमा सजाइएका मैन बत्तीहरूमा दीप प्रज्वलन गर्ने कार्य गरिएको थियो ।
दीप प्रज्वलन गर्नु अघि राष्ट्यि स्वतन्त्र पार्टीका प्रदेश सचिवलाय सदस्य हरि धितालले पार्टीको स्थापना दिवसको औचित्यमा प्रकाश पार्नु भएको थियो । उहाँले पार्टी स्थापनाको उद्देश्य २१ सांसदले संसदमा खेलेको भूमिका, सरकारका भ्रष्ट गतिविधि, मानव तस्करीलगायतका विषयमा प्रकाश पार्नु भएको थियो । त्यस्तै, रास्वपाका जिल्ला उपसभापति प्रकाश थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा उहाँले पनि स्थापना दिवसको महत्वमा प्रकाश पार्नु भएको थियो ।
उहाँले रास्वपाको स्थापना मुलुकमा भ्रष्टचारको अन्त्य गर्नु रहेको र पार्टी सभापति रविले देखेको सपना पुरा गर्नु रहेको उल्लेख गर्नु भयो । स्थापना दिवसकै अवसरमा आज विहान वडानं २ मा पहिलो स्थापना दिवसका अवसरमा रोपण गरिएका विरुवा गोडमेल गर्नुका साथै नयाँ विरुवा रोप्ने काम गरेको जानकारी दिनु भयो ।
भीमसेन स्थानमा दीपावलीपछि फेरि र्यालीका साथ घण्टी बजाउँदै र नारा लगाउँदै सहभागीहरू नारायणस्थान चोक, मालपोत चोक, प्रशासन चोक, हुँदै क्याम्पस रोडमा रहेको पार्टी कार्यलयमा पुगेर र्याली बिसर्जन कार्य गरिएको थियो । सो अवसरमा सो दलको बेसीशहर नगरपालिका– ८ का अध्यक्ष राजकुमार घिमिरेले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने उक्त कार्यक्रमको सञ्चालक सोही वडाका सचिव विष्णु घिमिरेले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा रास्वपाको जिल्ला सहल्लाहकार समितिका संयोजक नवराज पहाडी, प्रदेश सदस्य तैमाया गुरुङ, उद्योग वाणिज्यको प्रदेश विभागका सदस्य धु्रव ढकाल, जिल्ला सदस्य त्रय होमबहादुर राउत, मीना खड्का, सविता अधिकारी बराल, बेसीशहर नगरसभापति कृष्ण राउत, बेसीशहर नगरपाकिला– ३ का अध्यक्ष हरिप्रसाद अधिकारी, वडानं– ९ का अध्यक्ष भावगतसिंह अर्याल, जिल्ला र्याट विभागका सदस्यहरू, वडा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
सुन्दरबजार दीपावली :
रास्वपाको स्थापना दिवसकै उपलक्ष्यमा हिजो साँझ सुन्दरबजार नगर समितिको आयोजनामा दीपावली गरिएको छ । रास्वपाका जिल्ला सभापति अशोक सापकोटाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम सुन्दरबजारको मिलन चोक स्थित पार्टी कार्यालय अगाडि दीपावली गरिएको नगर समापति विमल अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार सो अवसरमा जिल्ला र्याट विभागका प्रमुख श्याम केसीले पार्टी स्थापनको आवश्यकता र औचित्यमा प्रकाश पार्नु हुँदै स्थापना दिवसका बारेमा प्रष्ट्याउनु भएको थियो । दिप प्रज्वलन कार्यको शुभारम्भ रास्वपाका जिल्ला सभापति अशोक सापकोटाले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नव प्रवर्द्धन विभाग गण्डकी प्रदेशका प्रमुख गोविन्द गुरुङ, प्रदेश संगठन विभागका सदस्य काजी दुरा, जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारी, नगर उपसभापति दिपेन्द्र न्यौपाने, सचिव राजेन्द्र अधिकारी, वडानं– २, ६, ७ र ९ का अध्यक्षहरू क्रमशः हेमन्त भट्ट, पवन ढकाल, प्रकाशचन्द्र पोखरेल र भिमनाथ गौली, वडानं १ का उपसभापति जगतबहादुर सेढाई लगायतको सहभागिता थियो ।
मध्यनेपालमा शुभकामना आदानप्रदान सहित दीपावली :
यसैगरी मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्ले स्थित क्याम्पस चोकमा शुभकामना आदानप्रसान सहित दीपावली गरी स्थापना दिवस मनाइएको छ । सो अवसरमा जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
सो पालिकाका संस्थापक सदस्य तीर्थ पराजुली सहितले स्थापना दिवसको औचित्यमा प्रकाश पार्नु भएको कार्यक्रममा शुभकामना आदान प्रदान गर्नुका साथै घण्टी आकार निर्माण गरी दीप प्रज्वलन गर्ने कार्य गरिएको थियो ।
सोही वडाका शिशिर नैनावस्तीको अध्यक्षतामा भएको उक्त कार्यक्रमरमा रास्वपाका नगर सचिव दिपेन्द्र श्रेष्ठ, वडानं– ६ का सल्लाहकार सिंहबहादुर गुरुङ, वडानं– ७ का अध्यक्ष मणिराम विक लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८२ असार ८, आईतवार ०६:३५ गते