भोटेओडार(लमजुङ)– भोटेओडार सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सञ्चालित सीप हस्तान्तरण तालिम सम्पन्न भएको छ । भेडाको ऊनबाट राडीपाखी, खप्पु र बख्खु बनाउने सीप हस्तान्तरण गर्न एक महिनासम्म सञ्चालन भएको तालिम जेठ ७ गते समापन गरिएको हो ।
उक्त कार्यक्रमको सुन्दरबजार नगरपालिकाका शिक्षा शाखाका प्रमुख ठाकुर जी तिवारी प्रमुख अतिथि तथा सुन्दरबजार नगरपालिका– ९ वडा अध्यक्ष मनराज गुरुङ विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
त्यस्तै वडा सदस्य खुशबहादुर गुरुङ, नगरपालिका शिक्षा समिति सदस्य रामकृष्ण अधिकारी, कृषि क्याम्पस निवृत्त सहप्राध्यापक कृष्ण बहादुर कार्की, हातेमालो मूल आमा समूह अध्यक्ष मनु पन्त, लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार अध्यक्ष प्रकाश डौलिया, समाजसेवी किर्तिमान गुरुङ, तुलाराम गुरुङ, दमन्ती थापा, शुभद्रा न्यौपाने, प्रशिक्षक कुशा गुरुङले आआफ्नो धारणा सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शुभकामना मन्तव्यको क्रममा सिकाइ केन्द्रले स्थापना कालदेखि उत्कृष्ट तालिम सञ्चालन तथा अन्य कार्यहरू गर्दै आएको यस किसिमको सीप हस्तान्तरण तालिमबाट आत्म निर्भर बन्नु भइ व्यवसायी रुपमा अगाडि बढ्न सकेमा आय आर्जन गर्नका लागि थप बल पुग्ने छ भन्दै शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि तिवारीले तालिम समापन गर्नुभएको हो । जतिसुकै उच्च शिक्षाको प्रमाणपत्र प्राप्त गरेपनि त्यो ज्ञान मात्रै हो अन्ततः सीप अनिवार्य चाहिने कार्यक्रमका प्रमुख अतिथि तिवारीले बताउनु भयो । ज्ञान र सीपले मानिसको व्यक्तित्व विकास हुने, सम्मानित जीवन जिउने अवस्था सिर्जना गर्ने शिक्षा शाखा प्रमुख तिवारीको भनाइ थियो ।
सिकाइ केन्द्रको स्थापनादेखि उत्कृष्ट तालिम संचालन गर्दैआएको र यस पटक अझ महत्वपूर्ण सीप हस्तान्तरण तालिम उपलब्ध गराएको कार्यक्रमका वक्ताले बताएका थिए । यस्ता सीपमूलक तालिमले दिदीबहिनीहरू आत्मनिर्भर भइ व्यवसायिक रुपमा अगाडि बढ्न समेत शुभकामना दिनु भएको थियो ।
सिकाइ केन्द्रको कार्यालयमा सञ्चालन गरिएको सो तालिममा १६ जना महिलाले भाग लिएको आयोजक संस्थाका अध्यक्ष मधु भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षार्थीहरूलाई राडी, पाखी, बख्खु र खप्पु(इष्टकोट) बनाउन सिकाइएको थियो । उहाँले भन्नुभयो, ‘त्यसको कच्चा पदार्थ अर्थात भेडाको काँचो उनलाईनै प्रति धार्नी चार सय रुपैयाँमा खरिद गरी सिकाइएको हो ।’
आयोजक सिकाइ केन्द्रका अध्यक्ष मधुकुमारी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य केन्द्रका व्यवस्थापन समिति सदस्य पुनम वि.क.ले गर्नु भएको थियो भने सञ्चालन सामाजिक परिचालक देवी भुजेलले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ असार १०, मंगलवार २०:४९ गते