वरिष्ठ पत्रकार पाठकलाई २५ हजार धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

वरिष्ठ पत्रकार पाठकलाई २५ हजार धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

एजेन्सी

@antaranganews

२०८२ असार १९ गते बिहिबार ०८:१३

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दाबी उनी विरुद्ध गरिएको छ ।

पाठकलाई पक्राउ गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिए पनि उच्च अदालत पाटनले पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।

काठमाडौँ– वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई काठमाडौँ जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । आज भएको थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतले उहाँलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न असार १९ गते आदेश दिएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको इजलासले त्यस्तो आदेश दिएको हो ।
कांग्रेस सभापित शेरबहादुर देउवाका छोरा जयवीर देउवाको लगानी रहेको भन्दै पठाकले युट्युवमा भिडियो सामग्री बनाएपछि वरिष्ठ पत्रकार पाठकका विरुद्धमा सरकार लागि परेको छ ।
साइबर ब्युरोमा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गरेको कसूरमा पाठकविरुद्ध मुद्दा दायर गरेको थियो ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन चाहना राखेको थियो । उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उहाँलाई पक्राउ गरेको थिएन ।
पक्राउ नगरी प्रहरीले उहाँ विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर भएपछि वरिष्ठ पत्रकार पाठक आज बिहान अदालतमा उपस्थित हुनु भएको थियो ।
गैरकानुनी सामग्री प्रकाशन गरेको भन्दै जयवीरले पाठकविरुद्ध प्रहरीको साइबर ब्यूरोमा जाहेरी दर्ता गराएका थिए । तर साइबर व्यूरोले जयवीरको नाम भने गोप्य राखेको छ । साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दाबी उहाँ विरुद्ध गरिएको छ ।
निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवा (कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र) को पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ, निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने सामग्री प्रकाशन गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा जाहेरी दिएका थिए ।
पाठकविरुद्ध गत जेठ २८ गते पक्राउ पुर्जी जारी गरिएको थियो । तर, असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यही कारण पाठकलाई पक्राउ नगरी मुद्दा दायर गरिएको हो ।
स्मरणीय छ, पाठकलाई पक्राउ गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिए पनि उच्च अदालत पाटनले पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
वरिष्ठ पत्रकार पाठकले आजै धरौटी बुझाउने तयारी गर्नु भएको उहाँनिकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति २०८२ असार १९, बिहीबार २०:१३ गते
हजुरको प्रतिक्रिया