काठमाडौँ– पूर्वराष्ट्र प्रमुख अर्थात पूर्वराष्ट्रपति रहनु भएकी नेतृ विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गर्नु भएपछि आफू पूर्व राष्ट्रपतिका हैसियतमा पाउँदै आएको सबै सरकारी सेवा सुविधा अबदेखि नलिने हुनु भएको छ । उहाँले आउँदो आवको पहिलो महिना अर्थात साउनदेखिनै सो सुविधा त्याग्ने हुनु भएको असार १६ गते खुलासा भएको हो ।
पूर्वराष्ट्र प्रमुखको सेवा सुविधा कायमै राखेर पार्टीको राजनीति गर्दा प्रश्न उठ्ने भएपछि साउन महिनाबाट सरकारी सेवा सुविधा नलिन गृह मन्त्रालयलाई पत्र पठाउने तयारी भएको उहाँ निकट स्रोतले बतायो । दुई कार्यकालसम्म राष्ट्रपतिमा विताउनु भएकी उहाँले हालै नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने घोषणा गर्नु भएको थियो । उहाँ नेकपा (एमाले)मा सक्रिय हुने उदघोषसँगै एमालेमा आफ्नो सदस्यता समेत नवीकरण गराई सक्नु भएको छ । राजनीतिमा अनुभवी व्यक्तित्वका आगमनले धुमिल भएको नेपाली राजनीतिमा सङ्लोपना आउन सक्ने आंकलन गरिएको छ ।
अब आउने साउनदेखि सरकारी सेव सुविधा नलिने उल्लेख गरिएको गृहमन्त्रालयमा पत्र पठाउने तयारीमा पूर्वराष्ट्रपति रहेको स्रोतको भनाइ छ ।
भण्डारीलाई मासिक डेढ लाख रुपैयाँ र अन्य सुविधा उपलब्ध गराइँदै आएको थियो, तर सुरक्षाकर्मी भने यथावत रहनेछन् । सरकारले पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, घरभाडा, इन्धन, पत्रपत्रिका खर्च, टेलिफोन खर्च, अतिथि सत्कार खर्च, बिजुली, पानी र इन्टरनेटको खर्च तथा सचिवालय (उपसचिव, गाडी चालक र कार्यालय सहयोगी) लगायत सेवा सुविधा दिने गरिआएको छ ।
भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । भण्डारीको सुरक्षामा खटिएका सुरक्षाकर्मी भने हटाउन नमिल्ने स्रोतको भनाइ छ ।
राष्ट्रपति पदको कार्यकाल सकिएपछि उहाँ काठमाडौंको भंगालस्थित निजी निवासमा बस्दै आउनु भएको छ । पूर्वराष्ट्रपति भण्डारीले यसअघि पनि आवास र सवारी सुविधा लिनु भएको थिएन ।
प्रकाशित मिति २०८२ असार १६, सोमबार २१:०० गते