राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पद धरापमा

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पद धरापमा

एजेन्सी

@antaranganews

२०८२ असार १८ गते बुधबार १०:००

समिति बैठकमा एमालेका सांसदहरू पदम गिरी, बासुदेव घिमिरे, राजेन्द्र राई र कृष्णगोपाल श्रेष्ठ तथा कांग्रेसका सांसद हृदयराम थानीले सभापति खतिवडा र समिति सचिव दुराको राजीनामा माग्नु भएको हो ।

एमाले सांसद गिरीले भन्नुभयो, ‘सभापति र सचिवले समितिले सर्वसम्मत पारित गरेको विधेयकमा अक्षम्य त्रुटि गर्नुभएको छ । नैतिकताका आधारमा पदमा बस्न मिल्दैन ।’

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको पद धरापमा परेको छ । सत्ता गठबन्धन एमाले र कांग्रेसका सांसदहरूले उहाँको राजीनामा मागेसँगै खतिवडाको पद धरापमा परेको हो ।
सुशासन समितिकै सभापतिले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा अक्षम्य गल्ती भएको भन्दै राजीनामाको माग गरिएको हो । समितिका सचिव सुरजकुमार दुराको पनि राजीनामा मागिएको छ ।
समिति बैठकमा एमालेका सांसदहरू पदम गिरी, बासुदेव घिमिरे, राजेन्द्र राई र कृष्णगोपाल श्रेष्ठ तथा कांग्रेसका सांसद हृदयराम थानीले सभापति खतिवडा र समिति सचिव दुराको राजीनामा माग्नु भएको हो ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा रहेको समितिको हलमा बसेको समिति बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को दफा ८२ मा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा समितिले सर्वसम्मत गरेको निर्णयमा अक्षम्य गल्ती गरेको भन्दै एमालेका चार र कांग्रेसका एक सांसदले सभापति र सचिवको राजीनामा माग गरेका हुन् ।
समिति बैठकमा कांग्रेस सांसद् थानीले संघीय निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा संसद्को धज्जी उडाउने गलत काम भएकाले शक्तिशाली समिति गठन गरेर छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सभापतिजी ठट्टाको विषय होइन, जानीजानी गल्ती भएको छ । सभापतिको कोर टिमले के गरेको हो ? क्लियर भएको छ, । सभापतिले नपढेर हस्ताक्षर गर्नुभयो भन्ने पत्याउन सकिन्न । संसद्बाट छानबिनका लागि समिति नबन्दासम्म अरू विषयमा छलफल गर्न समिति बैठक बस्न सक्दैन उहाँको भनाइ छ । उहाँले थप भन्नुभयो, ‘नैतिकता के हो ? यति गल्ती भएपछि के गर्ने ? भन्ने सभापतिले बुझ्नु पर्ने हो । समिति सचिवले बुझ्नु पर्ने हो ।’
एमाले सांसद गिरीले भन्नुभयो, ‘सभापति र सचिवले समितिले सर्वसम्मत पारित गरेको विधेयकमा अक्षम्य त्रुटि गर्नुभएको छ । नैतिकताका आधारमा पदमा बस्न मिल्दैन ।’
सांसद राईले घटनाको छानबिन भएर निष्कर्ष ननिस्किएसम्म राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको कुर्सीमा खतिवडा बस्न नसुहाउने बताउनुु भएको छ । सांसद घिमिरेले समिति सभापति र सचिवले घटनाको छानबिन नहुँदासम्म पदबाट राजीनामा दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद श्रेष्ठले भन्नुभयो, ‘खतिवडाजीलाई समितिको सभापति स्विकारेर हिँड्न सक्दैनौँ । दुराजीले पनि सचिव भएर कुर्सीमा बस्ने नैतिक अधिकार गुमाइसक्नुभयो ।’
नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डे, माओवादी सांसदद्वय हितराज पाण्डे र दुर्गा राई, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भने नैतिकताको विषय अरुले भन्ने नभई आफूले अनुभव गर्ने विषय भएको बताउनुभयो ।
त्यस्तो प्रतिक्रिया आएपछि सभापति खतिवडाले बैठकको अन्तिममा आफ्नो संलग्नता बिना निष्ठा र प्रतिष्ठामा आँच आउने काम सचिवालयबाट भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरो संलग्नता बिना मेरो निष्ठा र प्रतिष्ठामा आँच पु¥याउने काम भएको छ, समितिको सचिवालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको रूपमा आएका सहसचिवले गरेका छन् ।’

प्रकाशित मिति २०८२ असार १८, बुधबार २२:०० गते
हजुरको प्रतिक्रिया