काठमाडौं– साइबर अपराध गरेको आरोपमा वरिष्ठ पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि सेखी मानेर बसेको नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा असार १६ गते दायर गरेको हो ।
प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेकोमा उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उहाँलाई पक्राउ नगरी प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा उनीविरूद्ध मुद्दा दर्ता गरेको सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज मुद्दा दर्ता भएको छ ।’
त्यसो त पत्रकार पाठकविरूद्ध कसले उजुरी दिएको हो भन्ने अझै खुलेको छैन । अभियोग पत्रमा उजुरी दिनेको परिवर्तित नाम राखिएको छ । त्यसैले यो मुद्दा पनि सरकारले पछिल्ला महिनामा चलाउन थालेको प्रतिशोधपूर्ण हतियारको अर्को रुप भएको टिप्पणी हुन थालेको छ ।
पाठकले केही समयअघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाबारे भिडिओ रिपोर्ट प्रसारण गर्नु भएको थियो । सोही कारण उहाँलाई पक्रन प्रहरीलाई सरकारको निर्देशन जारी भएको आम बुझाइ छ ।
प्रहरीद्वारा पाठकलाई पक्राउबिनै मुद्दा दर्ता गरिएको हो । नेपाल प्रहरीको साइबर ब्युरोले असार १३ जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश गरेको थियो ।
यसअघि गत जेठ २८ गते पत्रकार पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । उहाँका विरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।
पत्रकारले सम्प्रेषण गरेका सामग्रीबारे प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भएकोले विद्युतीय कारोबारसम्बन्धी कसुरमा पाठकमाथि अनुसन्धान गर्नु नपर्ने उच्च अदालतले भनेको थियो ।
वरिष्ठ पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो । उक्त दफा अनुसार, एक लाख रुपैयासम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
प्रकाशित मिति २०८२ असार १६, सोमबार १९:०६ गते