काठमाडौं– गीतकार निराज सिग्देलको गीति एल्बम ‘निरासक्त’को विमोचन भएको छ । जमलस्थित राष्ट्रिय साँस्कृतिक संस्थानमा आयोजित विमोचन कार्यक्रममा कानूनबिद, गीतकार एवम् गायक डा. भीमार्जुन आचार्य, वरिष्ठ संगीतकार राजु सिंह, गायक स्वरुपराज आचार्य, कवि मुरारि सिग्देललगायतले कृतिको असार ७ गते विमोचन गर्नु भएको हो ।
कार्यक्रममा डा.भीमार्जुन आचार्यले एल्बममा समावेश गीतहरूले एल्बमलाई सार्थक बनाएको बताउनु भयो । गायकी र संगीत दुबैको कम्बिनेशन संगीतकार विपिनमा भएको उहाँले उल्लेख गर्नु भयो । संगीतकारले गीतलाई न्याय गरेको भन्दै गीतका थीम उपल्लो स्तरको भएकोमा उहाँको जोड थियो ।
कवि एमव् साहित्यकार मुरारि सिग्देलले गीतमाथि समीक्षा गर्नु भएको थियो । पृथक संगीत र उचित शब्द चयनले गीत श्रवणीय भएको बताउँदै उहाँले गीतकारलाई अझै सशक्त गीत सृजना गर्न आग्रह गर्नु भएको थियो ।
अर्का वक्ता राजुसिंहले निरासक्तका सबै टीमको कार्य मिहेनतपूर्वक गरिएको हुँदा एल्बम उत्कृष्ट भएको बताउनु भयो । संगीतकार विपिन घिमिरेले एल्बम निर्माण क्रमका भोगाई पस्कनु भएको थियो ।
गीतकार निराज सिग्देलले २०४४ सालदेखि गीत लेख्न थालनी गरेको बताउँदै असहज व्यक्तिहरूको लागि गीत लेखेको र राष्ट्रियताप्रति संवेदनशील भएकोले राष्ट्रिय गीत लेखेको उल्लेख गर्नुभयो । उहाँले आफुले सिद्धहस्त भएर नभै रहरले गीत लेखेको पनि खुलासा गर्दै देशको परिस्थितिले दुःखी भएर मन नपरेको कुराप्रति गीत लेख्ने आफ्नो प्रयास रहेको जानकारी दिनुभयो ।
गायक स्वरुपराज आचार्यले सिकाईमा उमेर र योग्यता नचाहिने भन्दै संगीत संगतबाट प्राप्त हुने कुरा भएको बताउनुभयो । उहाँले ‘म संगीतमा धैर्य आवश्यक ठान्छु । यो धैर्यता विपिन घिमिरेमा छ ।’ भन्दै आफ्ना पिता भजन शिरोमणी भक्तराज आचार्यको स्मरणमा भावुक समेत हुनुभएको थियो ।
नेपाल संगीकार संघका अध्यक्ष अष्ट लामाले शुभकामना मन्तव्य दिंदै स्रष्टाको अधिकारको लागि अझै लड्नुपर्ने परिस्थिति रहेको बताउनुभयो । कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रवन्धक किरणबाबु पुन, नियात्राकार प्रदीप सापकोटा,अभिनेत्री शारदादेवी सिलवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सभाध्यक्ष एवम् राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको कार्यक्रममा उहाँले कविताको शैलीमा स्रष्टा सर्जक र सिर्जना सगरमाथा भन्दा उच्च हुने उल्लेख गर्नु भयो ।
सो अवसरमा स्वरूपराज आचार्य र रामकृष्ण ढकालको स्वर रहेका दुई गीतको श्रब्यदृश्य सामग्री देखाइएको थियो । लोकराज अधिकारीको सञ्चालनमा भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई आयोजकको तर्फबाट अध्यक्ष घिमिरेले मायाको चिनो प्रदान गर्नु भएको थियो ।
सार्वजनिक भएको उक्त गीति एल्बममा छ वटा गीत सङ्ग्रहीतत छन् । जसमा आचार्य, ढकालसँगै शीला विष्ट अलि र विपिन घिमिरेको स्वर रहेको छ ।
राष्ट्रिका साहित्य प्रतिष्ठानको आयोजना गरेको उक्त कार्यक्रम संचालन संचारकर्मी एवम् गीतकार लोकराज अधिकारीले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८२ असार ९, सोमबार ०६:४७ गते