
बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले आफ्ना केन्द्रीय सभापति रवि लामिछाने उपर सरकारले साँधी रहेको राजनीतिक प्रतिशोधका विरूद्ध उहाँको न्यायका लागि सुरू गरेको हस्ताक्षर संकलन जारी रहेको छ । अभियानको तेस्रो दिन आज असार १६ गते लमजुङभर दुई हजार पाँच सयभन्दा बढी हस्ताक्षर संलकलन भएको छ ।
जिल्ला सदरमुकाम बेसीशहरमा आज विहान बेसीशहर नगरपालिका– ७ को मनाङ्गे चौताराबाट अभियानको थालनी गरिएको थयो । हस्ताक्षर संकलन अभियानमा जुटेको सो टोली दिउँसो बेसीशहर नगरपालिका– ८ को नारायण स्थानमा बसेको थियो । यसैगरी, साँझ बेसीशहर नगरपालिका– ८ कै सेरा कुनामा पुगेको थियो ।
जिल्ला सदरमुकाममा रास्वपा बेसीशहर नगर समितिको अगुवाइमा भएको हस्ताक्षर संकलन कार्य भइरहेको छ । सो क्रममा आजसम्म बेसीशहरमा एक हजार चार सय ७० हस्ताक्षर संकलन भएको रास्वपाको नगर सभापति कृष्ण राउतले बताउनु भयो । उहाँका अनुसार बिहान मनाङ्गे चौतारामा नगर सभापति कृष्ण राउत, रास्वपाका जिल्ला उपसभापति प्रकाश थापा, जिल्ला सल्लाहकार परिषद् संयोजक नवराज पहाडी, प्रदेश सदस्य तैमाया गुरुङ, बेसीशहर नगरपालिका– ७ का अध्यक्ष राजकुमार घिमिरे, वडानं– ३ का अध्यक्ष हरि अधिकारी, बेसीशहर नगरपालिका– ७ का सचिव विष्णु घिमिरे लगायतको सहभागिता थियो ।
त्यस्तै, बेसीशहर नगरपालिका– ८ को नारायण स्थामा रास्वपा बेसीशहर नगर समितिका अध्यक्ष कृष्ण राउतका अतिरिक्त प्रदेश सचिवालय सदस्य हरि धिताल, प्रदेश सदस्य तैमाया गुरुङ, जिल्ला सल्लाहकार परिषद् संयोजक नवराज पहाडी, जिल्ला सदस्य मीना खड्कालगायतको सहभागिता रहेको थियो ।
असार १४ गतेबाट औपचारिक रुपमा सुरु भएको उक्त कार्यमा पहिलो र दोस्रो दुई दिनमा १५ सय बढी हस्ताक्षर संकलन भएको सो दलका प्रदेश सदस्य हरि धितालले जानकारी दिनुभएको छ । दुवै दिन पानी पेरर हस्ताक्षर संकलन कार्यमा बाधा पुगेको आयोजकको भनाइ छ ।
आजसम्म जिल्लाभरको प्राप्त तथ्यांक अनुसार दुई हजार पाँच सय छ जनाको हस्ताक्षर संलकन भएको रास्वपाका जिल्ला सल्लाहकार परिषद् संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार वडास्तरमा वितरण भएको फार्मको संख्या संकलन हुन बाँकी छ ।
हस्ताक्षर संकलन अभियानमा सर्वधारणदेखि महिलाहरू, किशोरकिशोरीदेखि विभिन्न कार्यालयका प्रमुखहरू, अभियन्ताहरू अन्य समाजका प्रतिष्ठित एवम् भद्रभलादमीहरूले समेत स्वस्फूर्त रुपमा भाग लिएर हस्ताक्षर कार्यमा सरिक हुनुभएको सो दलले जनाएको छ ।
यसैगरी, सुन्दरबजारमा पनि अभियानले तिब्रता लिएको छ । सो नगरका सभापति विमल अधिकारीले पालिकामा आजसम्म सात सय हस्ताक्षर संकलन भएको छ । उहाँले भन्नुभयो, ‘वडा वडामा पनि हस्ताक्षर अभियान थालिएको छ, त्यो रेकर्ड आउन बाँकी छ ।’
अभियानमा कोषाध्यक्ष पौडेलको एक्लो क्रेज :
यसैगरी, मध्यनेपाल नगरपालिकाको संगठन निर्माणमा जुट्नु भएका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलको हस्ताक्षर अभियानमा पनि उस्तै क्रेज देखिएको छ । सो क्रममा आजसम्म कुल २८० जनाको हस्ताक्षर संकलन भएको सो दलका जिल्ला कोषाध्यक्ष पौडेलले बताउनु भएको छ । उहाँका अनुसार मध्यनेपालको पनि वडा वडास्तरमा अभियान सञ्चालन भइरहेको छ ।
सो अभियानमा जिल्ला कोषाध्यक्ष पौडेलले आज एक्लै सो पालिकाको वडानं– ६ भोर्लेटारदेखि वडानं– ४ को दुई पिप्ले, वडानं– ३ को चर्दी क्षेत्र तथा वडानं– २ को सोतीपसलसम्म पुगेर हस्ताक्षर अभियानको प्रचार तथा संकलन कार्य समेत गर्नु भएको थियो ।
त्यस्तै, राइनास नगरपालिकामा आजसम्म संकलित हस्ताक्षर संख्या एक सय थप भएको सो पालिका– ७ धमिलिकुवा निवारी जिल्ला संगठन विभागका उपप्रमुख एकनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति २०८२ असार १६, सोमबार १९:५१ गते