क्यानडामा भब्य रूपमा आयोजित रामकृष्ण ढकाल साँझ सुनेर आफ्नो मातृभूमि सम्झदै सहभागीहरू भावुक बने

no-image

शिशिर सिंखडा

@antaranganews

२०८२ असार १८ गते बुधबार ०६:४१

१३ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रम गरेका गायक ढकाललाई युगल गीतमा गायिका रीता बुर्लाकोटीले साथ दिएकी थिइन भने तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिएका थिए ।

कार्यक्रममा संकलित बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यमा खर्चिने

टोरण्टो (क्यानडा)– ढिला गरी प्राप्त समाचार अनुसार क्यानडाको ब्राम्प्टन शहरमा ईन्टरनेशनल म्युजिक डेको अवसरमा आयोजना गरिएको ‘रामकृष्ण ढकाल साँझ’ भब्य रूपमा सम्पन्न भएको छ । सो कार्यक्रम असार १५ (जुन २९) गते साँझ भएको हो ।
नेपाली सुगम संगीतका सदाबहार गायक रामकृष्ण ढकालले कार्यक्रमको पहिलो कोसेली स्वरुप स्टेजमा हार्मोनियम बजाँउदै देश प्रेम भावको गीत– ‘बिहान उठने बित्तिकै हिमाल देख्न पाईयोस …. ’ जब गाउन शुरु गरे दर्शकहरूको गडगडाहक तालीले हल गुञ्जायमान भएको थियोे । सो अवसरमा विदेशी भूमिमा भएका नेपाली दर्शकहरूले आफ्नो नेपाली माटो र राष्ट्रियता सम्झदै भावुक बनेको क्षण निकै रोचक थियो ।
त्यसपछि गायक ढकालको दोस्रो, तेस्रो प्रस्तुति क्रमशः ‘चरीले त छाडेर गैगयो …, मन पराउने हजार भेटीन्छ्न …, माया गर्नेको …, ओराली लागेको …, जस्ता कालजयी गीतहरू गितार, तबला र हार्मोनियमको तालमा प्रत्यक्ष सुन्न, देख्न र संगै गाउन, नाच्न पाँउदा कयौं दर्शकहरू उत्साहित भएका थिए भने कतिलाई भावुक बनाएको थियो ।
ब्राम्पटनको भुखाराग्रील रेस्टुरेन्टको हलमा खचाखच भरिएका दर्शक माझ नेपाली सुगम संगीतका हस्ती ढकालको प्रायः हरेक प्रस्तुतिमा ‘वान्स मोर’को आवाज सुनिन्थ्यो ।
दर्शकहरूले स्वर सम्राट स्व. नारायण गोपालका केही गीत र युगल गीतसमेत सुनेर भरपुर मनोरञ्जन लिएका थिए । गायक ढकाललाई युगल गीतमा गायिका रीता बुर्लाकोटीले साथ दिएकी थिइन भने तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिएका थिए । एकल साँझ कार्यक्रम जुन २१ तारेख शनिबार (असार ७ गते) भएको थियो ।
नेपालको सांगीतिक बजारमा पाँच हजार भन्दा बढी गीत गाएर गर्विलो उचाई प्राप्त गरेका ढकालले २०४५ सालमा १३ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका थिए । ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक समेत हुन् । २० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनांै गीतहरू चर्चित छन ।
प्रवासमा रहेका नेपालीहरू, नेपाली गीत सङ्गीतप्रति माया गर्नेहरूलाई यो एक उत्कृष्ट कार्यक्रम रहेको आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताउनु भयो ।
सो कार्यक्रमको समापनका अवसरमा सफल बनाउन सहयोग गर्ने तथा सहभागी सहृदयी नेपालीहरूलाई आयोजक समितिका अध्यक्ष कमल ज्ञवालीले धन्यवाद तथा आभार व्यक्त गर्नु भएको थियो ।
बचत रकम पशुपतिनाथ मन्दिरमा पुजा गरि सहयोग :
‘रामकृष्ण ढकाल साँझ’ कार्यक्रमबाट बचेको रकम ब्राम्पटनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा पुजा अर्चनाको व्यवस्थापकीय कार्यका लागि हस्तान्तरण गरिएको छ । समूहको तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम समापन भएको भोलिपल्टका दिन विहान मन्दिरमा पुजा अर्चना गरी रकम हस्तान्तरण गरिएको कार्यक्रम सम्योजक ऋषि पोख्रेलले बताउनु भयो ।

प्रकाशित मिति २०८२ असार १८, बुधबार ०६:४१ गते
हजुरको प्रतिक्रिया